ट्रम्पको निर्णयले आप्रवासीलाई संकट, यस्ता छन् अन्य निर्णयहरु

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरेलगत्तै विभिन्न आदेशमा हस्ताक्षर गरेका छन् । विशेषगरी उनले सीमा सुरक्षा, आप्रवासी नीति, जलवायु परिवर्तनसम्बन्धी लगायत विभिन्न आदेशमा हस्ताक्षर गरेका छन् ।

अमेरिकी सञ्चारमाध्यमहरुले राष्टपति ट्रम्पले चार वर्षअघि संसद भवनमा आक्रमण गरेको अभियोगमा सजाय काटिरहेकाहरूलाई आममाफी दिएका छन् । सोमबार राष्ट्रपतिको शपथ लिएपछि २०२१ जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणको घटनामा सजाय काटिरहेका १५ सय अभियुक्तहरूलाई माफी दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।

त्यतिबेला राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गर्न बसेको कंग्रेसको बैठकलाई बिथोल्न बैठक चलिरहेको हलमा प्रवेश गरी आक्रमण गरेका थिए । त्यतिबेला संसद भवनमा आक्रमण गर्नेहरू ट्रम्पकै समर्थक रहेको भनिएको थियो । ट्रम्पले राष्ट्रपति निर्वाचित भएपछि ती अभियुक्तहरूलाई रिहा गर्ने बताउँदै आएका थिए ।

ट्रम्पले अमेरिका र मेक्सिकोको सिमानमा राष्ट्रिय आपतकाल घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका छन्। यस्तो आदेशले अब त्यहाँ सेना पठाउन अनुमति दिने भनिएको छ ।

त्यस्तै उनले अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने नीतिको अन्त्य गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन्। यो आदेश कार्यान्वयनमा भने अदालती लडाईं सुरू हुनसक्ने समाचार संस्था रोयटर्सले जनाएको छ ।

त्यस्तै आप्रवासी नीतिहरूलाई कडा पार्ने आदेशहरू हस्ताक्षर गरेका छन् जसमा गैरकानुनी रूपमा अमेरिकामा बसिरहेकाहरूलाई उनीहरूकै देश फर्काइने भनिएको छ । उनले आर्टिफिसियल इन्टेलिजेन्स र विद्युतीय सवारी साधनहरूलाई नियन्त्रण गर्ने नीतिहरूको पनि खारेज गरेका छन् ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: ८ माघ २०८१, मंगलवार १०:४७