काठमडौं । कोरोना सङ्क्रमणका कारण घटेको चीनसँगको निर्यात व्यापारमा क्रमिक सुधार आउन थालेको छ । सुरक्षाको कारण देखाउँदै नेपालसँग जोडिएका भन्सार नाकासमेत लामो समय बन्द हुँदा नेपालबाट सोझै चीनतर्फ हुने निर्यात प्रभावित भएको थियो ।
यद्यपि कोरोना सङ्क्रमणको असर कम हुन थालेपछि भन्सार नाकासमेत नियमित सञ्चालनमा आएपछि निर्यातमा उल्लेख्य सुधार देखिन थालेको भन्सार विभागको तथ्याङ्कले जनाएको छ ।
विभागका अनुसार चालु आर्थिक वर्ष आठ महिनासम्म (साउन–फागुन) मा नेपालले चीनतर्फ एक अर्ब ९५ करोड रुपियाँको वस्तु निर्यात गरेको छ । यो २०७९ को सोही अवधिसम्मको तुलनामा करिब चार गुणाले बढी हो । गत वर्ष फागुनसम्म नेपालले ५१ करोड रुपियाँको वस्तु चीनमा निर्यात गरेको थियो ।
विभागका अनुसार फागुनसम्म चीनमा सबैभन्दा धेरै ३१ करोड २२ लाख रुपियाँको गलैँचा निर्यात भएको छ । त्यसपछि टेबल तथा भान्साका लागि उपयोगी वस्तुहरू २५ करोड ३७ लाख रुपियाँको निर्यात भएको छ । नेपाली यार्सागुम्बाको सबैभन्दा ठुलो बजारसमेत रहेको चीनमा फागुनसम्म २२ करोड ८७ लाख रुपियाँको उक्त जडीबुटी निर्यात भएको छ । मुख्य गरी उत्तरी हिमाली क्षेत्रमा पाइने यार्सागुम्बाको बजार नेपालसँग सीमा जोडिएका चिनियाँ स्थानीय बजार हुन् ।
यसबाहेक चीनमा पास्ता, फेल्ट, कपडा, काठका सामग्री र वाद्यवादन पनि उल्लेख्य मात्रामा निर्यात भएको कार्यालयको तथ्याङ्कले देखाउँछ । कार्यालयका अनुसार उक्त अवधिमा १४ करोड २८ लाख रुपियाँ बराबरको पास्ता, नौ करोड ३३ लाख रुपियाँ बराबरको फेल्ट, छ करोड ४३ लाख रुपियाँ बरबरको कपडा, छ करोड १९ लाख रुपियाँको काठका सामग्री र पाँच करोड १२ लाख रुपियाँको वाद्यवादन निर्यात भएको छ ।
व्यापार घाटाको फराकिलो खाडल
अन्तर्राष्ट्रिय व्यापारमा भारतपछिको दोस्रो ठुलो व्यापारिक साझेदार रहेको चीनमा निर्यात सुधार देखिए पनि आयातको तुलनामा त्यो अत्यन्त न्यून देखिन्छ । फागुनसम्म नेपालले चीनबाट एक खर्ब ९४ अर्ब ८७ करोड रुपियाँको वस्तु आयात गरेको छ । यस हिसाबले व्यापार घाटा मात्रै एक खर्ब ९३ अर्ब रुपियाँ छ । आयात र निर्यातको अनुपातमा चीनसँगको व्यापार घाटा नेपालका अन्य अन्तर्राष्ट्रिय व्यापार साझेदारको तुलनामा भने सबैभन्दा उच्च हो ।
आयातमा दोस्रो ठुलो व्यापारिक साझेदार मुलुक भए पनि निर्यातमा भने चीन उक्त अवस्थामा छैन । फागुनसम्म कुल एक खर्ब रुपियाँको वस्तु निर्यात गरेको नेपालका लागि चीन ठुलो निर्यात बजार भने बन्न सकेको छैन । निर्यातको हिसाबले भारतबाहेक चीनभन्दा संयुक्त राज्य अमेरिका, जर्मनी र बेलायत ठुला साझेदार बनेका छन् । चीन निर्यात बजारको हिसाबले नेपालको पाँचौँ ठुलो व्यापारिक साझेदार रहेको छ जुन अघिल्ला वर्षमा प्रमुख पाँच निर्यात गन्तव्यको रूपमा भने थिएन ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १२ चैत्र २०८०, सोमबार ०८:०२
भिमसेनस्थानका साँ गुठीद्वारा मरूसतस्मा गजूरमा पतास् फेर्ने र गाई पूजा सम्पन्न
श्रीस्वास्थानी व्रत प्रारम्भस् चाँगुनारायण यात्रामा ऐतिहासिक भाँडाकुँडा फुटाउने परम्परा पुनः सम्पन्न
नेपाल सीनियर केयर र क्यान्सर निवारण प्रतिष्ठानबीच सम्झौता
पोखरामा एकै स्थानमा विभिन्न फरक ब्रान्डका सवारी साधनको एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल हुने
सञ्चालनमा आयो पाँचतारे मर्क्युर होटल
पुलिसले जित्यो जय ट्रफीको उपाधि