लुओयाङ : फूलै फूलको सहर

इमीले सुनाइन्, ‘हामी गलत समयमा लुओयाङ आएका छौं ।’

मैले सोधें, ‘हल्का वर्षाले सहर पखालिएको छ । वायुमण्डलमा शीतलता छ । सडक सफा छ । कति मनमोहक छ लुओयाङ सहर । फेरि किन गलत समय भयो ?’

तर, इमीले मेरो कुरामा चित्त बुझाइनन् । उनले थपिन्, ‘यो त बगैंचा सहर यो, जो ढकमक्क फूलहरुले सुशोभित हुन्छ । खासगरी पेओनी फूलहरुले यो सहरलाई साँच्चै रुपवती बनाइदिन्छ । तर, हामी अलि ढिला आइपुग्यौं । किनभने पेओनी फूल अप्रिल र मेको बीचमा फुल्ने गर्छ ।’

इमी हाम्रो पथप्रदर्शक हुन्, हुवे प्रान्तको उहान रिर्सच इन्सटिच्युट अफ पोष्ट एण्ड टेलिकम्युनिकेसनको तर्फबाट । सायद उनी पनि पहिलो पटक लुओयाङ आएकी हुन् । त्यसैले त उनलाई थकथकी छ पेओनी फूलको  याममा आउन नपाएकोमा । हामी जुनको दोस्रो साता हेनान प्रान्तको लुओयाङ पुगेका थियौं ।

मैले नेपाल चीन हिमालय फ्रेन्डसिप सोसाइटीका महासचिव रिनन् पोखरेललाई सम्झिएँ । उनले हामी चीन उड्ने बेला भनेका थिए, ‘तपाईंहरुको भ्रमण सिटीको सेड्युलमा लुओयाङ पनि छ । यो नयाँ सहर हो, असाध्यै सुन्दर छ ।’

लुओयाङ सहरमा हामी पुग्दा ढकमक्क पेओनी फूलले त स्वागत गरेको थिएन । यद्यपि यो सहरमा बिछट्टै सुन्दरता भने थियो । कुनै सिपालु चित्रकारले निकै मिहेनतसाथ बनाएको ल्यान्डस्केप जस्तो ।

फराकिला सडक । माझमा फूल बगैंचा । चोक-चोकमा छरितो प्रतिमाहरू । ठाउँ–ठउँमा पार्कहरु । मन यसै यसै आनन्दित हुने ।

हामीकहाँ त सहरको चित्र पनि भिडभाड, हो-हल्ला, दुर्गन्ध, ठेलमठेल । आफैमा निस्सासिएको जस्तो । हाम्रो सहरमा हिँडडुल गर्दा रक्तचाप बढ्छ । तर, लुओयाङमा हाम्रो पाँचै इन्द्रीय जागरुक हुन्छ । अनि मन आनन्दित ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०६:२६