ललितपुर , गोदावरी नगरपालिकाको आयोजनामा जारी उपत्यकाव्यापी अन्तरपालिका खुला गोदावरी मेयर कप फुटबलको फाइनलमा काठमाडौं महानगरपालिका पुगेको छ ।
गोदावरी–१० टाहाखेलस्थित निर्माणाधीन गोदावरी बहुउद्देश्यीय रंगशालाको झ्यालुन्टार मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा कीर्तिपुर नगरपालिकालाई ३–० ले हराउँदै काठमाडौंले दोस्रोपटक उपाधि जित्ने अवसर बनाएको छ । पहिलो संस्करणमा चन्द्रागिरीलाई हराउँदै काठमाडौंले उपाधि जितेको थियो ।
आगामी २ जेठमा हुने फाइनलमा काठमाडौंले गोदावरी नगरपालिका र दक्षिणकाली नगरपालिकाबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । काठमाडौंका लागि खेलका म्यान अफ दि म्याच मनिष सेढाईले २ गोल तथा राज पौडेलले १ गोल गरे । पहिलो हाफको अन्तिमतिर ३ मिनेट सम्हालिन नसक्दा कीर्तिपुरले लगातार २ गोल खायो ।
काठमाडौंका लागी खेलको ४५ औं मिनेटमा सेढाईले सुरुवाती गोल गरे भने लगत्तै ईन्जुरी समयमा पौडेलले थप गोल गर्दै अग्रता दोब्बर पारे । काठमाडौंका लागि अर्को एक गोल सेढाईले ७९औं मिनेटमा गरे ।
काठमाडौं समूह बीको विजेताका रुपमा सेमिफाइनलमा पुगेको हो भने कीर्तिपुर समूह डीको विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको हो ।
आयोजक गोदावरी र दक्षिणकाली भिड्ने
गोदावरी मेयर कप फुटबलको अर्को सेमिफाइनलमा आयोजक गोदावरी नगरपालिकाले दक्षिणकाली नगरपालिकासँग बुधबार प्रतिस्पर्धा गर्दैछ । समूह ए मा महालक्ष्मी नगरपालिकालाई ६–१ ले तथा बाग्मती गाउँपालिकालाई ७–० ले हराएको गोदावरीले समूह चरणमा ललितपुर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको थियो ।
समूह सीमा रहेको दक्षिणकालीले कागेश्वरी मनोहरा नगरपालिकालाई ५–० ले तथा चन्द्रागिरी नगरपालिकालाई २–१ ले हराउँदै सेमिफाइनलमा पुगेको हो ।
गोदावरी मेयर कपमा काठमाडौ उपत्यकामा रहेका २१ पालिकामध्ये काठमाडौं जिल्लाबाट ६, ललितपुरबाट ५ र भक्तपुरबाट २ पालिकाको सहभागिता रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-05-13
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
