— हरि गोपाल प्रधान
काठमाडौं । प्रकृतिले नेपाललाई धेरै कुरा दिएको छ । नेपालीमा इच्छाशक्ति भयो र दूरदृष्टि राखियो, त्यसमा विज्ञान र प्रविधिलाई जोडियो र अलिकति आर्थिक लगानी पनि गरियो भने प्रकृतिका त्यस्ता उपहारहरूको उपयोग गरेमा नेपालको विकास नहुने कुनै शङ्का छैन । यसको प्रत्यक्ष उदाहरण हो चन्द्रागिरिकेबलकार । चन्द्रागिरि र केबलकार अहिले काठमाडौँ उपत्यकामा सर्वाधिक लोकप्रिय पर्यटनस्थल बनिसकेको छ ।
१२ वर्षअघि परिकल्पना गरिएको चन्द्रागिरिकेबलकारको परियोजना भूकम्प र नाकाबन्दीजस्ता अवरोध हुँदाहुँदै पनि अघि बढेको थियो । त्यही परिकल्पनालाई सार्थकता दिने क्रममा पत्थरजस्तो डाँडोलाई मिहिनेत र सीप लगाएर अहिले आकर्षक पर्यटकीय गन्तव्य बनाइएको छ ।
२०६६ सालमा केबलकार निर्माण गर्न प्रारम्भ गरिएको थियो । अनौपचारिक रूपमा केबलकार चल्न थालेको ७ महिना हालसम्मको अवधिमा धेरै व्यक्तिले केबलकार चढिसकेका छन् । यसबाट यो केबलकार कति लोकप्रिय र आकर्षक छ भन्ने देखिन्छ ।
यहाँ केबलकारको बेस स्टेसनमा रेस्टुरेन्ट र ब्रान्डेड पसल पनि छन् भने २५५० मिटर उचाइ रहेको टप स्टेसनदेखि माथि भालेश्वर महादेव मन्दिर, बहुउपयोगी हल, रेस्टुरेन्ट, घोडाचढी, बालबालिकाका लागि उद्यान र भ्यु टावर आदि पनि रहेका छन् । केबलकार बाहेक चन्द्रागिरिमा लुकेको प्राकृतिक सौन्दर्यलाई अनुभव गर्ने अर्को कुनै वैकल्पिक माध्यम अहिलेसम्म देखिएको छैन । थानकोटको गोदामदेखि केबलकार चढेर ९ मिनेटको अवधिमा डाँडाको टुप्पोमा पुग्न सकिन्छ र त्यहाँबाट काठमाडौँ सहरको सौन्दर्य हेर्न सकिन्छ ।
त्यहाँ क्याफे फाउन्टेन छ । बिहानको खाजा, दिउँसोको खाना अथवा रातिको भोजनका लागि चाहिने सम्पूर्ण परिकारहरू पस्कने क्याफे फाउन्टेन छ । समुद्रको सतहदेखि २५५० मिटर अग्लो ठाउँमा निर्मित भ्यु टावरबाट अन्नपूर्णा शृङ्खलादेखि सगरमाथासम्मका साथै उपत्यकाका विभिन्न सहरहरूको अवलोकन गर्न सकिन्छ ।
चन्द्रागिरिको उचाइमा अवस्थित भालेश्वर महादेवको मन्दिर सुन्दर कलाकृतिको उत्कृष्ट नमुना हुनेछ । यसै ठाउँबाट बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भालेश्वर शिवको दर्शन गरेर नेपाल एकीकरणको क्रममा उपत्यकामा आक्रमण गरेका थिए ।
