मनसुन सक्रिय : यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुन पुनः सक्रिय देखिएको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका अनुसार पानी पार्ने प्रणाली (मनसुनको न्यूनचापीय रेखा) सरदर अर्थात् भारततर्फ नै अवस्थित छ ।

आइतबार आज देशभर साधारणतया बदली रहने महाशाखाले जानकारी दिएको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाड र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आइतबार दिउँसो कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति देशभर साधारणतया बदली रहने महाशाखाले जानकारी दिएको छ ।
देशका पहाडी भू–भागका केही तथा तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
यस्तै, मौसम विज्ञागका अनुसार अहिले बर्दिया र झापामा पछिल्लो तीन घन्टादेखि भारी वर्षा भइरहेको छ । बर्दियाको रम्भापुरमा पछिल्लो तीन घन्टामा ४९.८ मिलिमिटर र झापाको केचनामा १०८.२ मिलिमिटर वर्षा भएको छ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-09-14