काठमाण्डौं । चिसोयाममा बिहान झिसमिसेको पहिलो प्रहरमै ‘मर्निङ वाक’ निस्कँदा स्वास्थ्यका लागि बढी हानी हुनसक्ने विज्ञहरुले बताएका छन् । एकाबिहानैको हावा बढी प्रदूषित हुने भएकाले विज्ञहरुले सकेसम्म घाम लागेपछि मात्रै निस्कन उपयुक्त हुने सुझाव दिएका हुन् ।
चिसो हावामा धूलो, धुँवा र कार्बन कर्णलगायतका प्रदूषण तैरिन नसकी जमिनकै सतहमा रहेका हुन्छन् । वातावरणविद् भूषण तुलाधारले गर्मीयामको तुलनामा जाडोयाममा बिहान सामान्य अवस्थामा जमिनमा रहने चिसो हावा बढी प्रदूषित हुने गरेको बताए ।
तुलाधारका अनुसार काठमाण्डौ जस्तो उपत्यकामा हावा बाहिर निस्किन अझ कठिन भएकाले पनि जाडोको समयमा प्रदूषण बढ्छ । नागरिकले पनि चिसो मौसममा फोहर जलाउने, घर तताउन तथा खाना पकाउन जैविक इन्धन (दाउरा, कोइला) र तरल पेट्रोलियम ग्यासको प्रयोग बढी गर्ने र ग्रामीण क्षेत्रमा अझै पनि परम्परागत दाउराको प्रयोग हुने गरेकाले प्रदूषण हुने गति तीव्र हुन्छ ।
जलवायुविद् मञ्जित ढकालले प्रदूषणको स्रोत नै गाडीबाट निस्कने धुँवा भएको उल्लेख गर्दै समस्या समाधान गर्न सके जलवायु परिवर्तनको कारक तत्वका रुपमा रहेको कार्बन उत्सर्जन न्यूनीकरणमा सहयोग पुग्ने बताए ।
मुटुरोग विशेषज्ञ डा. रञ्जित शर्माका अनुसार जाडोयाममा घाम लाग्नुअघि बढी प्रदूषण हुने भएकाले यसबाट मुटुरोगीलाई बढी असर गर्छ । जाडो याममा शरीरमा विभिन्न किसिमका हर्मोनको मात्रा वृद्धि हुने भएकाले रगतको भिस्कोसिटी (बाक्लोपना) बढ्ने र रक्तनली खुम्चने हुन्छ । यसले रक्तप्रवाह असामान्य भई मुटुमा अक्सिजनको कमी हुनसक्छ । मुटु, रक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल, दीर्घरोगी, दमबाट पीडितले सकेसम्म बिहान अबेर मात्रै व्यायाम गर्नुपर्ने उनको सुझाव छ ।
यस्तै जनस्वास्थ्यविद् डा. समिर अधिकारीले बढ्दो वायु प्रदूषणले मानिसको श्वासप्रश्वासमा समस्या आउने, रुघाखोकी लाग्ने, दम बढाउने, फोक्सोको क्यान्सर, उच्च रक्तचाप, पक्षघात, हृदयघातजस्ता स्वस्थ्यमा गम्भीर असर गर्ने भएकाले सतर्कता अपनाउन सुझाव दिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १० पुष २०८१, बुधबार ०९:३०
२ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप
व्यवसायी वर्षा कुवरले जितिन‘ मिसेस व्यूटी क्वीन नेपाल सिजन ७ को ताज
‘मिसेस ब्युटी क्विन नेपाल २०२५’ को ताज वर्षा कुवरलाई
विदेशबाट पनि श्रम स्वीकृति
पाथीभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, ६ बुँदे सहमतिमा के छ ?
वर्ल्ड क्यान्सर डे : स्वास्थ्यमन्त्रीले भने- क्यान्सर रोकथाम र नियन्त्रणका लागि सरकार सजग छ