गणेश लाठ, वीरगञ्जको मारवाडी घरानामा जन्मेर नेपाली साहित्य लेखनमा लागेका व्यक्ति हुन् । उनी पेशागत रुपमा व्यापारी हुन् । तीन दशकअघि कराँतेका राम्रा खेलाडी पनि थिए । लेखन उनको रुचिको विषय हो । समाजका विसंगतिलाई साहित्यमार्फत दर्शाउँछन् । छिटपुट कविता लेख्छन् । बेलाबेलामा आर्थिक मुद्दामा लेखहरु पनि लेख्छन् ।
आठ वर्षदेखि पुस्तक लेखनमा लागेका उनको पहिलो पुस्तक, ‘अनुराधा भवन’ उपन्यास हो । मारवाडी समुदायको अन्तरकथा त्यसमा छ । दोस्रो, व्यंग्यात्मक कथा संग्रह ‘छमियाँ’ हो । जसमा नौवटा रोचक व्यंग्यात्मक कथा छन् । तेस्रो ‘अघटित’ व्यंग्यात्मक उपन्यास हो ।
उनको चौथो ‘क्षमादान’ हो । यो काल्पनिक उपन्यास हो । पाठकको हातमा भर्खर पुगेको छ । जनकपुरको पृष्ठभूमिबाट शुरु भएको कथा काठमाडौंमा गएर टुंगिन्छ । फरक–फरक धार र पृष्ठभूमिमा चारवटा पुस्तक तयार पारेका लाठसँग अनलाइनखबरकर्मी सुरेश बिडारीले गरेको कुराकानी :
व्यापार व्यवसायको बीचमा पुस्तक लेखनका लागि कसरी समय छुट्याउनुहुन्छ ?
व्यवसाय दिनरात गर्ने कुरा होइन । समय व्यवस्थापनको कुरा हो । कतिपय मानिस समय व्यवस्थापनको मामलामा, समयको हिसाब गर्नमा कमजोर छन् । वा समयलाई वास्ता गरेका हुँदैनन् । घण्टौं टीभी, मोबाइल, फेसबुकलगायत सामाजिक सञ्जालमा अल्झिएका हुन्छन् । त्यत्तिकै चिया पसल, चौतारामा गफ गरेर बसिदिन्छन् । समय व्यवस्थापनमा ध्यान दिएका हुँदैनन् ।
समयलाई मिलाउन सकियो भने गुणस्तरीय जीवन बिताउन सकिन्छ । परिवार, व्यवसाय, समाजलाई मात्र होइन, आफ्नो प्यासनलाई सजिलै समय दिन सकिन्छ ।
पुस्तक लेख्ने सन्दर्भ जो छ, सबैतिर दिने समयलाई थोरै थोरै कटौती गर्ने हो भने पुगिहाल्छ । दिनको एक पाना मात्रै लेख्नुभयो भने एक वर्षमा ३ सय ६५ पेज लेख्न सकिन्छ । काँटछाँट गरेर २ सय, २ सय ५० पेजको पुस्तक तयार हुन्छ । दिनको दुई घण्टा मात्रै समय दियो भने एक वर्षमा किताब तयार हुने भयो, अर्को एक वर्षमा कन्टेन्ट एडिटिङ, प्रुफ रिडिङ भइहाल्छ । बढी समय लागेपनि दुई वर्षमा किताब पाठकको हातमा पुग्छ ।
लेख्नका लागि त अरू साहित्यकारका पुस्तक पनि पढ्नुपर्छ होला नि त ?
लेखनमा मात्रै हैन, राम्रो फुटबल प्लेयर बन्ने हो भने आफूभन्दा राम्रा प्लेयरबाट सिक्नैपर्छ । किताब पठनका सन्दर्भमा फरक फरक लेखक, धार र देशका साहित्यकारका पुस्तक पढ्नैपर्छ । कुन देशमा कस्तो ट्रेन्ड चलिरहेको छ, कस्ता धारका लेखकले कस्तोे ठाउँ पाइरहेका छन् । त्यो बेग्लै कुरा हो । तर म पुराना भारतीय लेखकको पुस्तक पढ्छु । जसमध्ये धेरै दिवंगत भइसकेका छन् ।
नेपाली लेखक विश्वेश्वरप्रसाद कोइराला, ध्रुवचन्द्र गौतम, धनुषचन्द्र गौतम, शारदा शर्मा, कुमार नगरकोटीलाई पढिरहेको हुन्छु । भारतीय लेखकमा फणीश्वरनाथ रेणु, आचार्य चतुरसेन, राही मासुम रजा, अमिताभ दासजस्ता लेखक छन् । हालसालै नाम कमाएका जापानी राइटर मोरा कामी छन् । अफगानी राइटर खालिद हुसैनका दुईवटा किताब खुब महसुर छन् । कुनै नयाँ पुस्तक बजारमा आयो भने लिएर पढ्छु । निलम निहारिकाको ‘योगमाया’ पढें, चन्द्र बाँनियाको मदन पुरस्कार विजेता पुस्तक ‘महारानी’ पढें । यसरी म समय मिलाएर पढिरहेको हुन्छु ।
कहाँ गएर हामीले ‘रिजर्भ’ हुनुपर्छ भने सबैको आफ्नो भाव हुन्छ, सबैको आफ्नो महत्वाकांक्षा हुन्छ, सबैले आफ्नो दर्शन राख्न खोज्छन् । अरुबाट सिक्ने हो एउटा तहसम्म, तर पुस्तक लेख्ने बेलामा आफ्नै मौलिकता हुनुपर्छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ८ श्रावण २०८०, सोमबार ०७:४९
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ : ताल न बेताल, बेतको लौरी
रोटरी क्लब अफ बागमती काठमाडौंद्वारा करीब ६५ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण
शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति अनिशा खत्रीलाई
शब्दयात्रा प्रकाशनले साहित्यकार तथा पत्रकार आर. सी. विरहीलाई सहयोग गर्ने
नेपाल एअरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
बरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान (विश्व कीर्तिमानी)बाट स्थापित पुरस्कारहरु (सूची)