पाठेघरको क्यान्सर रोकथामका लागि परीक्षण गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान गर्ने भएको छ । मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य कल्याण महाशाखाले देशभरका ३० देखि ४९ वर्षसम्मका महिलामा पाठेघरको मुखको क्यान्सर भए नभएको परीक्षण गर्ने भएको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमितामा महिलामा हुने पाठेघर तथा स्तनसम्बन्धी क्यान्सर रोकथामका लागि देशैभर अभियानका रुपमा क्रिनिङ थाल्ने उल्लेख थियो । यसै अनुसार फागुन महिनाभर देशैभर एकै साथ महिलाहरुमा क्यान्सरसम्बन्धी परीक्षण गर्न लागिएको महाशाखा प्रमुख डा. विवेककुमार लालले जानकारी दिए ।

क्यान्सरको उपचारसँगै लाग्न नदिन समयमै परीक्षण गरी रोकथाम गर्ने मन्त्रीज्यूको प्राथमिकता छ,’ लालले भने , त्यसै अनुसार यस वर्ष अभियानकै रुपमा एकै साथ परीक्षण गर्न लागेका हौँ । यस वर्ष अभियानका रुपमा दुई लाख ५० हजार महिलाको परीक्षण गरिने उनले जानकारी दिए । नेपालमा सन् २०२२ कुल मृत्यु भएका १४ हजारमध्ये पाठेघरको मुखको क्यान्सरबाट ज्यान जानेको संख्या ७ हजार ७ सय ६८ रहेको ग्लोबल क्यान्सर अब्र्जभेटरीको तथ्यांकमा छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२२ मा मात्र नेपालमा पाठेघरको मुखको क्यान्सरका २ हजार एक सय ६९ तथा स्तनसम्बन्धीदुई हजार दुई सय ५५ नयाँ बिरामी भेटिएका छन् । हाल नेपालमा हरेक दिन ४ जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । यसैगरी अब्र्जभेटरीका अनुसार विश्वभर पैतिएक लाख रोगीमा ७ जनाको ज्यान जाने गरेकामा नेपालमा झन्डै ९ जनाको यस्तो क्यान्सरबाट ज्यान जाने गरेको छ । तर समयमै परीक्षणबाट समस्या पहिचान भएमा रोग निको हुने विज्ञहरुले बताउने गरेका छन् ।

पाठेघरको क्यान्सरबाट हुने ठूलोस्तरको मृत्यु रोकेर स्वास्थ्य जोगाउन पहल गर्ने मन्त्री पौडेलले घोषणा गरेका थिए । सोहीअनुसार मन्त्रालयले पाठेघर तथा स्तनको क्यान्सर नियन्त्रणलाई प्राथमिकता दिएर यस वर्ष कार्यक्रम अघि बढाएको छ । क्यान्सरविरुद्ध १६ लाख किशोरीलाई निः शुल्क खोप यस अघि मन्त्रालयले योजनाअनुसार विश्व क्यान्सर दिवसका दिन माघ २२ गतेबाट दुई सातासम्म १६ लाख किशोरीविरुद्धको निःशुल्क खोप अभियानसमेत सञ्चालन गर्दैछ ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: २७ मंसिर २०८१, बिहीबार ०९:१७