रास्वपाका यी सांसदहरु झापाको भ्रमणमा व्यस्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही प्रतिनिधिसभा सदस्यले आफ्नो निर्वाचन क्षेत्रमा पुगेर नागरिकका गुनासो सुन्ने, सरकारी कार्यालयको अनुगमन गर्ने र सेवा प्रवाहको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन थालेका छन् ।

झापा निर्वाचन क्षेत्र नम्बर–१ की प्रतिनिधिसभा सदस्य तथा रास्वपाकी सहमहामन्त्री निशा डाँगी र निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य एवं पूर्वउपसभामुख इन्दिरा रानामगर विगत एक सातादेखि निर्वाचन क्षेत्रका पालिका, सहकारी कार्यालय र स्थानीय समुदायमा पुगेर नागरिकसँग प्रत्यक्ष संवादमा जुट्नु भएको छ । उहाँहरुले सेवा प्रवाहको अवस्था बुझ्नुका साथै नागरिकका गुनासा, सुझाव र अपेक्षालाई टिपोट गर्दै सम्बन्धित निकायसँग समन्वयको प्रयास गरिरहनुभएको छ ।

सर्वसाधारण जनताका अपेक्षा र निर्वाचनको समयमा गरिएका प्रतिबद्धताहरु पूरा गर्नका लागि आफु सधैं प्रतिबद्ध रहेको झापा क्षेत्र नं. १ की प्रतिनिधिसभा सदस्य डाँगीले बताउनुभयो । उहाँले भन्नुभयो, “जनताको विश्वासलाई हामी मर्न दिँदैनौँ, सीमा क्षेत्रको समय, हात्तीपीडितका समस्या, पूर्वाधार विकासलगायतका विषयमा आफुलाई धेरै गुनासा आएको छ ।”

झापा क्षेत्र नं. २ की प्रतिनिधिसभा सदस्य इन्दिरा रानामगरले बिर्तामोडको कृषिथोक बजार व्यवस्थापन, हात्ती समस्या, पूर्वाधार विकास, मलबिउ समयमा नपाएका गुनासो आएको बताउनुभयो ।

यस्तै झापा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य प्रकाश पाठक र क्षेत्र नम्बर–४ का प्रतिनिधिसभा सदस्य शम्भु सुस्केरा केही दिनदेखि आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय हुनुहुन्छ । स्थानीयसँग भेटघाट, विकास आयोजनाको अनुगमन, सरकारी कार्यालयको निरीक्षण र जनताका समस्या सुन्ने कार्यमा उहाँहरु व्यस्त देखिनुभएको हो । पाठकले भन्नुभयो, ‘नागरिकको उत्साह, साथ र सामीप्यले नै सामुहिक लक्ष्य हासिल गर्न सकिन्छ भन्नेमा विश्वास छ ।’

झापाका प्रतिनिधिसभा सदस्यका लागि पाँच वटा निर्वाचन क्षेत्र रहेकोमा सबै रास्वपाले नै जित हासिल गरेको थियो । झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाह प्रधानमन्त्री हुनुहुन्छ । कार्यव्यस्तताले उहाँ भने आफ्नो निर्वाचन क्षेत्रमा पुग्न भएको छैन ।
झापामा ५ वटै क्षेत्रमा रास्वपाले निर्वाचनमा विजय प्राप्त गरेको हुँदा जिल्लामा अवस्थ पनि विकास हुनेछ भन्ने झापावासीहरुले गर्न थालेका छन् ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-07-25