
बनेपा । शब्दयात्रा प्रकाशनले यही २०८२ साल साउन १७ गते (शनिबार) आठजना प्रतिभालाई पुरस्कार समर्पण गर्ने भएको छ ।
प्रशासनिक क्षेत्रका महिला प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी लोकसेवा आयोगका पूर्वसदस्य, पूर्वसचिव तथा गायिका उर्मिला श्रेष्ठले अक्षयकोषको व्यवस्था गरिदिनुभएको ‘प्रशासनिक महिला प्रतिभा पुरस्कार’ २०८२ सालका लागि पूर्वप्रशासक लीलादेवी गड्तौलामा समर्पण गर्ने भएको छ । तेह्रथुम जिल्लाको म्याङ्लुङ पिप्लेमा २०२३ सालमा जन्मनुभएकी उहाँ नेपालको पहिलो महिला मुख्यसचिव हुनुहुन्छ । कानुन तर्जुमा र लैङ्गिक न्यायका विषयमा विशेष दखल राख्ने उहाँले देशमा हाल लागू भएको देवानी संहिता निर्माण गर्ने क्रममा आफ्नो क्षमता प्रदर्शन गर्नुभएको छ ।
यसै गरी शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा कृष्ण जोशी भोजपुर प्रतिभा पुरस्कार’ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपालमा समर्पण गर्ने भएको छ । भोजपुर जिल्लाको कटुन्जेमा २०१८ सालमा जन्मनुभएका उहाँले कविता, गीतिकाव्य, खण्डकाव्य, महाकाव्य, बालगीत, बालकथा, निबन्ध, समालोचना आदि विधामा विभिन्न कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुका साथै पाठ्यपुस्तक पनि लेख्नुभएको छ । लामो समयसम्म प्राध्यापन गरेर निवृत्त हुनुभएका उहाँले स्मृतिग्रन्थ र पत्रिकाहरूको सम्पादन पनि गर्नुभएको छ । भोजपुर जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी कवि कृष्ण जोशीले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको हो ।

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा प्रा. केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ साहित्यकार लोकमान मास्केमा समर्पण गर्ने भएको छ । सङ्खुवासभा जिल्लाको खाँदबारीमा २००६ सालमा जन्मनुभएका उहाँले साहित्यिक र गैरसाहित्यिक क्षेत्रका विभिन्न पुस्तकहरू लेखी प्रकाशन गराउनुभएको छ । हाल साहित्यिक लेखनमा सक्रिय उहाँ यसअघि नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तथा लेखापरीक्षणमान बोर्डका प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो । सङ्खुवासभा जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी लेखिका तथा समाजसेवी लीलादेवी श्रेष्ठले यस पुरस्कारका लागि कोषको व्यवस्था गरिदिनुभएको हो ।

यसै गरी शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा लीला–मध्यमार्ग काभ्रेपलाञ्चोक प्रतिभा पुरस्कार’ साहित्यकार कृष्णहरि मैनालीमा समर्पण गर्ने भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको वाल्टिङमा २०१५ सालमा जन्मनुभएका उहाँले विभिन्न विधामा सवा दर्जन कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुभएको छ । उहाँ आध्यात्मिक विषयवस्तु लिएर नैतिक शिक्षामा जोड दिँदै साहित्यिक सिर्जना गर्ने सर्जकका रूपमा सुपरिचित हुनुहुन्छ । काभ्रेपलाञ्चोक जिल्लाका प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी समाजसेवी निरोज थापाले आफ्ना मावली हजुरबुबा लीलाबहादुर केसीको सम्मानमा मध्यमार्ग साप्ताहिकमार्फत यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको हो ।

