‘मिस नेपाल -२०२६’ को टप मोडल राउन्डमा प्रथम हुने सेमिफाइनलमा सिधै प्रवेश

काठमाडौं । दि हिडन टेजरबाट आयोजना गरिएको मिस नेपाल २०२६ अन्तर्गतको बहुप्रतीक्षित टप मोडल राउन्ड सम्पन्न भएको छ । प्रतियोगितामा अन्तिम चरणका २४ जना सुन्दरीले आत्मविश्वासपूर्ण क्याटवाक, व्यक्तित्व र मोडलिङ कौशल प्रस्तुत गर्दै उत्कृष्ट प्रतिस्पर्धा गरेका थिए ।

टप मोडल राउन्डमा सहभागी प्रतियोगीहरूले भियतनामी फेसन डिजाइनर ’ नाह मोट ९१९२’ द्वारा डिजाइन गरिएका आकर्षक पहिरनमा र्‍याम्पमा प्रस्तुति दिएका थिए । परम्परा र आधुनिकताको संयोजन झल्किने ती पहिरनले प्रतियोगिताको आकर्षण अझ बढाएको थियो ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै मिस नेपाल २०२६ को टप मोडल राउन्डको विजेता अर्बिशा थापा घोषित भएकी छन्। यस उपलब्धिसँगै उनले मिस नेपाल २०२६ को सेमिफाइनल चरणमा सिधै प्रवेश गर्ने विशेष अवसर सुनिश्चित गरेकी छन् ।

मिस नेपाल २०२६ मा सहभागी ईशा सुवेदी, प्रनिसा खनाल, युक्ता पौडेल, अंशु कुँवर, संगीता पौडेल, श्रद्धा अधिकारी, कसिस सुब्बा, मानस्वी शर्मा, सुष्मा भण्डारी, प्रतिष्ठा आचार्य, आर्या निशान्त, आयुष्मा के.सी. खत्री, शितांशु ढकाल, प्रतिमा खड्का, प्रेमा लामगादे, महिमा पन्त, दीपमाला ढकाल, सेज्या श्रेष्ठ, विभूषा बस्नेत, स्वीकृति ज्ञवाली, चाँदनी श्रेष्ठ, श्रीयशा श्रेष्ठ र रचना भट्टराई लगायतका प्रतियोगीहरूमध्ये अर्बिशाले उत्कृष्ट प्रदर्शनका आधारमा यो विशेष उपलब्धि हासिल गरेकी हुन् ।

टप मोडल राउन्डमा प्रेमा लामगाडे दोस्रो, कसिस सुब्बा तेस्रो, सेज्जा श्रेष्ठ चौथो, चाँदनी श्रेष्ठ पाँचौँ, संगीता पौडेल छैटौँ तथा युक्ता पौडेल सातौँ स्थान हासिल गर्न सफल भए । सबै प्रतियोगीहरूले आफ्नो आत्मविश्वास, व्यक्तित्व, प्रस्तुति शैली र ¥याम्पमा देखाएको उत्कृष्ट प्रदर्शनबाट निर्णायक मण्डल तथा दर्शकहरूको प्रशंसा बटुलेका थिए ।

मिस नेपाल २०२६ अन्तर्गत आयोजित टप मोडल राउन्ड कार्यक्रममा दि हिडन ट्रेजरका अध्यक्ष अजय रत्न स्थापित, पूर्व अध्यक्षद्वय सुवर्ण क्षेत्री र दिवाकर राजकर्णिकार, निर्देशक गिरीन्दमान राजवंशी तथा रुपेश प्रधानको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा कोरियोग्राफर रचना सिंह शर्मा, मिस नेपाल वल्र्ड २०२६ प्रियंका रानी जोशी, मिस नेपाल वल्र्ड २०१६ अस्मी श्रेष्ठ तथा मिस नेपाल २०२५ का विजेताहरू मिस नेपाल वल्र्ड २०२५ लुना लुइँटेल, मिस नेपाल इन्टरनेशनल २०२५ उरुषा भण्डारी र मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपालको पनि गरिमामय उपस्थिति रहेको थियो ।

प्रतियोगिताको महत्वपूर्ण सहविधाका रूपमा रहेको टप मोडल राउन्ड विशेष आकर्षणको केन्द्र बनेको थियो । यस विधाका विजेताले सेमिफाइनलमा सिधै प्रवेश गर्ने अवसर प्राप्त गर्ने भएकाले प्रतियोगीहरूबीच उत्साहजनक र कडा प्रतिस्पर्धा देखिएको थियो । प्रतियोगिताका आगामी चरणहरूमा पनि उपाधिका लागि अझ रोचक तथा प्रतिस्पर्धात्मक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-07-16