काठमाडौं । नेपालले पहिलोपटक बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । शनिबारबाट बंगलादेशमा विद्युत निर्यात सुरु गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले शनिबारबाट बंगलादेशमा विद्युत निर्यात शुरु भएको जानकारी दिदै यसले देश समृद्धिको दिशामा बढेको बताए । उनले नेपाल तेस्रो मुलुक विद्युत् निर्यात गर्ने दक्षिण एसियाकै पहिलो देश बनेको भन्दै यो ऐतिहासिक क्षण भएको बताए ।
मन्त्री दीपक खड्काको पहलमा नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ मा विद्युत् बेच्ने सम्झौता भएको थियो । ऊर्जामन्त्री खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कविर खानबीच संयुक्त रूपमा स्विच अन गरी विद्युत् निर्यातको उद्घाटन काठमाडौंमा गरिएको थियो ।
सम्झौता अनुसार हरेक वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता भएको थियो । सो सम्झौतासँगै शनिबारबाट बंगलादेश विद्युत् निर्यात गर्न लागिएको हो । यसअघि सम्झौता भएसँगै १ दिन विद्युत् बिक्री गर्दा प्राधिकरण ४ लाख ७० हजार युनिट बिजुली बिक्री गरिएको थियो र यसबाट ३० हजार ८० डलर आम्दानी भएको थियो । यसअघि नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएको थियो ।
नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बंगलादेशलाई बिक्री गर्न लागिएको हो । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारणलाइन ढल्केबर–मुजफ्फरपुर ४०० केभीमार्फत विद्युत भारत पठाउने गरिएको छ । मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइन हुँदै बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत विद्युत् बंगलादेश पुग्नेछ ।
विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० मेगावाट र २१.४० मेगावाट गरी ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्नेछ । ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म अर्थात ५ वर्षसम्म बंगलादेश निर्यात गर्ने सहमति भएको छ भने भारतले सरकारले पनि प्रसारण लाइनको प्रयोग गर्न स्वीकृति दिएको छ ।
नेपालमा वर्षायाममा बढी भएको विद्युत् मध्ये ४० मेगावाट विद्युत् पाँच वर्षसम्म अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी यसअघि नै सम्झौता भइसकेको छ ।
प्राधिकरणले मुजफ्फरपुर बिन्दुपछिको प्रसारणलाइन शुल्क, चुहावट, एनभीभीएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्ने सहमति छ । नेपालले निर्यात गरेको बिजुलीको बक्यौतासमेत बंगलादेशस्थित बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले तिर्ने सहमति भएको छ ।
यसै अवसरमा उर्जामन्त्री खड्काले भनेका छन्-
यी उपलब्धिहरूले नेपालको ऊर्जा अधिकतालाई अवसरमा रूपान्तरण गर्दै, क्षेत्रीय ऊर्जा बजारमा हाम्रो उपस्थिति सुनिश्चित गर्ने ऐतिहासिक कदमको रूपमा चिनिन्छ । बांगलादेश सरकारलाई हाम्रो विद्युत् स्वीकार गरी उपयोग गरेकोमा विशेष धन्यवाद दिन चाहन्छु। साथै, भारत सरकारलाई अन्तरदेशीय ट्रान्समिशनमार्फत विद्युत् निर्यातमा सहयोग पुर्याएकोमा हार्दिक आभार व्यक्त गर्दछु ।
भारतका ऊर्जामन्त्री मनोहर लाल, जसको दूरदर्शी पहल र नेतृत्वले यो ऐतिहासिक कार्य सम्भव भएको हो । बंगलादेश सरकारकी वातावरण, वन र जलवायु परिवर्तन सल्लाहकार माननीय सैयदा रिजवाना हसनज्यूलाई, यस ऐतिहासिक सहकार्यका लागि तपाईंको सक्रिय र अमूल्य समर्थनको लागि आभार व्यक्त गर्दछु । नेपालको ऊर्जा निर्यातको यो प्रारम्भिक यात्रा हाम्रो अर्थतन्त्रको वृद्धी, ऊर्जा कूटनीति र क्षेत्रीय ऊर्जा सुरक्षाको प्रति हाम्रो प्रतिबद्धता र दूरदर्शिता को स्पष्ट संकेत हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-06-15
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
