धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ९ जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । धनुषाको धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्री नारायण सिंह, उपाध्यक्ष रामबति देवी मंडल, प्रमुख प्रशासकीय अधिकृतसमेत ९ जना र कन्स्ट्रक्सन प्रालिमाथि सार्वजनिक सम्पत्ति हिनामिना गरी भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजार नाला तथा फोहरमैला व्यवस्थापन शीर्षकबाट बिना कुनै निर्णय बजार सेड निर्माण कार्यमा गोप्य रुपमा एउटै निर्माण व्यवसायीबाट तीन वटा निर्माण व्यवसायीको नामले टेन्डर भर्न लगाई कमिसन लिई बिना प्रतिस्पर्धा रु.१ को मात्रै फरक पारी एकता सप्लार्यससँग मिलेमतोमा सम्झौता गरी गुणस्तरहीन बजार सेड निर्माण गरी काम भन्दा बढी नापी किताब तयार गरी भुक्तानी दिई बजेट रकम हिनामिना गरेको आरोपमा गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्री नारायण सिंहसहित ९ जना र कन्स्ट्रक्सन कम्पनिविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

अख्तियारले धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष बद्री नारायण सिंह, उपाध्यक्ष रामबति देवी मंडल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गौरी शंकर मण्डल, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावन कुमार चौधरी, सब-इन्जिनियर छोटे मण्डल, तत्कालीन योजना शाखा प्रमुख ना.सु. नरेश कुमार मण्डल, लेखापाल राधेश्याम राय, तत्कालीन सह-लेखापाल बिनोद कुमार मण्डल र 

एकता सप्लायर्स एण्ड कन्स्ट्रक्सन तथा उक्त कम्पनीका सञ्चालक ईन्द्रेश कुमार सिंहविरुद्ध ३१ लाख ३४ हजार ७७९ रुपैयाँ अनियमितता गरेको आरोपमा त्यति नै रकम बिगो दाबी र कानुन अनुसारको सजाय माग गर्दै मुद्धा दायर गरेको छ ।

Sudina Shrestha

प्रकाशित: २० असार २०८२, शुक्रबार १५:४६