काठमाडौं । युक्रेनले रुसमाथि युद्ध सुरु गरेयता हालसम्मकै सबैभन्दा ठुलो र लामो दुरीको ड्रोन आक्रमण गरेको दाबी गरेको छ । आइतबार गरेको आक्रमणमा युक्रेनी सुरक्षा निकाय एसबीयूले ‘स्पाइडर्स वेब’ नाम दिइएको अभियानमा ११७ वटा ड्रोन प्रयोग गरी ४ वटा रुसी सैन्य हवाई अड्डाहरूमा आक्रमण गरेको जनाएको छ ।
उक्त आक्रमणमा रुसका ४० वटा युद्ध विमानहरूलाई निशाना बनाइएको राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार यसले रुसका ३४ प्रतिशत रणनीतिक क्रूज मिसाइल क्यारियरहरूलाई असर पु¥याएको युक्रेनले दाबी गरेको छ ।
एसबीयू स्रोतहरूले बताएका अनुसार यो आक्रमण तयारी गर्न डेढ वर्ष समय लागेको थियो । ड्रोनहरू काठका मोबाइल क्याबिनमा लुकाएर, ट्रकमा राखिएका रिमोट–नियन्त्रित छाना भएका सवारीहरू प्रयोग गरेर एयरबेसहरू नजिकै ल्याइएका थिए । त्यसपछि उनीहरूलाई सही समयमा प्रक्षेपण गरिएको बताइएको छ ।
रुसले आफ्ना पाँच क्षेत्रमा युक्रेनी आक्रमण भएको पुष्टि गरेको छ । यसलाई उसले ‘आतंकवादी कार्य’ भनेको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारीहरूले पनि आफ्ना क्षेत्रमा ठुलो मात्रामा ड्रोन र मिसाइल आक्रमण भएको बताएका छन् ।
यी घटनाहरूबिच रुस र युक्रेनका वार्ताकारहरू सोमबार दोस्रो चरणको शान्ति वार्ताका लागि टर्कीको इस्तानबुल जाँदैछन् । यद्यपि, दुवै पक्षको युद्ध अन्त्य गर्ने विषयमा ठुलो मतभेद रहेकोले वार्ताबाट धेरै अपेक्षा नगरिएको बताइएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले फेब्रुअरी २०२२ मा युक्रेनमा पूर्ण आक्रमण सुरु गरेका थिए । अहिले रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा लिएको छ, जसमा सन् २०१४ मा कब्जा गरिएको दक्षिणी क्राइमिया प्रायद्वीप पनि पर्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-02
जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले
फोटो पत्रकार समुह गोरखाको अध्यक्षमा कैलाशबाबु श्रेष्ठ सर्वसम्मत चयन
‘सबैसँग सहकार्य गर्न उत्साहित छ’ : सेबरको महाप्रबन्धक रबिया कोईथलीसँग विषेश कुराकानी
रास्वपा महाधिवेशन: उम्मेदवारका प्रस्तावक र समर्थकलाई पाँच बुँदे निर्देशन
विष्णु पौडेलको पक्राउप्रति शंकर पोखरेलको टिप्पणी- कानूनी र राजनीतिक रुपमा प्रतिवाद गर्छौं
एक्सट्रिम : इनर्जी ड्रिंकको नाममा मन्दविषको व्यापार !
