
काठमाडौँ, लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदै छ । नेपालमा भएका क्षयरोगका बिरामीमध्ये ४० प्रतिशत बिरामी उपचारको दायरा बाहिर रहेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अनुमान छ । नेपालमा वार्षिक ६८ हजार क्षयरोगका बिरामी हुने गरेको केन्द्रको तथ्याङ्क छ । केन्द्रका अनुसार आर्थिक वर्ष २०८०र०८१ मा ४० हजार ७७६ जना क्षयरोगका बिरामी उपचाररत छन् । उपचारको दायरामा नआउने र लुकेर बस्ने बिरामीको खोजी गर्न केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गरेको केन्द्रकी सूचना अधिकारी तथा नर्सिङ अधिकृत थुमा पुनले बताइन् । यसमध्ये क्षयरोगी बिरामीमा पुरुषको संख्या ६१ प्रतिशत तथा महिलाको संख्या ३९ प्रतिशत छ ।
क्षयरोगका लागि १ अर्ब १५ करोड २० लाख बजेट छुट्ट्याए पनि हाल केन्द्रसँग करिब ९० करोडमात्रै छ । यस्तै, क्षयरोग उपचारमा देशभरका बिरामीको समान पहँुच नहुनु, क्षयरोग उपचार र व्यवस्थापनमा निजी क्षेत्रको अर्थपूर्ण सहभागिता नहुनु लगायत चुनौती रहेको पुनले बताइन् ।
स्वास्थ्य क्षेत्रभित्र र बाहिर रणनीतिक साझेदारहरूबिच सीमित संलग्नता लगायत चुनौती पाइएको छ । नेपालमा क्षयरोगको उपचार निःशुल्क गरिए पनि स्वास्थ्य संस्थासम्म पुग्नका लागि यातायात खर्च आवश्यक पर्ने भएकाले कतिपयले औषधि उपचारमा लापरबाही गरेको विज्ञ बताउँछन् । यो सरुवा रोग भएकाले उपचारविना घरमा बस्दा परिवारका अन्य सदस्यलाई सर्ने सम्भावना बढ्ने छाती रोग विशेषज्ञ डा।दीर्घसिंह बम बताउँछन् । ‘जहाँ गरिबी छ, त्यहाँ टीबी ‘क्षयरोग’छ,’ उनले भने । गरिब मान्छेलाई खान–लाउनकै सकस हुने भएकाले समयमै रोग पहिचान गर्न नसक्दा यो रोग फैलिने गरेको उनको भनाइ छ ।
के हो क्षयरोग ?
क्षयरोग ‘माइकोबेक्टेरियम ट्युबरक्लोसिस’ नामक कीटाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग हो । यो रोगलाई सामान्य भाषामा टीबी भनेर पनि बुझिन्छ । प्रायःजसो यो रोग श्वासप्रश्वासबाट सर्ने छातीरोग विशेषज्ञ डा।दीर्घसिंह बमले बताए ।
‘सामान्यतया क्षयरोग औषधि खायो भने निको हुन्छ,’ उनले भने, ‘यदि कुनै पनि व्यक्तिको खकारमा कीटाणु देखिएको छ भने आफ्नै शरीरभित्र अन्य भागमा पनि सर्न सक्छ । फोक्सोको टीबी लागेको छ भने छालामा, दिमागमा, पेटमा वा हड्डीमा सर्न सक्छ । अर्थात् शरीरको सम्पूर्ण भागमा जान सक्छ ।’
कसरी सर्छ ?
सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नजिक बस्ने व्यक्तिलाई यो रोग सर्न सक्ने डा। बम बताउँछन् । श्वासप्रश्वासबाट कणहरू हावामा निस्कने र त्यसको माध्यमबाट अन्य व्यक्तिमा सर्ने उनले सुनाए ।
‘कुनै व्यक्तिलाई फोक्सोको टीबी छ भने त्यो व्यक्तिले जहाँ–जहाँ थुक्छ, त्यहाँ–त्यहाँ टीबीको कीटाणु हुन्छ,’ उनले भने, ‘हावाको माध्यमबाट त्यो कीटाणु अरूलाई सर्छ ।’
क्षयरोगले शरीरको अङ्गमध्ये सबैभन्दा बढी फोक्सोमा सङ्क्रमण गर्ने उनले बताए । उपचार नपाएमा शरीरको अरू अङ्गमा पनि सर्न सक्ने उनको भनाइ छ । फोक्सोबाहेक शरीरको अन्य भागमा ग्रन्थी, आन्द्रा, पेट, मेरुदण्ड, हाड, प्रजनन, छाला, आँखा र टाउको आदिमा पनि टीबीले सङ्क्रमण हुने उनले उल्लेख गरे ।
