काठमाडौं । नेपालीमा एउटा भनाइ नै छ, ‘बोल्नेको पीठो पनि बिक्छ, नबोल्नेको चामल बिक्दैन ।’ यो पुरानो भनाइ बेला बेला नेपाली समाजमा चरितार्थ भइरहेको पाइन्छ ।
पछिल्लो उदारहरण हो, नेपाली फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ । अहिलेकै अवस्थामा भन्ने हो भने यो अहिलेसम्मकै बढी कमाइ गर्ने पहिलो फिल्म बनेको छ । पछिल्लो रिपोर्टहरुका अनुसार यो फिल्मले ३० करोड रुपैयाँभन्दा बढी ग्रसकलेक्शन गरिसकेको छ । नेपाली फिल्मको यो कलेक्शनलाई ‘ऐतिहासिक’ भनिएको छ । नेपाली फिल्म चल्नु आफैमा राम्रो कुुरा हो । तर, यो फिल्मले कसरी यत्रो व्यापार ग¥यो ? दर्शकले किन रुचाए । के ‘पूर्णबहादुरको सारङ्गी’ उत्कृष्ट फिल्म नै हो ?
समग्रमा निष्कर्ष निकाल्ने हो भने ‘होइन’ । योभन्दा कैयौँ राम्रो र मनछुने नेपाली फिल्म बनेका छन् । यतिसम्मकी कतिपयले त सामाजिक सञ्जालको प्रचार देखेकै भरमा सिनेमा हल पुगेहरुले ‘फिल्म त झुरै रहेछ’ समेत भने । तर, तिनीहरुले भनेजस्तै ‘पूर्णबहादुरको सारङ्गी’ झुर फिल्मचाहिँ होइन । यतिचाहिँ भन्न सकिन्छ कि, यो फिल्म होइन, एउटा डकुमेन्ट्री हो । त्यो पनि ताल न बेतालको । पहिलो कुरा त कथा नै अधुरो छ । फिल्म हेदै अन्तिममा धेरैले खल्लो मान्छन् किनकि फिल्मको इण्डिङ साँच्चीकै झुर छ ।
यो आलेख ‘पूर्णबहादुरको सारङ्गी’को समीक्षा गरिएको होइन, फिल्म हेरिसकेपछि मनमा लागेको कुरा मात्र यहाँ उल्लेख गर्न खोजिएको हो । यो फिल्ममा अजगतिन्ती कमजोरी छन् अर्थात ठाउँ ठाउँमा कथाको कन्टिन्युटी ब्रेक छ । फिल्मका मुख्य पात्र ‘पूर्णबहादुरको श्रीमती कता पोइला गइन् कि कता गइन्’ भन्ने फिल्म हर्नेहरुलाई यकिन हुँदैन । किनकि, त्यो प्रष्ट छैन । अर्को कुरा काठमाडौंमा डाक्टर पढ्ने छोरा बाबु वितेको पत्तै नहुनु, बिहे नै नगरी कमले (प्रकास सपुत)को छोरीको इन्ट्रि जस्ता अधुरा दृश्यले फिल्म नै झुर बनाएको छ । यी त फिल्ममा केही कमजोरी मात्र केलाइएको हो । यस्तो कमजोरी अनगिन्ती छन् ।
फिल्मको कथातिर लागौँ
एउटा बुवाले सन्तानका लागि गरेको संघर्षलाई निर्देशक सरोज पौडेलले २०३६ देखि २०६५ सालसम्मको फ्रेममा राखेर भनिएको कथा हो फिल्म ‘पूर्णबहादुरको सारंङ्गी’ ।
बाबुबाट पाएको सारंगीलाई नै पुर्खाको सम्पत्ति मान्ने र गन्धर्व कुलमा जन्मिएपछि सारङ्गी रेट्दै गीत गाएर अरुले जे दिन्छन् त्यसकै भरमा गुजारा गर्नु मुलधर्म रहेको सोच भएका पात्र हुन् पूर्णबहादुर । यही पात्रमार्फत सीपअनुसारको कर्मसँगै जोडिएको आर्थिक दुरावस्था र त्यसले ल्याउने पारिवारिक विचलनलाई निर्देशकले फिल्ममा उतारेका छन् ।
