काठमाडौं (एजेन्सी) । चीनले विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध निर्माण गर्न स्वीकृति दिएको छ । तिब्बती पठारको पूर्वी किनारमा रहेको यार्लुङ जाङबो नदीमा बन्ने यो बाँध र जलविद्युत आयोजना संसारकै ठूलो हुने विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अहिले पनि संसारकै ठूलो बाँध र जलविद्युत परियोजनाको रुपमा चीनकै थ्री गर्जेज बाँध रहेको छ ।
थ्री गर्जेजले २२ हजार पाँच सय मेगावाट बिजुली उत्पादन गर्छ । अब तिब्बतमा बन्ने नयाँ आयोजना थ्री गर्जेजभन्दा तीन गुणा ठूलो हुनेछ । यसले ३० करोड जनसङ्ख्याको विद्युत् माग पूरा गर्ने खबरमा उल्लेख छ । चीनको पावर कन्स्ट्रक्सन कर्पले सन् २०२० मा दिएको अनुमान अनुसार नदीको तल्लो भागमा निर्माण हुने यो बाँधले वार्षिक तीन खर्र्ब किलोवाट घण्टा बिजुली उत्पादन गर्न सक्छ ।
यो परियोजनाले चीनको कार्बन तटस्थताका लक्ष्यहरू पूरा गर्न, इन्जिनियरिङ उद्योगहरूलाई प्रोत्साहित गर्न र तिब्बतमा रोजगारी सिर्जना गर्न प्रमुख भूमिका खेल्ने चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । यार्लुङ झाङबो नदीलाई दुई किलोमिटर तल झारेर बिजुली उत्पादन हुनेछ । जम्मा ५० किलोमिटर लम्बाई प्रयोग गरेर नदीलाई दुई किलोमिटर तल झार्नु एउटा कठिन वैज्ञानिक र इन्जिनियरिङ परीक्षण हुने विश्लेषकले बताएका छन् ।
थ्री गर्जेजको लागत झन्डै ३५ अर्ब डलर रहेकोमा तिब्बतमा बन्ने संसारकै ठूलो बाँध र जलविद्युत आयोजनाको लागत एक खर्ब डलर हुन सक्ने अनुमान छ । थ्री गर्जेज आयोजना बन्दा १४ लाख जना मानिस विस्थापित भएकोमा नयाँ परियोजनामा कति मानिस विस्थापित हुन्छन् भनेर चीन सरकारले सार्वजनिक गरेको छैन ।
भारत र बंगलादेशले बाँधको बारेमा चिन्ता व्यक्त गरेका छन् । परियोजनाले स्थानीय पारिस्थितिकीय प्रणाली मात्र नभई नदीको प्रवाहलाई पनि परिवर्तन गर्न सक्ने उनीहरुको चिन्ता छ । यार्लुङ झाङबो नदी तिब्बत छोडेर दक्षिण भारतको अरुणाचल प्रदेश र आसाम हुँदै बङ्गलादेशमा बग्दा ब्रह्मपुत्र नदी बन्छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १२ पुष २०८१, शुक्रबार १०:४८
बुद्ध एअरको आपतकालीन ढोका खोल्ने दुई यात्रुलाई दुई लाख जरिवाना
काठमाडौंमा भूकम्पको धक्का महसुस
बालगायक सचिन परियारको निधन
ओलीमाथि भीम रावलको आरोप नै आरोप, ७४ प्रश्न (पूर्णपाठ)
बसले थिच्दा सर्लाहीमा सशस्त्र प्रहरी इन्स्पेक्टर विजय कुमार तुलाधरको मृत्यु
परम्परागत खानपान बनाउने सिपयुक्त समूहहरुलाई तालिम प्रदान गर्न उपप्रमुख सुनिता डंगोलको निर्देशन