देशभर करिब ७२ प्रतिशत धान रोपाइँ सम्पन्न

काठमाण्डौ । यस वर्ष देशभर करिब ७२ प्रतिशत रोपाइँ सकिएको छ । गएको वर्षको यही अवधिको तुलनामा रोपाइँ १२ प्रतिशतले कम हो । देशभर करिब १० लाख हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

देशभर करिब १४ लाख हेक्टर जमिनमा रोपाइँ हुने मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी ९७ प्रतिशत रोपाइँ भएको छ भने कर्णाली र लुम्बिनी प्रदेशमा ८८ प्रतिशत रोपाइँ सकिएको छ ।

मन्त्रालयका अनुसार मनसुनले साथ दिएमा साउनको अन्तिम हप्तासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । धान उत्पादन तथा क्षेत्रफलका हिसाबले तराई क्षेत्र उपयुक्त मानिन्छ । यो क्षेत्रबाट धानको उत्पादकत्वमा वृद्धि भई कुल उत्पादनको ७० प्रतिशत योगदान छ ।

पहाडी क्षेत्रमा ३० प्रतिशत उत्पादन हुने गरेको मन्त्रालयको तथ्याङ्क छ । मौसमको प्रतिकूलता, दैवी प्रकोप, अतिवृष्टि तथा अनावृष्टिले रोपाइँमा नकारात्मक प्रभाव परी कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुने गरेको छ ।

पछिल्लो पटक विकास भएका ज्ञान, सीप, प्रविधि तथा उन्नत जातका बीउबिजनको विकासका कारण उत्पादन वृद्धि हुने अनुमान छ । धान उत्पादनमा करिब १० प्रतिशतले घटबढ भएमा देशको कुल गार्हस्थ्य उत्पादनमा एक प्रतिशतले घटबढ हुने मन्त्रालयले जनाएको छ ।

Sudina Shrestha

प्रकाशित: ७ श्रावण २०८२, मंगलवार ०९:५०