
विजयकुमार महर्जन,
फर्पिङ्, काठमाडौं
काठमाडौँ । काठमाडौँ उपत्यकालाई नेवारीमा स्वनिगः भनिन्छ । काठमाडौँ उपत्यकामा तीन जिल्ला काठमाडौँ, ललितपुर तथा भक्तपुर पर्दछन् । उपत्यकालाई तान्त्रिक सहरकारुपमा समेत चिनिन्छ । यो उपत्यकाभित्र अधिकतर तीर्थस्थल हिन्दू र बौद्ध धर्मावलम्बीहरूका छन् । ती तीर्थसँग गाँसिएका किंवदन्ती पनि अनेक छन् । तन्त्र तथा विश्वासको प्रभावले नै हुनुपर्छ हामीले जानेबुझेदेखि यहाँका मानिसहरु ४ गणेश, ४ नारायण, ४ लोकेश्वर (मच्छिन्द्रनाथ), ४ बौद्धस्थल, ४ योगिनीको दर्शन गर्ने भन्ने परम्परा अद्यापि रहेको छ । मैले अध्ययन गर्दै जाँदा ४ को महत्व पनि अपरम्पार छ । जस्तो कि चार दिशाः १. पूर्वःउदय र प्रारम्भ २. पश्चिमः विश्राम र अस्त ३. उत्तरः ज्ञान र समृद्धिको मार्ग ४. दक्षिणः त्याग र तपस्याको दिशाकारुपमा लिइन्छ । चार वेदहरुः १.ऋग्वेदः सृष्टिको आरम्भ र देवता स्तुतिको ग्रन्थ २.यजुर्वेद ः यज्ञहरूको विधि र कर्मकाण्डहरूको नियमसङ्ग्रह ३. सामवेदः संगीतमार्फत स्तुति र प्रार्थना ४. अथर्ववेदः जीवनका रहस्य, औषधि र आध्यात्मिक अभ्यासहरूको ग्रन्थका रुपमा लिइन्छ । चार युगः १.सत्ययुगः सत्य र धर्मको पूर्ण पालन हुने स्वर्ण युग । २. त्रेतायुगः धर्म र शक्तिको सन्तुलनको युग ३. द्वापरयुगः आधा सत्य र आधा अधर्मले भरिएको युग ४. कलियुगः अधर्मको प्रभुत्व हुने वर्तमान युग । चार धामः १.बद्रीनाथः विष्णुको निवास र तपस्याको भूमि २.द्वारकाः भगवान कृष्णको पवित्र निवास ३.जगन्नाथ पुरीः जगन्नाथ भगवानको प्रमुख मन्दिर ४. रामेश्वरमः रामचन्द्रले पूजित शिवलिङ्गको स्थान । यसैगरी बौद्ध धर्मावलम्बीहरूले पनि १. बुद्धको जन्मस्थलःलुम्बिनी, २. बुद्धले ज्ञान प्राप्त गरेको स्थलः बोध गया, ३. धर्मचक्रको प्रवर्तन गरेको स्थलः सारनाथ, ४. महापरिनिर्वाण प्राप्त गरेको स्थलःकुशीनगरलाई चतुर्दर्शनीय स्थान अर्थात चार धामका रुपमा लिइन्छ । मानिसको पृथ्वीमा आगमन पश्चात पनि चारवटा अवस्था पार गर्नु पर्ने हुन्छ जसमा १.बाल्यकालः निर्दोषता, चञ्चलता, जिज्ञासाको समय २. किशोरावस्थास् ऊर्जामय समय, सपनाहरू बुन्ने समय ३. प्रौढावस्थास् जिम्मेवारी वहन गर्ने, कर्ममा निखारता, ज्ञान अनुभव बाड्ने समय ४.वृद्धावस्थास् अनुभव, आत्म कल्याण र विश्रामको अवस्था रहेको छ । चार आश्रमहरूमा १. ब्रह्मचर्यस् भावी जीवनको तैयारीका लागि अनुशासनमा बस्ने अवस्था जसमा सुरुको सुरुका २५ वर्ष विताउनु पर्ने २. गृहस्थः परिवार र समाजको जिम्मेवारीको समय उत्पादन र उपभोगको अवस्था २५ देखि ५० वर्ष विताउनु पर्ने ३. वानप्रस्थः ज्ञान र अनुभव सामञ्जस्यको अवस्था जसको समय ५० देखि ७५ वर्ष ४. सन्यासः आध्यात्मिक साधना र मुक्तिको आत्म–कल्याणको समय ७५ वर्षदेखि माथिको अवस्था भनेर शास्त्रमा लेखिएको छ ।