चन्द्रागिरिडाँडामा पुगेपछि त्यहाँ रहेका ब्रान्डेड पसलहरू त्यस ठाउँको थप आकर्षण रहेछन् भन्न करै लाग्छ । आनन्दका साथ मन पराएका विभिन्न सामाननहरू र उपहारहरू त्यहाँ किन्न सकिन्छ । सहरको कोलाहलदेखि टाढा चन्द्रागिरिको उचाइमा पुगेर विभिन्न पेय पदार्थहरूको मजा लिनुमा पनि बेग्लै आनन्द छ । बालबच्चाहरूका लागि खेल्ने निःशुल्क उद्यान पनि चन्द्रागिरिको अर्को एउटा विशेषता हो । चन्द्रागिरिको मनोरम वातावरणमा बैठक, सभा आदिको आयोजना गरिनु आफैँमा अत्यन्तै आकर्षक घटना हुन सक्छ । साना–साना व्यावसायिक बैठकदेखि ठूला–ठूला सभाहरूसमेत गर्न सकिने अवस्था चन्द्रागिरिसभाकक्षको विशेषता हो । त्यहाँ रहेका अनुभवी र दक्ष कर्मचारीहरूद्वारा बैठक सञ्चालन गर्न सेवा प्रदान गर्ने गरिन्छ ।
चन्द्रागिरिनगरपालिका, फाखेल गाविस र मकवानपुर जिल्लाको चित्लाङ गाउँको सिमानासँग जोडिएको यस परियोजनाभित्र रिसोर्ट पनि निर्माण हुँदैछ । वातावरणमैत्री भनिएको यो परियोजना अपाङ्गमैत्री पनि रहेको छ । बेस स्टेसनदेखि सबैभन्दा उचाइमा रहेको भ्यु टावरसम्म ह्विलचेयर पनि लैजान सकिन्छ । टावरबाट पूर्वमा सगरमाथादेखि पश्चिममा कान्जिरोवा हिमालसम्मका हिमदृश्यहरू देख्न सकिन्छ ।
केबलकारको कूल लम्बाइ २४६० मिटर रहेको छ । केबरकारको मार्गमा ११ वटा टावर छन् । यी टावरमा बाँधिएका फलामे लट्ठामा ३८ वटा यात्रु बोक्ने र ३ वटा सामान ढुवानी गर्ने ४१ वटा गोन्डाला जोडिएका छन् । प्रतिघन्टा १ हजार यात्रु क्षमता भएको केबलकारमा ९ देखि १४ मिनेटको अवधिमा एउटा स्टेसनबाट अर्को स्टेसनसम्म पुगिन्छ । चट्याङ पर्दा र तीव्र गतिमा हावाहुरी चल्दा यसको गति कम हुने वा आफैँ रोकिने सेन्सर प्रविधि यसमा जोडिएको छ ।
धार्मिक, ऐतिहासिक र प्राकृतिक स्थानमा सञ्चालनमा ल्याएको केबलकार परियोजनाअन्तर्गत थानकोट चेकपोस्टदेखि १३ सय मिटर दक्षिण–पश्चिममा रहेको केबलकारको बेस स्टेसन १ सय २० रोपनीमा फैलिएको छ । यो जग्गा चन्द्रागिरिहिल्स लिमिटेडको स्वामित्वमा रहेको छ । यस संस्थाले सरकारबाट थप ३६ हेक्टर जग्गा ४० वर्षसम्मका लागि भाडामा लिएको छ । केबलकार परियोजनाको पूर्वाधार निर्माणको जिम्मा चारवटा नेपाली निर्माण व्यवसायीले लिएका थिए र कामचाहिँ २ वर्षअघि थालिएको थियो । चन्द्रागिरि केबलकारले नेपालको निजी क्षेत्रले नयाँ उचाइ हासिल गरेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २२ फाल्गुन २०८०, मंगलवार ०९:४०
रोटरी क्लब अफ बागमती काठमाडौंद्वारा करीब ६५ लाखको स्वास्थ्य उपकरण हस्तान्तरण
शब्दयात्रा द्रोणपुष्प पत्रकारिता छात्रवृत्ति अनिशा खत्रीलाई
शब्दयात्रा प्रकाशनले साहित्यकार तथा पत्रकार आर. सी. विरहीलाई सहयोग गर्ने
नेपाल एअरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
बरिष्ठ फोटो पत्रकार हरि गोपाल प्रधान (विश्व कीर्तिमानी)बाट स्थापित पुरस्कारहरु (सूची)
देशभरका धर्मकाँटालाई डिजिटल बनाइँदै