
COPY ALL NEWS
काठमाडौँ । थाइल्याण्डमा प्रधानमन्त्री पाटोङटार्न शिनावात्रा नयाँ विवादमा फसेकी छन् । पूर्व कम्बोडियाली प्रधानमन्त्री हुन सेनसँगको उनको कुराकानीको रेकर्डिङ लिक भएपछि थाइल्याण्डको राजनीति तरंगित भएको हो । सो रेकर्डिङ लिक भएपछि सीमा विवादको मुद्दामा दुई देशबीच नयाँ राजनीतिक हंगामा मच्चिएको छ । सरकारको एक प्रमुख सहयोगी गठबन्धनबाट बाहिरिएको छ । साथै, पाटोङटार्नको राजीनामाको माग तीव्र भएको छ । यसले उनको पहिले नै अस्थिर सरकारलाई अझ कमजोर बनाएको छ ।
पाटोङटार्न कम्बोडियाप्रति धेरै नरम दृष्टिकोण छ भन्ने विषयमा पहिले नै आलोचनाको सामना गरिरहेकी थिइन् । विशेष गरी दक्षिणपन्थी राष्ट्रवादीहरूबाट, जो उनका बुबा थाक्सिन शिनावात्रा (पूर्व प्रधानमन्त्री) का पुराना विरोधी हुन्, उनीहरुले यस्तो आरोप लगाउदै आएका छन् । मे ८ मा, थाइल्याण्ड र कम्बोडिया बीच सानो क्षेत्रमा हतियारसहित झडप भएको थियो । दुवै देशहरूले यसलाई आफ्नो हिस्सा मान्छन् । यसलाई ‘नाइन म्यान्स ल्याण्ड’ भनिन्छ । यसमा एक कम्बोडियन सैनिक मारिएका थिए ।
कल रेकर्डिङ कसरी लिक भयो?
कम्बोडियाको संसदका सभामुख हुन सेनले बुधबार फेसबुकमा कलको सम्पूर्ण १७ मिनेटको रेकर्डिङ पोस्ट गरे, यद्यपि यसको सानो भाग पहिले नै लीक भइसकेको थियो । हुन सेनले कुनै पनि गलतफहमी वा झूटा हल्लाबाट बच्नको लागि कल रेकर्ड गरेको बताए । उनले रेकर्डिङ कम्तिमा ८० जनालाई पठाएको बताए ।
कलमा के भनिएको थियो ?
रेकर्डिङमा पतोङटार्नले हुन सेनलाई ‘अंकल’ भनेर बोलाएको सुन्न सकिन्छ । दुई नेताहरूले झडप पछि लगाइएको सीमा प्रतिबन्ध हटाउने या नहटाउने भन्ने बारे दुवै देशका भाषा अनुवादक मार्फत कुराकानी गरेका थिए । पतोङटार्नले झडप भएको सीमा क्षेत्रको जिम्मेवारी सम्हालेका थाई सेनाका अधिकारीलाई ‘विरोधी’ भनेर बोलाएकोमा पनि विवाद उत्पन्न भएको छ । आलोचकहरू पतोङटार्नले हुन सेनलाई खुसी पार्न धेरै प्रयास गरिरहेको र यसले थाइल्याण्ड कमजोर देखिएको विश्लेषण गरेका छन् ।
यद्यपि, पतोङटार्नले उनीहरू बीचको वार्ता केवल वार्ता रणनीति थियो र उनीहरूको वास्तविक उद्देश्य दुई देशहरू बीच शान्ति ल्याउनु भएको स्पष्ट गरेकी छन् । पतोङटार्नले अब हुन सेनसँग कुनै व्यक्तिगत कुराकानी नगर्ने बताउदै अब उनीमाथि विश्वास नगर्ने बताएकी छन् ।
थाइल्याण्डको आधिकारिक प्रतिक्रिया
थाइल्याण्डको विदेश मन्त्रालयले कम्बोडियाली राजदूतलाई विरोध पत्र बुझाएको छ । यसमा भनिएको छ, रेकर्डिङ चुहावट पूर्णतया गलत र अस्वीकार्य छ । यो कार्य अन्तर्राष्ट्रिय नियम र असल छिमेकी सम्बन्धको भावना विरुद्ध हो ।
गठबन्धन साझेदार पार्टीले के भन्यो ?
