
लेखनाथ । पर्यटनको राजधानी पोखरामा भएको पहिलो राष्ट्रिय ड्रागन डुंगा दौडको उपाधि वाटर स्पोट्स नेपाल र नारा नेपालले जितेका छन् । पोखराको दोस्रो ठुलो ताल बेगनासमा भएको प्रतियोगिताको पाँच सय मिटरतर्फ वाटर स्पोट्स नेपाल र दुई सय मिटरतर्फ नेपाल र्याफ्टिङ एसोसिएसन (नारा) नेपाल प्रथम बने ।
दुई सय मिटरको खेल आइतबार र पाँच सय मिटरका खेल सोमबार साँझ भएको थियो । वाटर स्पोट्सले एक मिनेट ५७ सेकेन्डमा निर्धारित दूरी पार गरेको थियो । प्रथम बनेको वाटर स्पोट्सले दुई लाख, दोस्रो नारा नेपालले एक लाख ५० हजार र तेस्रो बनेको नेपाली सेनाले ७५ हजार नगदसहित प्रमाणपत्र पाएका छन् । दुई सय मिटरमा प्रथम बनेको नारा नेपालले एक लाख, दोस्रो बन्दै वाटर स्पोट्र्सले ५० हजार र तेस्रो बन्दै हर्पन फेवा मत्स्य सहकारी जलारी समूहले २५ हजारसहित प्रमाणपत्र पाएका छन् ।
महिलातर्फ पाँच सय मिटरमा बेगनास डुंगा व्यवसायी समिति पहिलो, बेगनास मत्स्य व्यवसायी समिति दोस्रो र जलारी दिदीबहिनी समूह तेस्रो भएका छन् । महिलातर्फकै दुई सय मिटरमा बेगनास मत्स्य व्यवसायी समिति, बेगनास डुंगा व्यवसायी समिति र जलारी दिदीबहिनी समूह क्रमशः पहिलो, दोस्रो र तेस्रो बने । महिलातर्फ दुवै इभेन्टका पहिलो, दोस्रो र तेस्रो समूहले क्रमशः नगद एक लाख, ५० हजार र २५ हजारका साथमा प्रमाणपत्र पाए ।
प्रतियोगितामा तीन महिला टिम र ११ पुरुषका गरी १४ टिम सहभागी थिए । नेपाल पर्यटन बोर्ड गण्डकी र पोखरा महानगर आयोजक रहेको प्रतियोगितालाई नेपाल ड्रागन बोट सङ्घ गण्डकी प्रदेश र होटेल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथले सह आयोजकका रूपमा सघाएका थिए ।
चीनबाट सुरु भएको ड्रागन बोट रेस ड्रागनको आकृति भएको डुंगा दौड हो । १२ जना सवार जुन डुंगाले निर्धारित दूरी कम समयमा पार गर्छ, त्यही समूह विजयी हुन्छ । पोखराको फेवातालमा गएको असार दोस्रो साता ड्रागन बोट रेस भएको थियो । त्यही बेला ल्याइएका आठ विशेष डुंगा प्रतियोगितामा प्रयोग गरिएका थिए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १३ चैत्र २०८०, मंगलवार ०८:१२
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
