
काठमाडौं । देश कंगाल बनिसकेको छ । अहिले जन्मनबित्तिकै शिशुले बिना सुविधा हजारौँको ऋणको भारी बोक्नु परेको छ । अझ त्यसमाथि पनि प्रदेश संरचनाको आडम्बरीपनले दिनानुदिन मुलुक कंगाल हुँदै गएको छ । आम्दानी भन्दा खर्चले आकाश छोएको छ ।
कुनै पनि सरकार सामान्य प्रशासनिक खर्चसमेत राजस्वबाट धान्न नसक्ने अवस्थामा छ । अर्कोतिर अनावश्यक र उपयोगिताविहीन प्रशासनिक संरचना थपेको थप्यै छ । यसरी राज्यमाथि बोझ थप्ने होडमा प्रदेश सरकारहरु झन् अगाडि देखिएका छन् । आखिर यस्ता सरकार किन चाहियो ?
संघीय सरकारले खुट्टै खर्च गर्ने र स्थानीय तहले पनि छुट्टै खर्च गर्ने तर उद्देश्य भने एउटै । अर्थात् एउटै कामका लागि तीनतिरबाट खर्च भइरहेको छ । उपलब्धि केही पनि छैन । स्थानीय तह भएपछि कसैले गर्नै पर्दैन । केन्द्रले अनुगमन गरेमात्र पुग्छ । फेरि किन चाहियो प्रदेश सरकार र प्रदेश संरचना, खचैमात्र बढी ।
हुन पनि संघीयताको अभ्यासपछि प्रशासनिक खर्चमा सामान्य वृद्धि अपेक्षित नै थियो । सम्भवतः प्रशासनिक खर्च अनपेक्षित रुपमा बढ्न नदिन नै मन्त्रीहरुको संख्यासमेत संविधान नै तोकिएको हो । दुर्भाग्य संविधान यो मर्म भने कुनै पनि सरकारले आत्मसात् गर्न खोजेको देखिएन । त्यो भन्दा पनि दुरुपयोग गर्ने सबै बढे ।
पछिल्लो समय बागमती प्रदेश सरकार उपादेयताहीन प्रशासनिक संरचना निर्माण गर्नेमा उदाहरण बन्न पुगेको छ । प्रदेश सरकारले बनाएका विभिन्न बोर्ड र परिषद्हरु सेतो हात्ती साबित भएका छन् । तिनले राज्यमाथि प्रशासनिक खर्चको बोझबात्र थपेका छन् । सत्तारुढ दलका नेता निकटका कार्यकर्तालाई जागिर खुवाएर थामथुम पार्नेबाहेक त्यस्ता संरचनाको कुनै उपयोगिता देखिएको छैन ।
यद्यपि त्यस्तै उपादेयताविहीन संरचना निर्माण गर्ने होडमा अरु प्रदेश सरकारहरु पनि लागेका छन् । दुर्भाग्य यस्तो होड रोक्ने प्रयास भने भएको देखिँदैन । यस्ता फजुल संरचना प्रायः प्रदेश सरकारहरुको पहिलो कार्यकालमा निर्माण गरिएका हुन् ।
संघीयता कार्यान्वयनको उत्साहमा यस्ता फजु ल संरचना निर्माण गर्दाको नकरात्मक पक्षमा ध्यान पनि दिइएन । यसैले प्रदेशपिच्छे त्यस्ता संरचनाहरु बनाउने काम भयो । प्रदेश सरकारका विभिन्न मन्त्रालयकै कार्यक्षेत्रमा काम गर्ने गरी बनाइएका यस्ता फजुल संरचना हटाउँदा पनि तिनले गर्ने भनिएका काम रोकिने देखिँदैन । बोर्ड वा परिषद्जस्ता संरचनाबाटै काम चलाउने हो भने मन्त्रालय चाहिँदैन ।
यस्तै उपादेयताहीन संरचना निर्माण गर्नेजस्ता कामले प्रदेश तहकै औचित्यमा प्रश्न उठेको हो । यस्तै कारणले न संघीयता विरोधीहरुले प्रदेशलाई देखाएर संविधानप्रति वितृष्ण जगाउने मौका पाएका हुन् । संविधान जोगाउन पनि जिम्मेवारीपूर्वक शासकीय अनुशासन कायम गरिनुपर्छ ।
यस्ता उपादेयताविहीन संरचना राज्यमाथि अनावश्यक बोझ मात्र हुँदा रहेछन् भन्ने सम्भवतः अब प्रदेश र संघमा सबैले बुझिसकेको हुनुपर्छ । यसैले निर्ममतापूर्वक समीक्षा गरी त्यस्ता फजुल संरचना खारेज गर्न राजनीतिक सहमति र प्रतिबद्धता जुटाउनु उचित हुनेछ । हैन भने चीनबाट बीआरआई लिनै पर्दैन यहीँ नै बढिरहेछ ऋणपासी ।
–जनभावना साप्ताहिकबाट
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २५ मंसिर २०८१, मंगलवार १४:१२
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
