पवित्र समाजवाद पुस्तक सार्वजनिक

बनेपा । डा. गोपाल पौड्याल ‘मण्डने’ द्वारा लिखित पुस्तक ‘पवित्र समाजवाद’ सार्वजनिक गरिएको छ । शब्दयात्रा प्रकाशनको सभाकक्षमा आज २०८२ साल साउन १७ गते शनिबार आयोजित समारोहमा थैलीमा राखिएको उक्त पुस्तक झिकेर पूर्वप्रशासक, लेखक तथा प्राकृतिक चिकित्सक डा। इन्दुल केसी र फोटोग्राफर तथा विश्वकीर्तिमानी गीतकार हरिगोपाल प्रधानले संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।

‘पवित्र समाजवाद’ शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित २ सय ५७ औँ पुस्तक हो । यस पुस्तकका लेखक डा. गोपाल पौड्याल ‘मण्डने’ काभ्रेपलाञ्चोक जिल्लाका राष्ट्रिय प्रतिभा हुनुहुन्छ र हाल बेलायतमा बस्नुहुन्छ । नेपाली पनलाई आधार बनाएर पवित्र समाजवादको सिद्धान्त प्रस्तुत गरिएको यस पुस्तकले नेपाललाई सुशासनयुक्त समुन्नत राष्ट्र बनाउने छुट्टै मार्गचित्रको परिकल्पना गरेको छ ।

यो पुस्तक ३ सय ४ पृष्ठको छ र मूल्य ५ सय रुपियाँ राखिएको छ । नेपाललाई भ्रष्टाचारमुक्त, द्रुत न्यायप्रणालीयुक्त र आर्थिक रूपमा समृद्ध राष्ट्र बनाउन यो पुस्तक सफल हुने विश्वास डा. रत्नकमल वैद्यको छ । डा. इन्दुल केसीका अनुसार गहिरो अनुसन्धान गरी व्यावहारिक दृष्टिकोण र नीतिनिर्माणका ठोस उपायहरू यस पुस्तकमा प्रस्तुत गरिएको छ ।

एकदिने अदालतको व्यवस्था र प्रशासनिक सुधार जस्ता विषयहरू यस पुस्तकका मुख्य विशेषता हुन् । न्यायिक सुधार, प्रशासनिक सुदृढीकरण र आर्थिक क्रान्तिको खाका कोर्न यस पुस्तकले महत्त्वपूर्ण योगदान पु¥याउनेछ । देशको रूपान्तरणका लागि यो पुस्तक मार्गदर्शक बन्नेछ । शिक्षासेवी तथा साहित्यकार महेश्वर खनालले ‘पवित्र समाजवाद’ पुस्तक विश्वविद्यालयले समाजशास्त्र, राजनीतिशास्त्र, संस्कृति, वातावरण र कृषि जस्ता विषयको पाठ्यपुस्तक बनाउन योग्य रहेको र एमए, एमफिल र पीएचडी गरिरहेका शोधार्थीहरूका लागि अत्यन्त उपयोगी हुने धारणा राख्नुभएको छ ।

गुरुमहिमा भजन शब्दयात्रा प्रकाशनबाट
शब्दयात्रा प्रकाशनले अक्षरधाम यु–ट्युब च्यानलमार्फत ‘गुरुमहिमा’ नेपाली भजन आजदेखि साङ्गीतिक बजारमा ल्याएको छ । आज साउन १७ गते शनिबार शब्दयात्रा प्रकाशनको सभाकक्ष बनेपामा आयोजित समारोहमा उक्त भजन सार्वजनिक गरिएको छ । ‘गुरुमहिमा’ को ‘म्युजिक भिडिओ’ उक्त कार्यक्रममा प्रस्तुत गरिएको थियो । सकुल थापा र रश्मि हुमागाईंले संयुक्त रूपमा उक्त भजन सार्वजनिक गर्नुभएको हो ।

आध्यात्मिक एवम् सामाजिक व्यक्तित्व तथा लेखक सकुल थापाको लेखन रहेको उक्त भजनमा दिदीभाइ रश्मि हुमागाईं र इ। रोशन मञ्जुश्री अधिकारीको स्वर रहेको छ । भजनका सङ्गीतकार हरि मञ्जुश्री हुनुहुन्छ भने गीतिभास्कर मच्छेश्वर सापकोटाले भजनकोे सुपरिवेक्षण गर्नुभएको छ । कार्यक्रममा भजनका शब्द, सङ्गीत, स्वर र गायकीका विषयमा विश्लेषण गर्दै टिप्पणीकारका तर्फबाट शब्दयात्रा प्रकाशनबाट उच्च स्तरको भजन तयार भएको कुरा बताइएको थियो ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-08-03