लक्षण के ?
क्षयरोगको लक्षण अङ्ग अनुसार फरक हुन्छ । तर सामान्यतया मान्छे दुब्लाउँदै जानु, मन्द गतिको ज्वरो आउनु र खानमा रुचि नहुनु लगायत क्षयरोगको लक्षण हुने डा। बमले बताए । ‘खोकी लाग्ने, रगत आउने यो पछिको लक्षण हो,’ उनले भने, ‘फोक्सोको क्षयरोग भएमा खोकी लाग्ने, दिमागको क्षयरोग भएमा टाउको दुख्ने, पेटको टीबी भएमा दिसा लागिरहने, पेट दुख्ने, दुब्लाउँदै जाने हुन्छ । त्यस कारणले क्षयरोगले कुन अङ्गमा सङ्क्रमण गरेको हुन्छ, सो अनुसार फरक लक्षण हुन्छ ।’
उपचार
क्षयरोग लागेको शङ्का लाग्नासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी निःशुल्क खकार–रगत परीक्षण गर्न सकिन्छ । क्षयरोगको उपचार गरेमा ९५ प्रतिशत निको हुने डा। बमले सुनाए ।
‘क्षयरोग नियमित रूपमा एन्टीबायोटिक औषधि खाँदा पूर्ण रूपमा निको हुन्छ,’ उनले भने, ‘उपचार अवधि भने सङ्क्रमित अङ्ग, रोगको प्रकृति हेरी फरक हुन्छ । समयमा उपचार नहुँदा परिवारका अन्य सदस्य र त्यसबाट अन्त सर्ने सम्भावना अत्यधिक हुन्छ ।’
नेपाल सरकारले ७७ जिल्लामा समुदायस्तरका स्वास्थ्य चौकी, अस्पताल, स्वास्थ्य क्षेत्रका युनिभर्सिटी लगायतमा निःशुल्क औषधि उपलब्ध गराएको डा। बमले बताए । ‘बालबालिकादेखि वृद्धसम्मका लागि औषधि निःशुल्क छ,’ उनले भने ।
औषधि खाएर आफूलाई ठिक भएको महसुस गर्ने बित्तिकै बिचमै औषधि छाड्ने गर्दा केही समयको लागि निको भएको जस्तो भए पनि पछि जटिल समस्या देखा पर्ने उनले उल्लेख गरे । ‘शरीरको भित्री भागमा भएको ब्याक्टेरिया नास भैसकेको हुँदैन । त्यसको परिणामस्वरूप झन् कीटाणुहरू एन्टीबायोटिकविरुद्ध बलियो भएर आउँछ,’ उनले भने, ‘प्रयोग गरिरहेको औषधिले समेत काम नगर्ने हुन्छ । त्यस्ता बिरामीको लागि लामो समयसम्मका लागि कडा औषधि चलाउन पर्ने अवस्था सिर्जना हुन्छ ।’
क्षयरोगका बिरामीले औषधि कति समय खानुपर्छ ?
सरकारले क्षयरोग लागेका बिरामीलाई पूरा मात्रामा औषधिहरू निःशुल्क वितरण गर्छ । स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी यी औषधि नियमित रूपमा बिचमा नछुटाई ६ देखि ८ महिनासम्म सेवन गरेमा क्षयरोग पूर्ण रूपमा निको हुने डा। बमले सुनाए । औषधि खाँदै गर्दा बिचमा छोडेमा जटिल समस्या आउन सक्ने उनको भनाइ छ ।
यो रोग लागेमा सुर्तीजन्य पदार्थ, लागु औषध वा पदार्थ र मादक पदार्थ सेवन गर्नु नहुने डा. बमले सुझाए । नेपालमा क्षयरोगका बिरामी उपचारका पहुँचको दायरामा ल्याउन संघ, प्रदेश र स्थानीय तहको महत्त्वपूर्ण भूमिका हुन्छ । तीनै तहका सरकारले एकअर्कामा समन्वय गरी उपचारको सहज पहुँच पुर्याउनु पर्ने विज्ञ बताउँछन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १० चैत्र २०८१, सोमबार ०७:५०
Archaeology held a press conference to announce the return of 21 artefacts

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्दै, यस्ता छन् कार्यसूची

काठमाण्डौको वायु विश्वकै प्रदूषित, विषाक्त ग्यासको मात्रा उच्च

RPP holds torch rally protesting arrest of Mishra and Rana

दिल्लीले हैदरावादलाई ७ विकेटले

प्रदर्शनमा संलग्न १११ जना पक्राउ