मैले बाल्यकालमा थाहा पाएसम्म खास गरेर साना (साना भाईबहिनीहरुलाई बिसञ्चो हुंदा वैद्यकोमा लगेर देखाउँदा चार देवता १. हारती अजिमाद्यः २. बिज्जेश्वरी अजिमाद्यः ३. भाटभटेनी अजिमाद्यः र ४. आनन्दभैरव आजुद्यः को पूजा गर्नु भनि पठाउने र पूजा गर्न जाने गरेको थाहा छ जुन परम्परा अहिले पनि चलिआएको छ जुन देवताहरुलाई बालबालिकाहरु विरामी निको पार्ने नेपालका देवताहरु भनेर समेत पुजिन्छ । नेपालमा गुह्येश्वरी शक्ति पीठमा शक्ति साधना गरी नेपाल मण्डलको चारै दिशाहरुमा छिन्नमस्ता (झंकेश्वरी) शक्ति पीठहरुको रुपमा चार शक्ति पीठहरु स्थापना भएको पनि पाइन्छ । जसमा १. पूर्वमा बनेपामा अबस्थित श्री चण्डेश्वरी शक्ति पीठ २. दक्षिण फर्पिंगमा अबस्थित श्री झंकेश्वरी शक्ति पीठ ३. पश्चिम टोखामा अबस्थित श्री चण्डेश्वरी शक्ति पीठ ४. उत्तर चॉगुमा अबस्थित श्री छिन्ननस्ता शक्ति पीठ रहेको कुरा संस्कृतविद बद्रीकृष्ण कायस्थको लेखरचनामा समेत उल्लेख रहेको छ ।


उपत्यकाका तीनवटै सहरहरुमा टोलटोलमा चोक चोकमा विघ्नहर्ता गणेश भगवानको मूर्तिहरु स्थापना गरी नित्यपूजा गर्ने प्रचलन रहि आएको छ । यसमा पनि १. सूर्य विनायक, पूर्वमा २. चावहिः गणेश (रक्तविनायक)उत्तरमा ३.मरु गणेश (अशोक विनायक) पश्चिममा र ४. क्वेना गणेश (जल विनायक) दक्षिणमा काठमाडौँ उपत्यकाका ४ प्रमुख गणेशकारुपमा रहेको पाइन्छ ।

प्रमुख ४ नारायणहरुमा १. चाँगु नारायण, भक्तपुर, उत्तरदिशामा २. इचंगु नारायण, हल्चोक, काठमाडौैँ, पश्चिम दिशामा ३. शेषनारायण, फर्पिङ्ग, काठमाडौँ, दक्षिण दिशामा र ४. विशङ्खु नारायण, ललितपुर, पूर्व दिशामा रहेको छ ।
काठमाडौं वरिपरिका चार टाकुराहरुमा १. फुचो (फुल्चोकी), २. धिलाचो (चम्पादेवी), ३. जामाचो (नागार्जुन), सिधिफुलचो (नगरकोट) यसैगरी काठमाडौं उपत्यकाकाको लागि सिमानाहरु निर्धारण गरिएर राखिएको पाइन्छ । जसका लागि चार भञ्ज्याङको वर्णन सरकारी दस्तावेजहरूमा खोज्दा अझै पनि भेटिन्छन् । ती भञ्ज्याङ्गहरुमा १. पूर्वमा सांगा भञ्ज्याङ, २. पश्चिममा बाँडभञ्ज्याङ, ३. उत्तरमा पाँचमाने भञ्ज्याङ र ४. दक्षिणमा फर्पिङ (सौखेल) भञ्ज्याङ उल्लेख पाइन्छ ।

