
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थगित गरेको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै यो वर्षको लागि कार्यक्रम स्थगित गरेकी हुन् ।
आगामी आर्थिक वर्षदेखि सिधै स्थानीय तहमा बजेट पठाइने गरी यो वर्ष उक्त कार्यक्रम स्थगित गर्ने निर्णय गरेकी हुन् । मन्त्री श्रेष्ठले संघीय तहबाट विद्यालय तहको योजना छनोट गर्नु गलत भएको निष्कर्ष निकाल्दै स्थानीय तहमा बजेट पठाउने निर्णय गरेकी हुन् ।
कार्यक्रम अन्तर्गत विद्यालय भवन निर्माण, सूचना प्रविधि, ल्याब र प्राविधिक धार सञ्चालनको लागि आगामी आर्थिक वर्षदेखि बजेट तर्जुमा कै क्रममा स्थानीय तहमा बजेट पठाउने गरी आवश्यक तयारी गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति शैक्षिक सुधारको कार्यक्रमको लागि यो वर्ष एक अर्ब रुपैयाँ विनियोजन गरिएको छ । मन्त्री श्रेष्ठले कार्यक्रम स्थगित गर्नुका विभिन्न कारण अघि सारेकी छन् । चालु आर्थिक वर्षमा भवन निर्माणका लागि समय समेत अत्यन्त कम भएको जनाएको छ। एकातर्फ राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमतर्फ भएको स्रोत उपयोग गर्न पनि समस्या देखिएको मन्त्रीको बुझाई छ । जाजरकोट र बझाङ भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवन पुनर्निर्माणका लागि आवश्यक बजेट व्यवस्थापन हुन नसकेको मन्त्री श्रेष्ठको बुझाई छ ।
मुसहर, चेपाङ लगायत सीमान्तकृत समुदाय रहेको स्थानमा नमुना सामुदायिक विद्यालय सञ्चालन गर्न समेत रकम विनियोजन गर्न आवश्यक देखिएको छ । सोही आधारमा मन्त्री श्रेष्ठले उक्त निर्णय गरेकी हुन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १४ चैत्र २०८०, बुधबार ०८:३२
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
