काठमाडौँ । अमेरिका र इरानबीच युद्धविराम उल्लङ्घनको आरोप-प्रत्यारोपसँगै तनाव फेरि चुलिएको छ। दुवै देशले एकअर्कामाथि युद्धविराम तोडेको आरोप लगाउँदै सैन्य कारबाहीको दाबी गरेका छन् ।
इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को नौसैनिक बलले अमेरिकी हवाई आक्रमणको जवाफस्वरूप क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाएको दाबी गरेको छ । इरानको सरकारी समाचार संस्था आईआरएनएका अनुसार यो कारबाही अमेरिकी आक्रमणको प्रतिउत्तरका रूपमा गरिएको हो ।
इरानी संसद सदस्य इब्राहिम अजिजीले अमेरिका युद्धविराम पालना गर्न प्रतिबद्ध नरहेको आरोप लगाएका छन् । उनले अमेरिका वार्ताकै क्रममा फेरि इरानमाथि आक्रमणमा उत्रिएको भन्दै अमेरिकी राष्ट्रपति वार्ता र युद्धविराम दुवैप्रति प्रतिबद्ध नरहेको टिप्पणी गरेका छन् ।
उनले युद्धविराम उल्लङ्घनको परिणाम अमेरिकाले पछि पछुताउनुपर्ने अवस्था आउने चेतावनीसमेत दिएका छन् ।
यता, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको र अमेरिका त्यसको पूर्ण पालना गरिरहेको बताएका छन् । यदि सम्झौता कार्यान्वयनबारे इरानलाई कुनै असहमति भए वार्ताबाट समाधान खोज्न सकिने, तर हिंसात्मक गतिविधिको जवाफ पनि कडा रूपमा दिइने उनले स्पष्ट पारे ।
अमेरिकाले गएराती करिब एक घण्टासम्म इरानका विभिन्न सैन्य संरचनामाथि आक्रमण गरेको थियो । अमेरिकी सेनाले क्षेप्यास्त्र र मानवरहित हवाई उपकरणका अड्डा तथा तटीय राडार केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्धविराम उल्लङ्घन गरेपछि जवाफी कारबाही गरिएको बताएका छन् ।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार इरानले होर्मुज जलडमरूमध्यमा सिंगापुरको मालवाहक जहाज एमभी एभर लभ्ली माथि मानवरहित हवाई उपकरणबाट आक्रमण गरेको थियो । त्यसपछि क्षेत्रको सुरक्षा अवस्था थप संवेदनशील बनेको अमेरिकाको दाबी छ ।
यद्यपि इरानले भने अमेरिकी दाबी अस्वीकार गर्दै आफ्नो सैन्य कारबाही अमेरिकी आक्रमणको प्रतिरक्षात्मक जवाफ मात्र भएको जनाएको छ । दुवै पक्षका परस्परविरोधी दाबीका कारण क्षेत्रीय तनाव थप बढ्ने चिन्ता व्यक्त गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-06-27
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
नेपालमा पहिलोपटक ISFA 3v3 स्ट्रिट फुटबल विश्वकप छनोट प्रतियोगिता हुने
सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?
विश्वकप फुटबलबाट बाहिरिए यी १६ देश
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