अबः कुरा गरौ ४ उपत्यकाका ४ योगिनीको जसमा १. फर्पिङ्गको बज्रयोगिनी (दक्षिण दिशामा) २. साँखुको खड्गयोगिनी (बज्रयोगिनी) उत्तरदिशामा, ३. विजेश्वरी अर्थात आकासयोगिनी र ४. गुहेश्वरी अर्थात पाताल योगिनीकारुपमा रहेको छ । यी मध्ये यहाँ दक्षिणयोगिनी अर्थात फर्पिङ्गको बज्रयोगिनीको चर्चा गरिन्छ ।
फर्पिङ्गको बज्रयोगिनी (दक्षिणयोगिनी)
फर्पिङ्को बज्रयोगिनीको मन्दिर काठमाडौँ बल्खुदेखि करिब १८ किलोमिटरको दुरीमा दक्षिणतर्फ रहेको छ । बज्रयोगिनी मन्दिर रहेको फर्पिङ् क्षेत्र केवल तीर्थ स्थल मात्र नभई सांस्कृतिक पर्यटकीय क्षेत्रकारुपमा समेत परिचित हुँदै गईरहेको पाइन्छ । फर्पिङ्मा अवस्थित बज्रयोगिनी मन्दिर पहाडको उचाइमा रहेको छ । त्यसैले यहाँको हावापानी चिसो र मनमोहक छ । फर्पिङ्लाई तिब्बती भाषामा याङ्गलेशो भनिन्छ । यहाँ तिब्बती बौद्ध गुरु पद्मसंभवाले महामुद्रा विद्याधारा स्तरको बोध प्राप्त गरेका थिए । फर्पिङ्मा असुर गुफा र याङ्गलेशो गुफा गरी दुई प्रमुख गुफाहरू छन् । मन्दिरको भवन तीन तल्ले रहेको छ । भवनको माथिल्लो तलामा रहेको मुख्य मूर्ति साँघुरो घुम्ने बाटोले घेरिएको छ । वज्रयोगिनीको मूर्ति रातो रंगको छ, दाहिने खुट्टा जमिनमा र बायाँ खुट्टा सोझै आकाशतर्फ उठाइएको छ, जुन उनको बायाँ हातले तानेको जस्तो देखिन्छ । बज्रयोगिनीलाई फाम्थिङ्ग योगिनी, उद्धपाद योगिनी, इन्द्र योगिनी, वा नील तारा भनेर पनि चिनिन्छ । काठमाण्डौं दहलाई आफ्नो तरबारले डाँडा काटी पानी बगाएर बस्न योग्य बनाउने मन्जुश्रीले पनि बज्रयोगिनीबाट आशिर्वाद लिएका थिए भन्ने मान्यता रहेको छ ।
बज्रयोगिनीको मूल मूर्तिको बाँयापट्टी हुबहु बज्रयोगनीको मूर्ति सानो खटमा सजाएर राखेको समेत देख्न सकिन्छ । मूल मूर्तिमा हामीले छुन सक्दैनौ भने उक्त हुबहू मूर्तिलाई भने सजिलै स्पर्श गरी दर्शन गर्न सकिन्छ । जुन मूर्ति विशेषरुपमा नेवारी परम्परा अनुसार प्रत्येक वर्ष भाद्र महिनातिर पर्ने जुगः चह्रेको दिनमा मनाईने बज्रयोगिनी जात्राका लागि तयार गरि राखिएको हो । उक्त जात्राका लागि जात्रा हुनुभन्दा एकदिन अगाडि नै उक्त खटमा विराजमान जगतजननी माता बज्रयोगिनीको फर्पिङ् नारायणडबलीमा आगमन हुने र मन्दिरका परापूर्वकालदेखिका पुजारी सूर्यमुनी बज्रचार्यको सन्तानका घरमा राख्ने चलन रहेको छ । त्यसपछि भोलि पल्ट जुगः चह्रेका दिन फर्पिङ्मा रहेको सात टोल लगायत अन्य नगरपालिकाका टोलबासी मिलि महिला दिदीबहिनीहरुले लावा छर्दै, बाजागाजा सहित हर्षोल्लासकासाथ श्री बज्रयोगिनी जात्रा सम्पन्न गरी यथास्थानमा बिराजमान गराउने परम्परा रहिआएको छ । तान्त्रिक साधना एवम् ध्यान गर्ने साधकहरूका लागि श्री बज्रयोगिनी मन्दिर क्षेत्र निकै पवित्र मानिएको छ ।

विजयकुमार महर्जन,
फर्पिङ्, काठमाडौं
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २८ चैत्र २०८१, शुक्रबार १२:४५
युक्रेनद्वारा रुसीमा हालसम्मकै सबैभन्दा ठुलो आक्रमण, ११७ ड्रोनको प्रयोग

अब कोटेश्वर, बल्खु र सिफल चौर क्षेत्रमा मात्रै प्रदर्शन गर्न पाइने

राजसंस्था समर्थकद्वारा उपत्यका बन्द फिर्ता

भोली देखि देशभर अनिश्चितकालीन यातायात बन्द हुने घोषणा

चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु

Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide
