साहित्यमा पनि केन्द्र नै हाबी छ : गणेश लाठ

गणेश लाठ, वीरगञ्जको मारवाडी घरानामा जन्मेर नेपाली साहित्य लेखनमा लागेका व्यक्ति हुन् । उनी पेशागत रुपमा व्यापारी हुन् । तीन दशकअघि कराँतेका राम्रा खेलाडी पनि थिए । लेखन उनको रुचिको विषय हो । समाजका विसंगतिलाई साहित्यमार्फत दर्शाउँछन् । छिटपुट कविता लेख्छन् । बेलाबेलामा आर्थिक मुद्दामा लेखहरु पनि लेख्छन् ।

आठ वर्षदेखि पुस्तक लेखनमा लागेका उनको पहिलो पुस्तक, ‘अनुराधा भवन’ उपन्यास हो । मारवाडी समुदायको अन्तरकथा त्यसमा छ । दोस्रो, व्यंग्यात्मक कथा संग्रह ‘छमियाँ’ हो । जसमा नौवटा रोचक व्यंग्यात्मक कथा छन् । तेस्रो ‘अघटित’ व्यंग्यात्मक उपन्यास हो ।

उनको चौथो ‘क्षमादान’ हो । यो काल्पनिक उपन्यास हो । पाठकको हातमा भर्खर पुगेको छ । जनकपुरको पृष्ठभूमिबाट शुरु भएको कथा काठमाडौंमा गएर टुंगिन्छ । फरक–फरक धार र पृष्ठभूमिमा चारवटा पुस्तक तयार पारेका लाठसँग अनलाइनखबरकर्मी सुरेश बिडारीले गरेको कुराकानी :

व्यापार व्यवसायको बीचमा पुस्तक लेखनका लागि कसरी समय छुट्याउनुहुन्छ ?

व्यवसाय दिनरात गर्ने कुरा होइन । समय व्यवस्थापनको कुरा हो । कतिपय मानिस समय व्यवस्थापनको मामलामा, समयको हिसाब गर्नमा कमजोर छन् । वा समयलाई वास्ता गरेका हुँदैनन् । घण्टौं टीभी, मोबाइल, फेसबुकलगायत सामाजिक सञ्जालमा अल्झिएका हुन्छन् । त्यत्तिकै चिया पसल, चौतारामा गफ गरेर बसिदिन्छन् । समय व्यवस्थापनमा ध्यान दिएका हुँदैनन् ।

समयलाई मिलाउन सकियो भने गुणस्तरीय जीवन बिताउन सकिन्छ । परिवार, व्यवसाय, समाजलाई मात्र होइन, आफ्नो प्यासनलाई सजिलै समय दिन सकिन्छ ।
पुस्तक लेख्ने सन्दर्भ जो छ, सबैतिर दिने समयलाई थोरै थोरै कटौती गर्ने हो भने पुगिहाल्छ । दिनको एक पाना मात्रै लेख्नुभयो भने एक वर्षमा ३ सय ६५ पेज लेख्न सकिन्छ । काँटछाँट गरेर २ सय, २ सय ५० पेजको पुस्तक तयार हुन्छ । दिनको दुई घण्टा मात्रै समय दियो भने एक वर्षमा किताब तयार हुने भयो, अर्को एक वर्षमा कन्टेन्ट एडिटिङ, प्रुफ रिडिङ भइहाल्छ । बढी समय लागेपनि दुई वर्षमा किताब पाठकको हातमा पुग्छ ।

लेख्नका लागि त अरू साहित्यकारका पुस्तक पनि पढ्नुपर्छ होला नि त ?

लेखनमा मात्रै हैन, राम्रो फुटबल प्लेयर बन्ने हो भने आफूभन्दा राम्रा प्लेयरबाट सिक्नैपर्छ । किताब पठनका सन्दर्भमा फरक फरक लेखक, धार र देशका साहित्यकारका पुस्तक पढ्नैपर्छ । कुन देशमा कस्तो ट्रेन्ड चलिरहेको छ, कस्ता धारका लेखकले कस्तोे ठाउँ पाइरहेका छन् । त्यो बेग्लै कुरा हो । तर म पुराना भारतीय लेखकको पुस्तक पढ्छु । जसमध्ये धेरै दिवंगत भइसकेका छन् ।

नेपाली लेखक विश्वेश्वरप्रसाद कोइराला, ध्रुवचन्द्र गौतम, धनुषचन्द्र गौतम, शारदा शर्मा, कुमार नगरकोटीलाई पढिरहेको हुन्छु । भारतीय लेखकमा फणीश्वरनाथ रेणु, आचार्य चतुरसेन, राही मासुम रजा, अमिताभ दासजस्ता लेखक छन् । हालसालै नाम कमाएका जापानी राइटर मोरा कामी छन् । अफगानी राइटर खालिद हुसैनका दुईवटा किताब खुब महसुर छन् । कुनै नयाँ पुस्तक बजारमा आयो भने लिएर पढ्छु । निलम निहारिकाको ‘योगमाया’ पढें, चन्द्र बाँनियाको मदन पुरस्कार विजेता पुस्तक ‘महारानी’ पढें । यसरी म समय मिलाएर पढिरहेको हुन्छु ।

कहाँ गएर हामीले ‘रिजर्भ’ हुनुपर्छ भने सबैको आफ्नो भाव हुन्छ, सबैको आफ्नो महत्वाकांक्षा हुन्छ, सबैले आफ्नो दर्शन राख्न खोज्छन् । अरुबाट सिक्ने हो एउटा तहसम्म, तर पुस्तक लेख्ने बेलामा आफ्नै मौलिकता हुनुपर्छ ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: ८ श्रावण २०८०, सोमबार ०७:४९