अष्ट्रेलियाको सामुद्रिक किनारामा हालै एउटा ठूलो आकारको धातुको डल्लो वस्तु फेला पर्यो । उक्त वस्तु के हो र कहाँबाट आयो भन्ने बारेमा प्रश्न उठिरहँदा त्यो हालै भारतले प्रक्षेपण गरेको रकेटको टुक्रा पनि हुनसक्ने अड्कलबाजी भैरहेको छ ।
यसैबीच भारतको अन्तरिक्ष कार्यक्रमका प्रमुखले चाहिं सो धातुका विषयमा कुनै रहस्य नरहेको भन्दै उक्त वस्तु भारतीय रकेटको हुन पनि सक्ने र नहुन पनि सक्ने बताएका छन् ।
बीबीसीसँगको कुराकानीमा भारतीय अन्तरिक्ष कार्यक्रम इसरोका प्रमुख एस सोमनाथले भनेका छन् – यसको परीक्षण नगरेसम्म यो हाम्रो हो वा होइन भनेर पुष्टि गर्न सकिंदैन ।
यहीँ सप्ताहन्तमा यो वस्तु पर्थभन्दा २५० किलोमिटर उत्तरमा अवस्थित ग्रीन हेड तटीय क्षेत्रमा फेला परेको थियो । त्यसबेला देखिनै यसका विषयमा अनेक खालका अनुमानहरु भैरहेका छन् ।
कतिपयले यो धातुको टुक्रा भारतको चन्द्रयान अभियानसँग सम्बन्धित रहेको पनि दाबी गरेका छन् । तर इसरो प्रमुखले भने यस्तो दाबीलाई खारेज गरिदिएका छन् ।
उक्त बेलनाकार वस्तु करिब अढाई मिटर चौडा तथा तीन मिटर लामो छ । समुद्रमा यो वस्तु देखिएसँगै त्यसलाई हेर्न जानेहरुको भीड नै लागेको छ ।
यो वस्तुलाई सुरुमा त बेपत्ता मलेसियाली विमान एमएच ३७० को अवशेष भन्ने ठानिएको थियो । सन् २०१४ मा यो विमान २३९ जना यात्रुसहित बेपत्ता भएको थियो ।
तर विज्ञहरुले यो टुक्रा कुनै व्यवसायिक जहाजको हिस्सा नभएको र सम्भवतः विगतमा कुनै समयमा हिन्द महासागरमा खसेको कुनै रकेटको टुक्रा हुनसक्ने बताएका छन् ।
अष्ट्रेलियाली अन्तरक्ष एजेन्सीले पनि यो कुनै विदेशी स्पेस लञ्च भेहिकल अर्थात् रकेटबाट खसेको हुनसक्ने बताएको छ ।
अष्ट्रेलियाली अन्तरिक्ष एजेन्सीको उत्त भनाइपछि उक्त टुक्रा भारतीय चन्द्रयान ३ को पिएसएलबी रकेटको इन्धन ट्यांक हुनसक्ने लख काट्न थालियो ।
भारतीय अन्तरिक्ष संस्था इसरोले नियमित रुपमा पोलार स्याटेलाइट लञ्च भेहिकल्स अर्थात् पिएसएलबीको प्रयोग गर्ने गर्दछ । चन्द्रयानको प्रक्षेपणमा पनि पीएसएलबी रकेटकै प्रयोग गरिएको थियो ।
तर विज्ञहरुले उक्त वस्तु महिनौंसम्म पानीभित्र रहेको र बल्ल तटमा आएको हुँदा त्यो चन्द्रयान ३ को रकेट हुन नसक्ने बताएका छन् । जुन तस्वीर सार्वजनिक भएको छ त्यसले पनि यो भनाइलाई बल पुर्याउँछ ।
इसरो प्रमुख सोमनाथले पनि उक्त वस्तु कुनै रकेटको हिस्सा हो भन्नेमा दुईमत नरहेको बताउँदै भनेका छन्- यो पीएसएलबीको हिस्सा हुनसक्छ वा अरु कुनै रकेटको । जबसम्म हामीले यसलाई हेर्दैनौं र यसको परीक्षण गर्दैनौं तबसम्म यसको पुष्टि गर्न सकिंदैन ।
अष्ट्रेलियाको प्रशासनले भने अहिलेसम्म यसको बारेमा कुनै थप जानकारी सार्वजनिक गरेको छैन ।
इसरो प्रमुखले उक्त वस्तु लामो समयसम्म समुद्रमा तैरिएको र अन्ततः अष्ट्रेलियाको तटमा पुगेको हुनसक्ने बताएका छन् ।
साथै उक्त धातुको टुक्राबाट कुनै खतरा नरहेको पनि उनले बताएका छन् ।
उता अष्ट्रेलियाका अधिकारीहरुले भने यस वस्तुलाई खतरनाक नै मानेको र पुलिसहरुले आम मानिसलाई सो वस्तुबाट टाढै रहन भनेको बताएका छन् । त्यसमा विषालु पदार्थ पनि हुनसक्ने कतिपय विज्ञहरुले आशंका गरेका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ श्रावण २०८०, आईतवार ०७:२८
काठमाडौंमा भूकम्पको धक्का महसुस
बालगायक सचिन परियारको निधन
ओलीमाथि भीम रावलको आरोप नै आरोप, ७४ प्रश्न (पूर्णपाठ)
बसले थिच्दा सर्लाहीमा सशस्त्र प्रहरी इन्स्पेक्टर विजय कुमार तुलाधरको मृत्यु
परम्परागत खानपान बनाउने सिपयुक्त समूहहरुलाई तालिम प्रदान गर्न उपप्रमुख सुनिता डंगोलको निर्देशन
वसन्तपुरमा मनाइयो राष्ट्रिय टोपी दिवस (तस्बिरसहित)