जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्‍याप गीत लिएर आउँदैछन् सप्तरीका युवा स्रष्टा शेखर वाग्ले

काठमाडौं । सप्तरीमा जन्मिएका युवा र्‍याप कलाकार तथा गीतकार शेखर वाग्ले (Sidd Wagle) यतिबेला जननेता मदन भण्डारीप्रति समर्पित नयाँ र्‍याप गीत “जनताको आवाज” लिएर दर्शकमाझ आउने तयारीमा छन्। बाल्यकालदेखि नै संगीतप्रति गहिरो रुचि राख्ने वाग्लेले विशेषगरी मधेश, देश, समाज र परिवर्तनका विषयलाई आफ्ना सिर्जनामार्फत उठाउँदै आएका छन्।

मधेशप्रतिको अथाह माया र सामाजिक चेतनाका विषयलाई निरन्तर आफ्नो संगीतमा प्रस्तुत गर्दै आएका वाग्लेले यसपटक जननेता मदन भण्डारीको संघर्ष, विचार, जनताप्रतिको समर्पण तथा राष्ट्र निर्माणमा पुर्‍याएको योगदानलाई र्‍यापमार्फत प्रस्तुत गर्ने प्रयास गरेका छन्।

असार १४ गते, जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसर पारेर सार्वजनिक गरिने तयारी गरिएको उक्त गीतमा मेलोडी तथा गीत रचना प्रेमनाथ अधिकारी को रहेको छ भने म्युजिक, मास्टरिङ र मिक्सिङ DJ LX ले गरेका छन्। र्‍याप र र्‍याप लिरिक्स भने स्वयं शेखर वाग्ले (Sidd Wagle) ले तयार पारेका हुन्।

सांगीतिक यात्राका क्रममा शेखर वाग्लेले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा आफ्नो प्रस्तुति दिइसकेका छन्। विभिन्न संघ–संस्था तथा प्रतिष्ठित व्यक्तित्वहरूको हातबाट सम्मानपत्र, प्रमाणपत्र तथा प्रशंसापत्र प्राप्त गरिसकेका वाग्ले युवा पुस्तामाझ सामाजिक सन्देशमूलक र्‍यापमार्फत परिचित बन्दै गएका छन्।

वाग्लेका अनुसार “जनताको आवाज” केवल एउटा गीत मात्र नभई जननेता मदन भण्डारीप्रतिको सम्मान, विचारप्रतिको श्रद्धा र नयाँ पुस्तासम्म इतिहास तथा संघर्षको कथा पुर्‍याउने अभियान पनि हो।

उनले भने, “मदन भण्डारी केवल एक नेता होइनन्, उहाँ एउटा विचार हुनुहुन्छ। यही विचारलाई संगीतमार्फत नयाँ पुस्तासम्म पुर्‍याउने मेरो सानो प्रयास हो।”

जनताको आवाज बोल्ने र समाजका विविध विषयलाई कलामार्फत उजागर गर्ने उद्देश्यसहित तयार पारिएको यो गीतले श्रोतामाझ विशेष स्थान बनाउने अपेक्षा गरिएको छ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-06-24