शब्दयात्रा प्रकाशनबाट भक्तपुर जिल्लाका राष्ट्रिय प्रतिभालाई हरेक वर्ष पुरस्कार समर्पण गर्ने गरी आख्यानकार भरत जङ्गमले शब्दयात्रा प्रकाशनमा व्यवस्था गरिदिनुभएको कोषबाट समर्पण गरिने ‘भक्तपुर प्रतिभा पुरस्कार’ २०८२ सालका लागि भक्तपुरका राष्ट्रिय प्रतिभा गायक सत्यनारायण मानन्धरमा समर्पण गरिने भएको छ । भक्तपुर जिल्लाको टौमढी टोलमा २०२३ सालमा जन्मनुभएका उहाँले नेपाली तथा नेवारी भाषाका गीतहरूका साथै मल्ल राजाहरूका पुराना गीत पनि गाउनुभएको छ । एकल गीत गायन कार्यक्रम समेत सम्पन्न गर्नुभएका उहाँका ‘बिरानीमा’ र ‘सः सत्यनारायण या’ क्यासेट र ‘जिगु देश छ य छ जित अति य’, ‘दाला ज्वना न्याकुं न्याकुं कया’, ‘असं त्वा या दबु कुने’, ‘न्ये न्यापा झ्या या दरबार’ म्युजिक भिडिओहरू निस्केका छन् ।

यसै गरी शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा सूर्यप्रसाद श्रेष्ठ कर्मशीलता पुरस्कार’ साहित्यकार रेणुका भट्टराईमा समर्पण गर्ने भएको छ । काभ्रेपलाञ्चोक जिल्लामा २०३८ सालमा जन्मेर वैवाहिक सम्बन्धबाट पाल्पाली हुनुभएकी उहाँले विभिन्न साहित्यिक कृतिहरूको सिर्जना गरी प्रकाशन गराउनुका साथै साहित्यिक पत्रिकाहरूको पनि सम्पादन गर्नुभएको छ भने साहित्यिक संस्था र विद्युतीय सञ्चार माध्यम पनि सञ्चालन गर्नुभएको छ ।

श्रीमानको निधनपछि उहाँको अभियानलाई निरन्तरता दिँदै शारीरिक अस्वस्थता हुँदाहुँदै पनि उहाँ नेपालको मौलिक छन्दलय ‘झ्याउरे’ लाई पुनर्जागरण गराएर अन्तर्राष्ट्रिय व्याप्ति दिने अभियानमा हुनुहुन्छ । कुनै पनि विधाको कर्मशील प्रतिभालाई हरेक वर्ष समर्पण गर्ने गरी पूर्वराजदूत तथा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले यस पुरस्कारका लागि अक्षयकोषको व्यवस्था गरिदिनुभएको हो ।

शब्दयात्रा प्रकाशनले २०८२ सालको ‘शब्दयात्रा रणलक्ष्मी राष्ट्रिय प्रतिभा पुरस्कार’ साहित्यकारद्वय कुमार काफ्ले र कमला महतमा संयुक्त रूपमा समर्पण गर्ने भएको छ । ओखलढुङ्गा जिल्लाको यसममा २०४१ सालमा जन्मनुभएका कुमार काफ्लेले उपन्यास, कथा र गीत विधामा तथा नुवाकोट जिल्लाको शिखरबेसीमा २०२५ सालमा जन्मनुभएकी कमला महतले ‘अनन्त’ कृतिमार्फत बाछिटा विधामा योगदान गर्नुभएको छ । दुवैजना शिक्षण पेसामा संलग्न हुनुहुन्छ । वाङ्मय क्षेत्रका प्रतिभाशाली व्यक्तित्वलाई हरेक वर्ष समर्पण गर्ने गरी कवि अमर त्यागीले आफ्ना पितामाताको नाउँमा यस पुरस्कारका लागि कोषको व्यवस्था गरिदिनुभएको हो ।

शब्दयात्रा प्रकाशनद्वारा गठित पुरस्करणीय व्यक्तित्व चयन समितिको बैठकले उहाँहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । उहाँहरूजस्ता व्यक्तित्वलाई पुरस्कृत गर्न पाउँदा शब्दयात्रा प्रकाशन गौरवान्वित बनेको छ ।
Sudina Shrestha
प्रकाशित: ९ श्रावण २०८२, बिहीबार १०:४५
Rising Nepal Summit 2025 : Paving the Path for Investment and Growth

द हिडन ट्रेजर्स मिस नेपाल २०२५को स्यास समारोह पुलचोकस्थित ‘द प्लाजा’ मा भव्य रूपमा सम्पन्न

भिजिट भिसा प्रकरण रास्वपा र राप्रपाको आजपनि संसद बहिष्कार

एक महिनासम्म मनाईने ‘गुँला पर्व’ आजदेखि

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै

काँग्रेसको पदाधिकारी बैठक बस्दै, मन्त्रीहरु पनि सहभागी हुने
