आउँदो सोमवारसम्ममा इजरायल-हमासबीच युद्धविरामको घोषणा हुने संकेत

काठमाडौं (एजेन्सी) । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हमासबीच आउँदो सोमवारसम्ममा युद्धविरामको घोषणा हुन सक्ने बताएका छन् । कतारमा इजरायल र हमासका प्रतिनिधिहरूबीच भइरहेको वार्तामा केही प्रगति भएको रिपोर्टका बीचमा बाइडेनको टिप्पणी आएको हो ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकारले आफूलाई दिएको जानकारीअनुसार दुवै पक्ष युद्धविरामको नजिकै रहेको बाइडेनको भनाइ छ । न्युयोर्कमा पत्रकारहरूसँग कुरा गर्दै बाइडेनले इजरायलको मुख्य सहयोगी भएको नाताले आफू अब इजरायल युद्धविरामका लागि तयार हुने आशामा रहेको पनि बताए । इजरायलले हमासविरुद्ध अभियान चलाउँदा सर्वसाधारणको सुरक्षाको बारेमा सोच्नैपर्ने बाइडेनको भनाइ छ ।

गाजामा तत्काल युद्धविरामको माग गर्दै संयुक्त राष्ट्र सङ्घीय सुरक्षा परिषद्को प्रस्तावलाई गएको हप्ता अमेरिकाले भिटो गरेको भन्दै व्यापक आलोचना भएको थियो । यसको सट्टामा अमेरिकाले अस्थायी युद्धविरामको प्रस्ताव गरेको छ भने इजरायललाई दक्षिणी गाजाको शहर रफाहमा आक्रमण नगर्न चेतावनी दिएको छ ।

गएको अक्टोबर ७ तारिखमा १२ सय जनाको ज्यान जाने गरी हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले अहिले बदला लिइरहेको छ । बदलाका क्रममा गाजामा झन्डै ३० हजार जनाको ज्यान गएको छ भने शहर लगभग ध्वस्त भइसकेको छ । हमासले दुई सय ५३ जनालाई बन्धक बनाएकोमा अझै केही रिहा हुन बाँकी छ ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार ०८:३६