काठमाडौं (एजेन्सी) । लिबियामा ड्यानियल आँधीसँगै परेको मुसलधारे वर्षाले भीषण बाढी निम्त्याउँदा ज्यान गुमाउनेको सङ्ख्या विरोधाभासपूर्ण आइरहेका बेला पूर्वी शहर डेर्नामा मात्र ११ हजार तीन सय जनाले ज्यान गुमाएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
लिबियाको रेड क्रिसेन्टलाई उद्धृत गर्दै संयुक्त राष्ट्रसङ्घले अद्यावधिक गरेको विवरणअनुसार उक्त शहरका १० हजार एक सय जना अझै बेपत्ता छन् भने डेर्ना बाहेक अन्यत्र एक सय ७० जनाको मृत्यु भएको छ ।
खोज तथा उद्धार टोली पीडितलाई जीवित फेला पार्ने आशमा हिलोमा खनिखोस्री तथा भग्नावशेषमा खोजी गरिरहेकाले मृतकको सङ्ख्या अझ बढ्ने अपेक्षा गरिएको उक्त विश्वसंस्थाले बताएको छ । यसअघि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का अधिकारीहरूले तीन हजार नौ सय ९८ शव भेटिएका जनाएको थियो ।
गत आइतवार दिउँसो आँधी आएसँगै मुसलधारे वर्षा हुँदा दुईवटा नदीमा बाँधिएका दुई वटा बाँध भत्केपछि बाढीले गाउँ–शहरका भवन र तिनमा बसेका सबैलाई बगाएको थियो । बाढीको विनाशबाहेक डेर्नामा केही देखिदैन ।
सामाजिक सङ्घसंस्थाका प्रतिनिधि हिलोमा पुरिएका लाश निकाल्न र तिनको व्यवस्थापनमा व्यस्त छन् । डेर्नामा मानवीय अवस्था भयावह रहेको तथा पिउने पानीको गम्भीर समस्या भएको उद्धारकर्मीहरूले बताएका छन् ।
बाढीबाट सर्वाधिक प्रभावित पूर्वी शहर डेर्नामा कम्तीमा ३० हजार लिबियाली घरबारविहीन भएका आप्रवासनसम्बन्धी अन्तरराष्ट्रिय सङ्गठन (आईओएम)ले गत शुक्रबार बताएको थियो ।
नब्बे हजार जनसङ्ख्या भएको डेर्नामा अहिले जताततै शवमात्र छरिएका र उद्धारकर्ता एवं सामाजिक सङ्घसंस्थालाई शव व्यवस्थापन ज्यादै चुनौतीपूर्ण बनेको छ । सुडान र इजिप्टका चार सय विदेशीको पनि बाढीमा मृत्यु भएको छ । हालसम्म तीन हजार एक सय ९० जनाको अन्त्येष्टि गरिएको जनाइएको छ ।
यसैबीच, पूर्वी लिबियाको बन्दरगाह शहर डेर्नाका प्रमुख अब्दुलमेनम अल–गैथीधच अनुसार बाढीमा परी १८ हजारदेखि २० हजार मानिसको मृत्यु भएको छ । दुई वटा बाँध फुट्दा डेर्ना नगर र आसपासका जिल्लाका बासिन्दाको तथ्याङ्कमा आधारित भएर उनले त्यति धेरै लिबियालीले ज्यान गुमाएको बताएका हुन् ।
डेर्ना र वरपरका जिल्लामा भएको अकल्पनीय विनाशका आधारमा मृतकको सङ्ख्या २० हजारको हाराहारीमा पुगेको अल–अरेबिया टिभीलाई उनले बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-17
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
