सांस्कृतिक सम्पदा नै नेपालका असली गहना

आज काठमाडौैंको परिचय भनेको के भन्दा सबैको मुखारवृन्दबाट सुन्न पाइन्छ, यहाँको सांस्कृतिक सम्पदा हो । संस्कृति हाम्रो सुन्दरता हो, संस्कृति हाम्रो परिचय हो र बहुमूल्य गहना हो कि यसको महत्व  भन्दै जाँदा संस्कृतिविद्हरूले पनि भेटिसक्नुभएको छैन होला, यसको गहिराइलाई । नेपालको परिचय नेपालीले भन्दा विदेशी नागरिकले बढी बुझेका छन् । नेपालको संस्कृतिमा विदेशीहरूले मनोरञ्जन लिने गरेका छन् । हामीले यस्ता संस्कृति बचाउन एकदम आवश्यक छ ।
नेपाल एउटा यस्तो प्राकृतिक सम्पदाले भरिपूर्ण देश हो कि यहाँ असंख्य स्रोतका भण्डार रहेका छन्, मात्र यसको उचित परिचालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण नभएको र सांस्कृतिक सम्पदा संरक्षणले देशको पहिचान विश्वमा चिनाउन सकिन्छ भन्ने धारणा नागरिकमा चेतना नभएर मात्र हो । सम्पदा र संस्कृति बचाउने नाममा मठमन्दिर, गुठी संस्थान, सार्वजनिक जग्गाजमिन इत्यादि क्षेत्र दिनानुदिन अतिक्रमण हुँदै गएका छन्, खण्डीकृत हुँदै गएका छन् । यसतर्फ कसैको ध्यान गएको छैन । युवा पुस्तालाई आजको पश्चिमा संस्कृतिले व्याप्त बनाइरहेको छ, नेपाली पहिचान त के हो के, कुनै परवाह छैन । आज विदेशी संस्कृति नेपालमा हाबी हुँदा नेपालको मौलिक संस्कृति लोप हुन लागेको छ । नेपाली भाषामा विभिन्न जातजातिको नाच, धार्मिक आस्था राख्ने वर्ग, जनजातिको जात्रा, समयानुसारको पर्व, रोधी, मेलापातमा गाइने असारे गीत, रोपाइँ अनि काठमाडौं उपत्यकाका तिनै जिल्लाका मल्लकालीन कलात्मकता बिस्तारै–बिस्तारै लोप हुन थालेको छ । हामीले वर्षमा १ दिन पनि हाम्रो पहिचान झल्कने वेशभूषा धारण गरेर त्यसको महŒवका बारेमा कुनै सार्वजनिक कार्यक्रम प्रस्तुत गरेका छैनौं । अनि आफैं भनौं त, हामीले हाम्रो संस्कृति, वेशभूषा, रीतिरिवाज, रहनसहन, खानपिन र दैनिकीलाई कुल्चिएर हिँडेका छौं, यसको संरक्षण कसले गर्ला र कसले सोच्ला खै !
अहिले नेपालमा बसोबास गर्ने युवावर्गको दैनिकी फेरिँदै गएको छ । जब नेपालमा पश्चिमा देशको संस्कृति भित्रियो त्यति नै बेलाबाट नेपालको खानपिन, रहनसहन र संस्कृतिको लोप हुँदै गएको छ । मानिसले आफूले गर्दै आएका खेतीपाती गर्न छाडी विदेशी खानपिन, लवाइलाई प्राथमिकतामा दिन थालिएको छ, जसले पश्चिमा शैलीलाई प्राथमिकता दिई आफ्नोे मौलिकतालाई विस्थापित गरिदिएको छ । आजका युवापुस्तालाई नेपालको राष्ट्रिय खाना के हो ?? आजका युवा पुस्तालाई थाहा हुँदैन, तर अमेरिकाको, बेलायत, फ्रान्स इत्यादि देशका बारेमा सोधौं त एउटा ठेली पुग्नेसम्म थाहा हुन्छ हाम्रा युवालाई ।
अब नेपालको संस्कतिको कुरा गरौं, नेपालको पहिचान भनेकै नेपालको संस्कृति हो, यहाँको भाषा, धर्मले नै नेपाललाई विश्वसामु चिनाएको छ । युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश भएका नेपालका सम्पदाहरू नेपालका गतिला चिनारी हुन् । यस्ता सम्पदाहरूको संरक्षण र संवद्र्धन गर्नु जरुरी छ । यसतर्फ सरकार मात्र बचाउ अभियानमा लागेर हुँदैन, हामी जनता आफंै क्रियाशील भएर संरक्षणमा लाग्नुपर्छ । २०७२ सालमा गएको भूकम्पले नेपालका सांस्कृतिक सम्पदाहरू भत्किएको र त्यसको पुनर्निर्माणले गति लिन नसक्दा विश्वसम्पदा सूचीमा रहेका हाम्रा सांस्कृतिक गहनाहरू विश्वसम्पदा सूचीबाट बाहिरिने अवस्था आएको छ । विदेशी पर्यटकहरू नेपालका कला–कौशलतालाई फोटो खिचेर विदेशमा प्रवद्र्धन गरिरहेका छन्, नेपाल सरकारको ध्यान जाओस् कि नेपाल एउटा सांस्कृतिक विविधताले युक्त देश हो, नेपाललाई विश्वसामु चिनाउन सम्पदाको संरक्षण गर्न आवश्यक छ ।
सरकारले पनि बजेट भाषणमार्फत यस्ता विश्वसम्पदा सूचीमा समावेश भएका संस्कृतिक धरोहरको संरक्षणमा बजेट विनियोजन गरी स्वदेशी तथा विदेशी पर्यटकको पर्यटन प्रवद्र्धन गर्न नीति तथा कार्यक्रम बनाएर कार्य सम्पादन गर्नुपर्छ ।
युवा शक्ति देशका ऊर्जा भएकाले युवा शक्तिले पिता–पुर्खाले बचाई ल्याएको संस्कृतिलाई जोगाएर पुस्ता हस्तान्तरण गरी पुस्तौंपुस्तासम्म हाम्रा सन्ततिहरूका लागि जोगाइराख्नुपर्छ ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०९:०६