काठमाण्डौ । सरकारी बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड रुपैयाँभन्दा धेरै बेरुजु थप भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
यसरी देखिएको बेरुजुमध्ये कारबाही गरी टुङ्गो लगाउनुपर्ने रकम ५ खर्ब ५१ अर्ब १ करोड रुपैयाँ पुगेको महालेखा परीक्षकको कार्यालयले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको ६२औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० सम्म ६ खर्ब ६९ अर्ब ८३ लाख रुपैयाँ बेरुजु थियो ।
‘बेरुजु’ भन्नाले प्रचलित कानून बमोजिम पुर्याउनुपर्ने रीत नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको वा ठहर पुर्याइएको कारोबार सम्झनुपर्छ । प्रतिवेदनमा सङ्घीय सरकारी कार्यालयको ३ खर्ब ७५ अर्ब ४७ करोड, स्थानीय २ खर्ब ९ अर्ब २९ करोड, समिति र अन्य संस्थाको १ खर्ब १७ अर्ब ९७ करोड रुपैयाँ बेरुजु रहेको उल्लेख छ ।
आर्थिक वर्ष २०८१÷८२ मा सङ्घीय सरकारी कार्यालयतर्फ सबैभन्दा बढी अर्थ मन्त्रालयको बेरुजु देखिएको छ । अर्थको ७० दशमलव ६१ प्रतिशत बेरुजु रहेको छ । त्यस्तै सबैभन्दा बढी बेरुजु रहेको दोस्रो नम्बरमा भौतिक पूर्वाधार मन्त्रालय रहेको छ । भौतिकको बेरुजु १३ दशमलव ४८ प्रतिशत रहेको छ ।
सात प्रदेशमध्ये मधेश प्रदेशमा सबैभन्दा धेरै बेरुजु देखिएको छ भने बागमती प्रदेशमा कम रहेको छ । मधेशमा २ दशमलव ५७ प्रतिशत र बागमतीमा ० दशमलव ८२ प्रतिशत बेरुजु छ ।
यस्तै आर्थिक वर्ष २०८०÷८१ मा सरकारले अनुमान गरेको तुलनामा ५४ प्रतिशतमात्र वैदेशिक सहायता प्राप्त भएको प्रतिवेदनले औँल्याएको छ । वैदेशिक अनुदान ५४ अर्ब ९४ करोड र वैदेशिक ऋण २ खर्ब १२ अर्ब ७५ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको थियो । तर अनुमान गरिएको तुलनामा झन्डै आधामात्र वैदेशिक सहायता प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-15
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
