काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय संसदमा विश्वासको मत पाएका छन् । प्रधानमन्त्री प्रचण्डले बुधबार प्रतिनिधिसभामा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा १५७ सांसदले समर्थन गरेका छन् । प्रधानमन्त्रीले संसदमा विश्वासको मत पाएको यो तेस्रोपटक हो ।
बुधबार प्रस्तावको विपक्षमा ११० मत परेको छ । प्रधानमन्त्री प्रचण्डलाई मत दिन्न भन्नेमा १ मत परेको थियो । प्रतिनिधिसभामा बुधबार २६८ सांसद उपस्थित थिए ।
प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिएका हुन् । उक्त धारामा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने प्रावधान छ ।
यही फागुन २१ गते प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेपछि नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीसहितका दलको नयाँ समीकरण बनेको थियो । त्यही दिन कांग्रेस सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएको थियो । त्यसैले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएका हुन् ।
यसअघि २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले त्यही २६ गते विश्वासका मत लिएका थिए । त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए । र, २०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरबदल भयो । चैत ६ गते प्रधानमन्त्री प्रचण्डले पुनः विश्वासको मत लिएका थिए । त्यतिबेला सदनमा उपीसथत २६२ सांसदमध्ये विश्वासको मतको प्रस्तावमा पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो ।
क–कसले गरे समर्थन ?
प्रचण्ड नेतृत्वको सरकारलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका अलाव नागरिक उन्मुक्ति पार्टीले समेत समर्थन जनाएको छ ।
नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी लगायतले भने सरकारलाई विश्वासको मत दिएनन् ।
प्रतिनिधिसभामा एमालेको ७६, अनि माओवादीको ३२ सिट रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको २१, जसपा नेपालको १२, नेकपा एकीकृत समाजवादीको १० र नागरिक उन्मुक्ति पार्टीका ४ सिट रहेको छ ।
प्रतिनिधिसभामा एमालेका कुल सांसदको संख्या ७९ रहेकोमा टोपबहादुर रायमाझी निलम्बित छन् भने सुवास नेम्वाङको निधन भएको छ । सभामुख देवराज घिमिरेले समेत विश्वासको मतमा सहभागी हुँदैनन् ।
तल्लो सदनमा नेपाली कांग्रेसका ८८ जना सांसद छन् । तर त्यसमध्ये टेकबहादुर गुरुङ निलम्बनमा छन् । त्यस्तै, राप्रपाका १४, जनमत पार्टीका ६, लोसपाका ४, नेमकिपा, जनमोर्चा र आम जनता पार्टीका १÷१ जना सांसद छन् ।
प्रचण्डले पहिलोपटक विश्वासको मत लिँदा संसदका १२ मध्ये १० दल र सबै स्वतन्त्र सांसद्ले विश्वासको मत दिएका थिए । नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसद्ले भने प्रचण्डलाई मत दिएका थिएनन् । तल्लो सदनमा ती दलका एक–एक सांसद् छन् ।
दोस्रोपटक विश्वासको मत लिँदा एमाले र राप्रपाले विश्वासको मत दिएनन् भने नेमकिपाका एक सांसद् तटस्थ बसेका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १ चैत्र २०८०, बिहीबार ०८:३६
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ : ताल न बेताल, बेतको लौरी
रोटरी क्लब अफ बागमती काठमाडौंद्वारा करीब ६५ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण
शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति अनिशा खत्रीलाई
शब्दयात्रा प्रकाशनले साहित्यकार तथा पत्रकार आर. सी. विरहीलाई सहयोग गर्ने
नेपाल एअरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
बरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान (विश्व कीर्तिमानी)बाट स्थापित पुरस्कारहरु (सूची)