मार्सल कानून लागू गर्ने असफल प्रयासपछि दक्षिण कोरियाका राष्ट्रपतिविरुद्ध महाभियोग प्रस्ताव

काठमाडौं (एजेन्सी) । दक्षिण कोरियाली सांसदहरूले राष्ट्रपति युन सुक येओलविरुद्ध महाभियोगको प्रक्रिया अघि बढाएका छन् । राष्ट्रपति युनले विश्वलाई चकित पार्ने गरी मंसिर १९ मा मार्सल कानून लागू गरेका थिए । तर त्यसको केही घण्टामा नै उनले सैन्य शासन लागू हुने मार्सल कानून फिर्ता गर्नुपरेको थियो ।

राष्ट्रपतिको घोषणाको दुई घण्टा पनि नबित्दै दक्षिण कोरियाली सांसदहरूले राष्ट्रिय सभा (संसद्) मा प्रवेश गरेर निर्णय रोक्न मतदान गरेका थिए ।संसदमा उपस्थित सबै एक सय ९० जना सांसदले मार्सल कानूनविरुद्ध मतदान गरेपछि राष्ट्रपति युनले आफ्नो निर्णय उल्टाउने घोषणा गरेका थिए ।

त्यसपछि सांसदहरूले राष्ट्रपति युनविरुद्ध महाभियोगको प्रक्रिया शुरू गरेका हुन् । राष्ट्रपति युनले दक्षिण कोरियालाई उत्तर कोरियाको कम्युनिस्ट शक्तिहरूबाट जोगाउन र राज्यविरोधी तत्त्वहरूलाई परास्त गर्न मार्सल कानून आवश्यक भएको दाबी गरेका थिए ।

सांसदहरूले अब आउँदो शुक्रवार वा शनिवार राष्ट्रपतिविरुद्धको महाभियोगको प्रस्तावमा मतदान गर्ने सम्भावना रहेको बताइएको छ । संसद्को दुई तिहाइ बहुमतबाट महाभियोग अनुमोदन भएमा राष्ट्रपति युनले संवैधानिक अदालतमा मुद्दाको सामना गर्नुपर्नेछ । अदालतले पनि महाभियोग पारित गर्‍यो भने त्यसको ६० दिनभित्र नयाँ चुनाव हुन्छ ।

यसैबीच दक्षिण कोरियाका रक्षामन्त्री किम योङ–ह्युनले मार्सल कानून लागूको सम्पूर्ण जिम्मेवारी लिँदै राजीनामा दिएको छ । उनले विज्ञप्ति निकालेर भ्रम फैलाउने र दुःख दिने काम गरेकोमा नागरिकसँग माफी मागेको छ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2024-12-05