अपरिहार्य स्थानीय अभिलेखालय

वर्चस्वशाली इतिहास बदल्न र इतिहासको स्थानीकरणका लागि स्थानीय अभिलेखालय स्थापना र सबलीकरणको विकल्प छैन।

मानिसले निजी र सामूहिक सम्झना बलियो राख्न पुराना चिजबिजको जतन गर्छ। भविष्यमा उपयोगी हुने ठानेर अनमोल वस्तु र सूचना (अभिलेख)को सङ्कलन गर्ने सामूहिक प्रयास साम्राज्य युगदेखि आजसम्म गरिँदै आएको छ।

धन र हैसियत जस्तै समाजमा पहिले अभिलेखको पनि असमान वितरण थियो। राज्यव्यवस्था बलियो भएसँगै राजकीय र प्रतिरोधी अभिलेखालय दुवै जन्मिए। व्यावसायिक, धार्मिक र भौगोलिक उद्देश्य तथा विपद् प्रतिकार्य र कौतुक शान्त गर्ने क्रममा अभिलेख सङ्कलन र संरक्षणको परम्परा जन्मिए। राज्यव्यवस्था इतर समाजका फरक फरक अवयवले पनि भिन्न किसिमका अभिलेख सुरक्षित राखे।

समय, स्थान, विषय र लक्षित समुदाय अनुरूप बनेका अभिलेखालयका सङ्कलन र संरक्षण नीति फरक थियो। बिस्तारै अभिलेखालय समाजको सबै तप्का र जनसमूहको साझा स्मृति जगाउने थलोको रूपमा विकास भयो। आधुनिक अभिलेखालयको विकासक्रममा औपचारिक केन्द्रीकरण भने एउटा साझा प्रवृत्ति रह्यो।

अभिलेखालयको केन्द्रीकृत ढाँचामा भौगोलिक र सामाजिक टाढा-नजिक छँदै छ, आर्थिक र व्यवस्थापकीय तलमाथि पनि छ। इतिहास बन्ने ठाउँबाट अभिलेख हराउँछन्। एउटा काल्पनिक इतिहासको खेस्रा नै समाजको अतीत जस्तो देखापर्छ। यो ढाँचाको विकल्प खोज्नु आवश्यक छ।

वर्तमान अभ्यास

सबैजसो घरमा निजी प्रयोजनका लागि केही कागजपत्र महत्त्वपूर्ण ठानिएको हुन्छ। घरैपिच्छे व्यक्तिगत र पारिवारिक उपयोगका दृष्टिले गौण लाग्ने, सरसफाइ गर्दा फालिने अथवा महत्त्वपूर्ण ठानेर जोगाइने सामग्री नै अभिलेखालयको स्वरूप लिन सक्ने संग्रह हो।

सरकारी, गैरसरकारी, सहकारी र पारम्परिक संस्थामा पनि अनेक अभिलेख पाइन्छन्। सरकारी ‍वा गैरसरकारी प्रशासनिक कार्यका लागि बनेका कागजात सबै सार्वजनिक अभिलेख हुन्। डिजिटल माध्यमबाट उत्पादित सामग्रीलाई पनि अभिलेखका रूपमा ग्रहण गर्नुपर्ने हुन्छ। डिजिटल आर्काइभको स्थापना र संरक्षणको सन्दर्भमा भौतिक र विद्युतीय दुवै संरचनालाई अभिलेखालयको अभिन्न हिस्सा मान्नुपर्ने हुन्छ।

पुनरुपयोग गर्ने सम्भावना तौलेर प्रायः अभिलेख संरक्षणका मापदण्ड बनाइन्छन्, भविष्यको ऐतिहासिक जिज्ञासालाई ध्यानमा राखेर बनाइँदैनन्। पछिका पुस्ताले नेपाली समाजको एउटा यात्रालाई बुझ्नेछन् भनेर अभिलेख अधिकारीहरूले तिनको सङ्कलन र संरक्षणका निम्ति पहल गरेको प्रायः भेटिँदैन।

अभिलेखको सङ्कलन र संरक्षणबारे बहस जगाउँदा पारम्परिक पुस्तकालय र अहिले विस्तृत हुँदै गएको ई-पुस्तकालयलाई छाड्नु हुँदैन। सामान्यतः छापा सामग्रीको संग्रह पढ्ने व्यवस्था मिलाएको देखिए पनि नेपालको सन्दर्भमा पुस्तकालयलाई अभिलेखालयमा रूपान्तरण गर्ने सम्भावना छ

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०९:०४