नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा मिस नेपाल इन्टरनेशनल २०२४ का करुणा राउतलाई सद्भावना दूत सम्मान

काठमाडौं, नेपाली क्यान्सर निवारण प्रतिष्ठानले मिस नेपाल इन्टरनेशनल २०२४ का करुणा राउतलाई आफ्नो सद्भावना दूतका रूपमा विशेष सम्मान प्रदान गरेको छ। क्यान्सरबारे जनचेतना अभिवृद्धि र उपचारको पहुँच विस्तारमा युवाको सहभागिता सुनिश्चित गर्न प्रतिष्ठानले राउतलाई सद्भावना दूत नियुक्त गरेको हो।

समारोह काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरको फूड कोर्टमा गत हप्ता सम्पन्न भएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व रक्षा मन्त्री, माननीय भिमशेन दास प्रधानका साथै नेपाल क्यानसर निवारण प्रतिष्ठानका पदाधिकारीहरु द्वारा करुणा रावतलाई सद्भवना दूतका प्रमाण पत्र हस्तानतरण गरिएको थियो ।

साथै कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान, वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठ, कोषाध्यक्ष फुपु तेन्जिङ शेर्पालगायतका पदाधिकारीहरूको उपस्थितिमा राउतलाई सम्मान गरियो।

कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले भने, “युवा पुस्ता र समाजमा प्रभावशाली छवि बनाइसकेकी करुणा राउतजस्ता नेतृत्वको साथ पाएर क्यान्सरबारे सचेतना जगाउन र समयमै उपचारको सन्देश फैलाउन हाम्रो प्रयास अझ प्रभावकारी हुनेछ।”

सद्भावना दूत करुणा राउतले पनि आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भनिन्,“क्यान्सर समयमै पहिचान भए उपचार सम्भव छ भन्ने सन्देश समाजका सबै तहमा पुर्‍याउन म आफ्नो भूमिकामा सक्रिय रहन्छु।”

नेपाल क्यान्सर निवारण प्रतिष्ठानले क्यान्सरबारे शिक्षा, समयमै स्वास्थ्य परीक्षणको महत्त्व र उपचारको सहज पहुँच सुनिश्चित गर्न विभिन्न अभियान सञ्चालन गर्दै आएको छ। राउतको सक्रिय सहभागिताले यस अभियानलाई थप सशक्त र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-09-03