पाटोङटार्नले उनको र हुन सेनको परिवार बीच लामो समयदेखि घनिष्ठ सम्बन्ध रहेको बताएकी छन् । उनका बुबा थाक्सिन शिनावात्रा र हुन सेन एकअर्कालाई ‘धार्मिक दाजुभाइ’ मान्छन् । २००९ मा, हुन सेनले थाक्सिनलाई कम्बोडियाली सरकारको सल्लाहकार बनाए, तर थाक्सिनले केही समय पछि राजीनामा दिए । रेकर्डिङ चुहावट भएको केही घण्टा पछि, भूमजैथाई पार्टी (जुन पाटोङटार्नको सरकारको सबैभन्दा ठूलो सहयोगी हो) ले सरकारबाट अलग भइरहेको बताएको छ । पार्टीले रेकर्डिङले थाइल्याण्डको सार्वभौमसत्ता, सीमा, राष्ट्रिय हित र सेनालाई हानि पुर्याउँने बताएको छ ।
भूमजैथाई र फेउ थाई पार्टी बीच पहिले नै तनाव थियो, किनकि भूमजैथाईलाई शक्तिशाली गृह मन्त्रालयबाट हटाउन सकिन्छ भन्ने रिपोर्टहरू आएका थिए । यस बाहेक, भूमजैथाई पार्टीका धेरै नेताहरू अनुसन्धानमा छन्, किनकि उनीहरूमाथि सिनेट चुनावमा धाँधली गरेको आरोप छ । भनिन्छ, पार्टीसँग सम्बन्धित धेरै व्यक्तिहरूले सिनेटमा बढी सिट जितेका छन् । भूमजैथाई पार्टीको विभाजनसँगै, १०-दलीय सत्तारुढ गठबन्धन अब ५०० सदस्यीय संसदमा २५४ सिटमा झरेको छ, जुन बहुमत भन्दा थोरै धेरै हो ।
विपक्षी नेता नट्टाफोङ रुआङपान्याभुतले संसद विघटन गर्नुपर्ने र नयाँ चुनाव गर्नुपर्ने बताएका छन् । उनले फोन कल चुहावटले जनताको सरकारमाथिको पूर्ण विश्वासलाई नष्ट गरेको बताएका छन् । यस घटनापछि विहिबार दर्जनौं राष्ट्रवादी प्रदर्शनकारीहरू सरकारी भवन नजिकै भेला भएर थाई राष्ट्रिय झण्डा र पाटोङटार्नको राजीनामाको माग गर्दै पोस्टरहरू लिएर प्रदर्शन गरेका थिए । केही सांसदहरूले पाटोङटार्न विरुद्ध महाभियोग प्रस्ताव ल्याउने बताएका छन् ।
अर्कोतर्फ धेरै मानिसहरूले स्थानीय सेना कमाण्डरमाथि पाटोङटार्नको टिप्पणी फेरि सैन्य विद्रोहको कारण बन्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । उनका बुबा थाक्सिन शिनावात्रालाई २००६ मा सेनाले सत्ताबाट हटाएको थियो । उनकी बहिनी यिंगलक शिनावात्रा २०११ मा प्रधानमन्त्री बनेकी थिइन् र उनलाई पनि २०१४ मा सेनाले सत्ताबाट हटाएको थियो ।
Sudina Shrestha
प्रकाशित: ६ असार २०८२, शुक्रबार १३:५०
उदयपुर र पर्बतबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बंगलादेश वायुसेनाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २५ विद्यार्थीसहित २७ पुग्यो

एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक शुरु (फोटो फिचर)

बीपी कोइरालाप्रति उच्च सम्मान छ- प्रधानमन्त्री ओली

मदन पुरस्कारका लागि छानिए सात कृति, कुन कुन परे ?

चीनले ब्रह्मपुत्र नदीमा बनाउदैछ विश्वको सबैभन्दा ठूलो जलविद्युत बाँध, यस्ता छन् १० तथ्य