बाबुबाट सम्पत्तिको नाममा पाएको सारङ्गी रेटेर जीविकोपार्जनमा रमाइरहेका पूर्णबहादुर प्रारम्भमा छोरालाई पनि पुर्खाकै सीप सिकाउने पक्षमा हुन्छन् । तर, जब उनले सामाजिक सम्मानसँग शिक्षा जोडिन्छ भन्ने बुझ्छन् । त्यसपछि छोरालाई गाइने हैन डाक्टर बनाउन चाहन्छन् ।
बालकदेखि प्रौढसम्मले हेपिरहेको देखेका कमल बाको भागमा सम्मान ल्याउन चाहन्छन् । ‘मेरा बालाई किन सबैले हेप्छन् ? बालमष्तिष्कमा यो प्रश्न नमज्जाले गढिसकेको हुन्छ । छोराले बाको सामाजिक सम्मान फिर्ता ल्याउँछन् कि बाले छोरालाई डाक्टर बनाउँछन् ? यी दुई पात्रमध्ये कसको चाहना सफल हुन्छ ? फिल्मको मूलकथा यही हो ।
फिल्ममा प्रेमको कथा छ, विछोड छ । भिलियनका रुपमा समाजका शोषक छन् । तीन साथीको मित्रता र इर्श्या छ । अनि राजनीति पनि घुसाइएको छ । यस्तै सहायक कथाहरू छन् फिल्ममा । फिल्मको मुल पात्र पूर्णबहादुर अनि उसको सारङ्गी भएपनि फिल्म पूरै गन्धर्व समुदायमा मात्र केन्द्रित छैन । गन्धर्व समुदायको पृष्ठभूमि र पात्रमार्फत समग्र हेपिएका र दबाइएका वर्गको कथाको प्रतिनिधित्वको प्रयास गरेको छ फिल्मले ।
२०३६ मा सुधारिएको पञ्चायतबारे लिइएको जनमत संग्रह, २०४६ को लोकतान्त्रिक आन्दोलन, २०४६ देखि २०६५ सम्म सर्वहारा वर्गको मुक्तिका लागि जंगल छिरेर सशस्त्र विद्रोह भएको माओवादीकाल । कथा भन्न यही टाइमफ्रेमलाई निर्देशकले लिँदै पूर्णको जीवनलाई तीन तहमा विभाजन गरेका छन् । तर, फिल्मलाई लयमा ल्याउन निर्देशकले पूर्णको कथालाई बढी जोड दिएका छन् ।
कथा बुन्नेक्रममा निर्देशकले दृश्य छायाँकनमा खाशै ख्याल गरेका छैनन् । ०३६ र ०६५ विचको परिवेश उतार्दा केही दृश्यमा इन्टरनेट (वाईफाई) सिग्नल देखिएको छ । जबकि त्यो समयमा गाउँघरमा इन्टरनेट त मोबाइल फोन समेत थिएन । त्यो निर्देशकले हेक्का राखेको देखिएन । दर्शकले समेत त्यतनतिर ध्यान दिएको पाइएन । तर, समयानुसार फिल्ममा पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर’ प्रयोग गरिएको छ । यसमा पनि प्रश्न उठ्न पनि सक्थ्यो । तर, कथाअनुसार पचेको छ ।
समग्रमा भन्ने हो भने यो फिल्म पूर्णबहाुरको एकल कथा हो । जो अरु पात्र उसका वरीपरी घुमिरहन्छन् । त्यसैले ‘पूर्णबहादुरको सारंगी’ सारंगीसँग जीवन चलाउने गन्धर्व जाती अर्थात समुदायको कथालाई डकुमेन्ट्री रुपमा दिइएको एउटा अधुरो फिल्म हो भन्दा फरक पर्दैन ।
कसरी चल्यो यो फिल्म ?
