
दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ आमडाँडास्थित चण्डेश्वरी आधारभूत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्न थालेको छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यालयले विद्यार्थीलाई सीपसँग जोड्दै व्यवहारिक सीप प्रदान गरेको हो ।
गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम बमोजिम विद्यालयमा लहरे बालीको नर्सरी स्थापना गरी त्यहाँबाट उत्पादित बेर्ना बिक्री थालिएको विद्यालयका प्रधानाध्यापक कुवेर ढकालले जानकारी दिए । उनका अनुसार ८० विद्यार्थीले लहरे बालीको नर्सरी व्यवस्थापनमा प्राविधिक ज्ञान हासिल गर्नाका साथै बेर्ना उत्पादन भएर बिक्री सुरु गरिएको छ ।
पहिलो चरणका चार सय बेर्ना दोस्रो आँबुखैरेनी महोत्सवमा लगेर बिक्री गरिएको प्रधानाध्यापक ढकालले बताए । उनले भने, “पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत अहिलेको मौसमअनुसार लहरे बालीलाई अगाडि बढाउनुपर्छ भन्ने हेतुले विद्यार्थी, शिक्षक र अभिभावकको सहभागितामा बेर्ना उत्पादन गरेका थियौँ। चार सय बेर्ना उत्पादन भएकामा अधिकांश बेर्ना बिक्री भइसकेको छ ।”
प्रधानाध्यापक ढकालका अनुसार लहरे बालीको बेर्ना बिक्रीका लागि आँबुखैरेनी महोत्सव फलदायी भएको छ । गाउँपालिकाले बेर्ना बजारीकरणका लागि सहजीकरण गरिदिएको थियो । उक्त विद्यालयका विद्यार्थीले गत वैशाखमा अदुवा र हलेदोखेतीको सुरुआत गरेका थिए । दुई रोपनी जमिनमा अदुवा र हलेदो रोपिएको थियो ।
शिक्षासँग सीप अभियानलाई अगाडि बढाउन गाउँपालिकाले चालु आर्थिक वर्षमा विभिन्न विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । उनका अनुसार मित्रता माध्यमिक विद्यालयमा चित्रकला, सयपत्री फूलखेती, कन्यादेवी माध्यमिक विद्यालयमा कुखुरापालनलगायत कार्यक्रम सुरु गरिएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १८ फाल्गुन २०८०, शुक्रबार ०८:४०
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
