काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखीरुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयद्वारा आज दशरथ रंगशालामा आयोजित ५०औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै घमन्ड नगरी विनयशील हुन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिष्कृत गर्न आग्रह गरे । उनले भने, ‘आफैसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम लाग्दैन । ज्ञानलाई व्यवहारिक रूपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले भने, ‘हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ ।’ प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पुर्खाको ज्ञानप्रति कृतज्ञ भएर उनीहरूबाट सिक्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा प्रधानमन्त्री एवं कुलपति ओलीबाट विभिन्न संकाय र तहका १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित भएका थिए । समारोहमा प्रमुख अतिथि अर्थशास्त्री डा.रामप्रकाश यादवले जीवनमा संघर्ष र इमानदारितालाई पछ्याउन सकेमा सफलता हासिल हुने बताए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १३ पुष २०८१, शनिबार १६:३४
२ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप
व्यवसायी वर्षा कुवरले जितिन‘ मिसेस व्यूटी क्वीन नेपाल सिजन ७ को ताज
‘मिसेस ब्युटी क्विन नेपाल २०२५’ को ताज वर्षा कुवरलाई
विदेशबाट पनि श्रम स्वीकृति
पाथीभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, ६ बुँदे सहमतिमा के छ ?
वर्ल्ड क्यान्सर डे : स्वास्थ्यमन्त्रीले भने- क्यान्सर रोकथाम र नियन्त्रणका लागि सरकार सजग छ