सुरुमै भनिएको छ कि बोल्नेको पीठो पनि बिक्छ । हो, पूर्णबहादुरको सारंगी टिमले गज्जबको प्रचार गरे । भनौँ, सामाजिक सञ्जालको जमानालाई दुरुपयोगसँगै सदुपयोग गरे । फिल्म रिलिजको दोस्रो दिन नै सामाजिक सञ्जालमा फिल्म हेरेर दर्शक ग्वार्र ग्वार्रती रुएको भिडियो क्लिप्सहरु फेसबुक र टिकटकमार्फत सार्वजनिक गरियो । ती भिडियोहरु विस्तारै भाइरल भयो । दर्शकले यतिसम्म भन्न थाले, ‘पूर्णबहादुरको सारंगी हेर्न जाँदा आँशु पुछ्न रुमाल र टिश्यू पेपर लैलानुपर्छ रे ।’
तर, वास्तविता अर्कै रहेछ । फिल्म हेरेपछि आँशु बगाउने खाशै देखिएन । तर, सार्वजनिक भएका ती आँशुहरु बनावटी रहेछ । स्रोतका अनुसार फिल्म रिलिज भएको दोस्रो दिन मण्डला थिएटरमा करिब २० जना विद्यार्थीलाई फिल्म हेर्न लगाइयो र आँशु झारेको भिडियो खिचेर सामाजिक संजालमा शेयर गर्न लगाइएको थियो । तिनै भिडियोहरु फिल्म प्रचारको अस्त्र बनाइयो । र, निर्माणपक्ष सफल पनि भएको छ ।
चोरीको आरोप
पूर्णबहादुरको सारंगीको मूलकथा आफ्नो उपन्यासको भएको दाबीसहित ’संग्रामपुर’का लेखक डा शिवशंकर बस्यालले १० बुँदे कथाको प्लट सार्वजनिक गरे । जतिखेर फिल्म हाउसफुल चलिरहेको थियो । यो फिल्मको कथा र निर्देशन दुवै सरोज पौडेलको हो भने पटकथा र संवाद महेश दवाडीको हो ।
तर, बस्यालले फिल्म हेरेपछि ‘पूर्णबहादुरको सारंगी’लाई ‘संग्रामपुर’उपन्यासको मूलकथासँग मिलेको भन्दै दाबी गरेका थिए । उपन्यासमा मूल पात्र रूपमान भरिया रहेको तर पूर्णबहादुरको सारंगीमा पूर्णबहादुर गन्धर्व चरित्रमा रहेपनि बाबु–छोराको सम्बन्ध लगायतका फिल्मको मूल भावसँग मेल खाएको उनको दाबी छ ।
फिल्ममा मूल पात्र पूर्ण अर्थात् विजय बराल र कमल अर्थात् बाल कलाकार र प्रकाश सपूत । पूर्णको सहयोगीमा गन्धर्व नै बनेका छन् मुकुन भुसाल । भरियाको भूमिकामा छन् बुद्धि तामाङ ।
पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसंग, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू उपन्यासको छाया चित्रसँग मिल्छन्’ उनले भनेका छन् । केही प्रसंगहरू बिलकुल विपरीत रूपमा प्रयोग गरिएको पनि उनले बताएका छन् । ‘पूर्णबहादुरको सारंगीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ । तसर्थ यो संयोग होइन, यो नियोजित हो’ उनको भनाइ छ ।
यो फिल्ममा जय बराल, प्रकाश सपुत, अञ्जना बराइली, मुकुल भुसाल, बुद्धि तामाङ, माओत्से गुरूङ लगायतका कलाकारहरूको अभिनय रहेको छ । कलाकारको अभिनयमा भने कुनै खोट लगाउने ठाउँ छैन । बिजय बराल, अन्जना बराइली लगायतको अभिनय दमदार छ । माओत्से गुरुङको छोटो भूमिका भएको पनि राम्रो छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ८ मंसिर २०८१, शनिबार १६:५३
फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ : ताल न बेताल, बेतको लौरी
रोटरी क्लब अफ बागमती काठमाडौंद्वारा करीब ६५ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण
शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति अनिशा खत्रीलाई
शब्दयात्रा प्रकाशनले साहित्यकार तथा पत्रकार आर. सी. विरहीलाई सहयोग गर्ने
नेपाल एअरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
बरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान (विश्व कीर्तिमानी)बाट स्थापित पुरस्कारहरु (सूची)