
डोटी । डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते धान खेती गर्न थालेको २० वर्ष भयो । उनी वर्षमा १० देखि १५ क्विन्टल चैते धान मात्रै फलाउँछन् । यसरी फलाएको धान उनको परिवारले उपभोग गरी बचेको बेच्ने पनि गर्छन् ।
वर्षमा दुई बाली धान भित्र्याउँदा दोहोरो फाइदा हुने कार्की बताउँछन् । यो वर्षको लागि उनले चैते धानको विउ छरिसकेका छन् । ‘गहुँ काटिसकेपछि जमिन बाझो छोड्नु भन्दा चैते धान रोप्नु उत्तम हुन्छ, कार्कीले भने, यसरी एकै वर्ष दुई ओटा धान बाली भित्राउँदा डबल फाइदा हुन्छ ।’
धानबाट मात्रै नभएर परालबाट पनि फाइदा लिन सकिने कार्की बताउँछन् । चैते धानको भात खानमा अरू धानको चामल भन्दा स्वादिलो हुने कार्कीको भनाई छ । साथै धानको पराल गाईबस्तुका लागि उपयोगी हुने र बेच्न पनि सकिने उनले बताए ।
‘चैते धानखेतिको लागि अन्य धानखेतीको तुलनामा अलि बढी मिहिनेत चाहिन्छ’ उनले भने, ‘सुरुमा बिउ उमार्न गाह्रो हुन्छ, रोपेपछि पानी बढी चाहिन्छ । चैत वैशाखमा आकाशको पानी नपर्ने हुँदा नदीको पानी सुक्छ पानी भएन भने बाली सप्रिदैन ।’
कार्की जस्तै शिखर नगरपालिका–२ कालागाडका अन्य किसानहरूले पनि यस वर्ष चैते धान रोप्ने भएका छन् । यस क्षेत्रका करिब ३० परिवारले चैते धानको लागि फागुन पहिलो साता बिउ राखिसकेका छन् । स्थानीय किसान राने धामीका अनुसार यहाँका किसानले प्रति किसान ५ केजीदेखि १५ केजीसम्म बिउ राखेका छन् ।
कृषि ज्ञान केन्द्र डोटीबाट चैते धानको बिउ उपलब्ध भएपछि धान रोप्ने तयारी गरेको धामीले बताए । पहिलो पटक चैते धान रोप्न लागेकाले उनीहरू ढुक्क भने छैनन् । ‘धान रोप्ने भनेर बिउ राखेका छौँ मौसमले साथ दिने हो कि होइन, खडेरी परेमा मिहिनेत खेर जान्छ होला’ किसान रने धामीले भने, ‘मल पनि पाइने हो कि होइन चिन्ता पनि लागेको छ ।’
कृषि ज्ञान केन्द्र र किसानका बिचमा समन्वयकारी भूमिका निर्वाह गरिरहेको शिखर नगरपालिका–२ का वडाध्यक्ष गणेश बोगटीले बताए । ज्ञान केन्द्रकै सल्लाह अनुसार बिउ राखेको बताउँदै वडाध्यक्ष बोगटीले किसानलाई समयमै मल उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता जनाए ।
चैते धान बिस्तार हुँदै छः ज्ञान केन्द्र
डोटी जिल्लामा चैते धान खेतीमा किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्र डोटीले जनाएको छ । विगतका वर्षमा एक दुई जनाले मात्रै गर्दै आएको चैते धान खेती यो वर्ष बढ्ने कृषि ज्ञान केन्द्र डोटीको आँकलन छ ।
सेती नदी आसपासका विभिन्न ठाउँमा चैते धान खेतीको राम्रो सम्भावना भएको कृषि ज्ञान केन्द्र डोटीका कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए । विगतमा एक दुई जना किसानले मात्रै चैते धान रोप्ने गरेको भएता पनि यो वर्ष शिखर नगरपालिकाको कालागाड, दिपायल सिलगढी भागेतडा र पाकरी लगायतका ठाउँका किसानहरु चैते धान खेती गर्न ईच्छुक देखाएका कार्यालय प्रमुख अवस्थीले बताउँछन् ।
‘गहुँ भित्र्याएपछिको समय कम्तीमा ३ महिना जमिन बाँझो रहन्छ जसले गर्दा हाम्रो समय र जमिनको उब्जाउ शक्ति खेर गइरहेको छ’ अवस्थीले भने ‘हामीले जमिनको भरपुर फाइदा लिनुपर्छ, ज्ञान केन्द्रको यतातिर ध्यान गएको छ ।’ उनले यो वर्ष जिल्लाका किसानलाई दुई क्विन्टल चैते धानको बिउ वितरण भएको बताए ।
ज्ञान केन्द्रले जिल्लाको खेतीयोग्य जमिनमा केही न केही खेती गरिरहने वातावरण बनाउन लागेको अवस्थीको दावी छ । धान रोप्न मिल्ने ठाउँमा चैते धान रोप्न लगाउने र अरहर दालको सम्भावना भएको ठाउँमा अरहर खेती गर्न लगाउने योजना ज्ञान केन्द्रको छ । परीक्षणका लागि ५० केजी अरहरको बिउ मगाइएको समेत अवस्थीले बताए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १६ फाल्गुन २०८०, बुधबार ०९:१०
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
