काठमाडौंमा ‘Flight and Frame’ फोटो प्रदर्शनी : विश्व फोटोग्राफी दिवसमा अध्यक्ष वन्तको एकल प्रदर्शनी


काठमाडौं, १८६ औं विश्व फोटोग्राफी दिवसको अवसरमा राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे नेपाल) ले एकल फोटो प्रदर्शनी आयोजना गरेको छ । यस वर्ष संस्थाले आफ्नै केन्द्रीय अध्यक्ष प्रदीपराज वन्तको Flight and Frame नामक फोटो प्रदर्शनी सार्वजनिक गरेको हो ।

शनिबार भदौ ३ गते (अगष्ट १९) हनुमानढोका दरबार क्षेत्र परिसरमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म भएको प्रदर्शनीमा वन्तले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यकालमा अफिसियल फोटोपत्रकारका रूपमा खिचिएका ६० भन्दा बढी तस्वीरहरू प्रदर्शनमा राखेका थिए । ती तस्वीरहरू विभिन्न जिल्लाका भौगोलिक तथा पर्यटकीय दृश्यहरूलाई हवाइजहाजबाट खिचिएका हुन् ।

यो पहिलो पटक राष्ट्रिय फोटोपत्रकार समूहले आफ्ना सदस्यको एकल फोटो प्रदर्शनी आयोजना गरेको हो । समूहले आगामी दिनमा अन्य सदस्यहरूको पनि यस्तै प्रदर्शनी गर्ने योजना रहेको जनाएको छ ।

फोटोपत्रकार वन्त राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ फोटो पत्रकार समेत हुन् । प्रदर्शनीको उद्घाटन संस्थाका पूर्व अध्यक्ष तथा वरिष्ठ फोटोपत्रकार मिनरत्न बज्राचार्य र कविन्द्रमान शाक्यले संयुक्तरूपमा गरेका थिए । कार्यक्रममा फोटोपत्रकार, सञ्चारकर्मी, विद्यार्थी तथा सर्वसाधारणसहित विदेशी पर्यटकको उल्लेख्य सहभागिता थियो ।

महासचिव घनश्याम श्रेष्ठका अनुसार प्रदर्शनीले फोटोग्राफी दिवसलाई अर्थपूर्ण बनाउनका साथै फोटो पत्रकारिताको महत्व र योगदानलाई समाजमा थप प्रष्ट रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।


रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-08-19