काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत पशुपति क्षेत्र विकास कोषद्वारा सञ्चालित नेपाल वेदविधा आश्रम संस्कृति माध्यमिक विद्यालयले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा ऐतिहासिक सफलता हासिल गरेको छ । विद्यालयका १४ जना परीक्षार्थीमध्ये ११ जनाले ए प्लस र ३ जनाले ए ग्रेड हासिल गरेका छन् ।
संस्कृत भाषा र साहित्यमा आधारित शिक्षालय नेपाल वेदविधा आश्रमले यसपटक ८५ प्रतिशतभन्दा बढी विद्यार्थीलाई ए प्लसमा पुर्याउनुका साथै सम्पूर्ण विद्यार्थीलाई उतीर्ण गराएर शिक्षा क्षेत्रमा अनुकरणीय उदाहरण प्रस्तुत गरेको हो।
उक्त उपलब्धिप्रति खुशी व्यक्त गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विद्यालयलाई एक औपचारिक समारोहमार्फत बधाई तथा शुभकामना दिए । कार्यक्रममा मन्त्री पाण्डेले संस्कृत विषयको अध्ययन आफैंमा चुनौतीपूर्ण रहेको उल्लेख गर्दै भने, ‘संस्कृत व्याकरण र साहित्यजस्ता कठिन विषयमा समेत ३.९५ सम्मको जीपीए ल्याउनु गौरवको विषय हो ।’
उनले भने- ‘नेपाल वेदविधा आश्रमले यसपटक जुन प्रेरणादायी नतिजा देखायो, यो संस्कृत शिक्षाको उज्यालो सम्भावनाको संकेत हो। संस्कृत र अंग्रेजी दुवैमा दक्ष विद्यार्थी संसारको जुनसुकै कुनामा काम लाग्ने हुन्छन् ।’
त्यस अवसरमा मन्त्री पाण्डेले मन्त्रालय अन्तर्गतका अन्य निकायहरूको प्रगतिको चर्चा गर्दै भने, ‘सांस्कृतिक संस्थानले मात्रै ७० प्रतिशत नाफा कमाउन सफल भएको छ भने वेदविधा आश्रमले प्राप्त गरेको शैक्षिक सफलता संस्थागत प्रतिबद्धताको सशक्त उदाहरण हो ।’
विद्यालयका प्राचार्य केशवप्रसाद अधिकारीले विगत १० वर्षदेखि एसइईमा शत प्रतिशत उतीर्णको परम्परा कायम राख्दै आएको जानकारी गराए । उनले सीमित स्रोतसाधनबीच पनि संस्कृत अध्ययनतर्फ विद्यार्थीको आकर्षण बढ्दो रहेको बताए ।
प्राचार्य अधिकारीका अनुसार विद्यालयमा हाल कक्षा ४ देखि १२ सम्म अध्यापन हुँदै आएको छ। विद्यालयमा १५ जना शिक्षकमध्ये ७ जना आंशिक शिक्षक छन् भने उनी स्वयम् मात्र स्थायी शिक्षक रहेका छन् ।
पशुपति क्षेत्र विकास कोष अन्तर्गत सञ्चालनमा रहेको विद्यालयमा हाल १०९ जना छात्र छात्रावासमा बसेर अध्ययनरत छन् भने २१५ जना छात्र छात्रावासबाहिरबाट अध्ययन गरिरहेका छन् ।
विद्यालयको निरन्तर शैक्षिक उन्नयन सुनिश्चित गर्न कोषबाट कुनै कसर बाँकी नराखिने कोषका निमित्त सचिव सुभाष जोशीले जानकारी दिए । उनले संस्कृत शिक्षाको विस्तार र प्रवर्द्धनमा वेदविधा आश्रमले खेलेको भूमिकालाई थप प्रभावकारी बनाउन मन्त्रालयको तर्फबाट निरन्तर सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गरे ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-07-03
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
