पोखरी संरक्षण योजना मार्फत भक्तपुर नगरपालिकाले बेवारिसे पोखरीलाई पुनर्जीवन दिएको छ।
पोखरीको शहर भक्तपुरमा रहेका अनेकौं पोखरी बेवारिसे र परित्यक्त अवस्थामा पुगेपछि भक्तपुर नगरपालिकाले सम्पदा संरक्षणको कार्यक्रम ल्यायो। त्यही क्रममा पोखरी ब्युँताउने योजना बन्यो। भक्तपुर नगरपालिकाले संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठको संयोजकत्वमा पोखरी अध्ययन अनुसन्धान समिति गठन गर्यो ।
समितिले पोखरीको अध्ययन गर्दै जाँदा भक्तपुर-१ मा रहेको भाज्यापोखरी काठमाडौंको रानीपोखरीभन्दा पनि पुरानो र ऐतिहासिक भएको तथ्य फेला पर्यो। “पोखरीमा रहेको भग्नावशेषमा भेटिएका इँटा, मूर्ति तथा पोखरीसँग सम्बन्धित सम्पदाको अध्ययनपछि यो पोखरी काठमाडौंको रानीपोखरीभन्दा पाँच सय वर्षअघिको भएको देखियो,” श्रेष्ठले भने, “भाज्यापोखरीको मध्यभागमा मन्दिर थियो भन्ने कुरा यसअघि जानकारीमा थिएन।”
मन्दिर मल्लकालको उत्तरार्धमा जीर्णोद्धार अभावमा भत्किएर विस्मृतिमा परेको थियो। यसै कारण मल्लकालपछिका पुस्ताले त्यहाँ मन्दिर थियो भन्ने बिर्से। यसको विनाशमा प्राकृतिक र राजनीतिक दुवै कारण भएको हुन सक्ने श्रेष्ठको अनुमान छ। शाहकालमा यो मन्दिर ओझेलमा परेको उनले जनाए। पोखरीको मध्य भागमा अवस्थित शिखर शैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको छ।

उनका अनुसार, नेपाल संवत् ८०१ (विक्रम संवत् १७३८) मा नेपालमण्डलमा ठूलो भूकम्प गएको थियो। भूकम्पमा परी मन्दिर भत्किएको र पछि राजा भएका जितामित्र मल्ल र उनका छोरा भूपतीन्द्र मल्लको ध्यान जीर्णोद्धार, पुनर्निर्माण र नवनिर्माणतिर गएको देखिन्छ। “भक्तपुरको सौन्दर्यीकरणमा पनि यिनै बाबुछोराको योगदान देखिन्छ,” श्रेष्ठ भन्छन्।
भक्तपुर नगरपालिकामा पुराना पोखरी पुनर्निर्माण गर्ने क्रममा भएका पोखरीसँगै अन्य तीन वटा पोखरीले पनि जीवन्तता पाएका छन्।
सबैलाई खुल्यो रानीपोखरी
भक्तपुरका राजा जगज्योति मल्लले १६८७ सालमा रानी राजलक्ष्मीको सम्झनामा पोखरी बनाउन लगाएको बताइन्छ। त्यसको करीब ४० वर्षपछि मात्र प्रताप मल्लले काठमाडौंको रानीपोखरी बनाउन लगाएका थिए।
सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालय परिसरमा रहेको यो पोखरी २०४० सालतिर सैनिक तालीम केन्द्र बनेपछि नागरिकको पहुँच बाहिर पर्यो। नागरिकलाई त्यहाँ आउजाउमा रोक लगाइयो।
कुलदेवताको पूजा गर्न चाहनेलाई दुई दिन जान दिइए पनि अन्य दिन जान बन्द गरियो। सेनाको नियन्त्रणमा रहेको पोखरी खुला गर्न स्थानीयले वर्षौंदेखि माग गर्दै आएका थिए।

नगरपालिकाको पहलमा सर्वसाधारणका लागि पुनः खुला गर्ने गरी मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएको छ। रानीपोखरीलाई पनि पर्यटकीय स्थलका रूपमा विकास गर्ने योजना छ।
नगरपालिकाको सम्पदा शाखा प्रमुख रामगोविन्द श्रेष्ठ भक्तपुर नगरपालिकाभित्र अहिले जम्मा ३२ वटा पोखरी रहेको बताउँछन्। “भाज्या पुखु, रानी पुखु बाहेक नगरपालिकाले लोप भइसकेका भक्तपुर-६ को भोलाछे पुखु र भक्तपुर-८ को जेला पुखुलाई पनि पुनर्निर्माण सम्पन्न गरिसकेको छ,” उनले भने।
नगरपालिकाभित्र रानी पुखु (पोखरी), सिद्ध पुखु, भाज्या पुखु, न पुखु, काल ढचा, टेखा पुखु, भन (भन्डारखाल) पुखु, नाग पुखु, मंगल कुण्ड, देगमना पुखु, लैंको पुखु, मेलुखेल पुखु, कुमारी पुखु, व्यासी-१ पुखु, व्यासी-२ पुखुको पुनर्निर्माण गरिएको छ ।
यसै गरी भोलाछें पुखु, क्वाठण्डौं पुखु, अंचा पुखु, नाग पुखु, बेखाल पुखु, याता पुखु, कमल पुखु, लामगाल पुखु, खंचा पुखु, चोर्चा पुखु, संला गणेश पुखु, जेला पुखु, गोङ्ग पुखु, कमलपोखरी पुखु, च्याम्हासिंह पुखु रहेको श्रेष्ठले बताए। यी सबै पुखुलाई संरक्षण गरेर पहिलाकै अवस्थामा ल्याउन संरक्षणका कार्य भइरहेको उनले जनाए।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
