नेपालले पहिलोपटक बंगलादेशलाई विद्युत् बिक्री शुरु

काठमाडौं । नेपालले पहिलोपटक बंगलादेशलाई ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको छ । शनिबारबाट बंगलादेशमा विद्युत निर्यात सुरु गरिएको हो । 

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालले शनिबारबाट बंगलादेशमा विद्युत निर्यात शुरु भएको जानकारी दिदै यसले देश समृद्धिको दिशामा बढेको बताए । उनले नेपाल तेस्रो मुलुक विद्युत् निर्यात गर्ने दक्षिण एसियाकै पहिलो देश बनेको भन्दै यो ऐतिहासिक क्षण भएको बताए । 

मन्त्री दीपक खड्काको पहलमा नेपाल, भारत र बंगलादेशबीच २०८१ असोज १७ मा विद्युत् बेच्ने सम्झौता भएको थियो । ऊर्जामन्त्री खड्का, भारतका विद्युत्मन्त्री मनोहरलाल र बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज मन्त्रालयका सल्लाहकार मोहमद फोजुल कविर खानबीच संयुक्त रूपमा स्विच अन गरी विद्युत् निर्यातको उद्घाटन काठमाडौंमा गरिएको थियो । 

सम्झौता अनुसार हरेक वर्षायामको ५ महिना अर्थात् हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म ४० मेगावाट बिजुली बिक्री गर्ने सम्झौता भएको थियो । सो सम्झौतासँगै शनिबारबाट बंगलादेश विद्युत् निर्यात गर्न लागिएको हो ।  यसअघि सम्झौता भएसँगै १ दिन विद्युत् बिक्री गर्दा प्राधिकरण ४ लाख ७० हजार युनिट बिजुली बिक्री गरिएको थियो र यसबाट ३० हजार ८० डलर आम्दानी भएको थियो । यसअघि नेपाल र भारतबीच मात्र विद्युत् व्यापार हुँदै आएको थियो । 

नेपालमा उत्पादित विद्युत् भारतको प्रसारण संरचना हुँदै बंगलादेशलाई बिक्री गर्न लागिएको हो । नेपाल र भारतबीचको पहिलो अन्तरदेशीय प्रसारणलाइन  ढल्केबर–मुजफ्फरपुर ४०० केभीमार्फत विद्युत भारत पठाउने गरिएको छ । मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइन हुँदै बेहरामपुर (भारत)–भेडामारा (बंगलादेश) ४०० केभी प्रसारण लाइनमार्फत विद्युत् बंगलादेश पुग्नेछ । 

विद्युत् प्राधिकरणले त्रिशूली र चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित क्रमशः १८.६० मेगावाट र २१.४० मेगावाट गरी ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्नेछ । ४० मेगावाट विद्युत् सन् २०२९ अक्टोबर २ सम्म  अर्थात ५ वर्षसम्म बंगलादेश निर्यात  गर्ने सहमति भएको छ भने भारतले सरकारले पनि प्रसारण लाइनको प्रयोग गर्न स्वीकृति दिएको छ ।

नेपालमा वर्षायाममा बढी भएको विद्युत् मध्ये ४० मेगावाट विद्युत् पाँच वर्षसम्म अमेरिकी डलरमा बंगलादेशलाई बिक्री गर्नेछ । प्राधिकरणले बंगलादेश विद्युत् बिक्री गरी प्रतियुनिट ६.४० अमेरिकी सेन्ट पाउने गरी यसअघि नै सम्झौता भइसकेको छ । 

प्राधिकरणले मुजफ्फरपुर बिन्दुपछिको प्रसारणलाइन शुल्क, चुहावट, एनभीभीएन, भारतले लिने ट्रेडिङ मार्जिनलगायतका सम्पूर्ण कर तथा शुल्कहरू बंगलादेशले नै बेहोर्ने सहमति छ । नेपालले निर्यात गरेको बिजुलीको बक्यौतासमेत बंगलादेशस्थित बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) ले तिर्ने सहमति भएको छ ।

यसै अवसरमा उर्जामन्त्री खड्काले भनेका छन्- 

यी उपलब्धिहरूले नेपालको ऊर्जा अधिकतालाई अवसरमा रूपान्तरण गर्दै, क्षेत्रीय ऊर्जा बजारमा हाम्रो उपस्थिति सुनिश्चित गर्ने ऐतिहासिक कदमको रूपमा चिनिन्छ । बांगलादेश सरकारलाई हाम्रो विद्युत् स्वीकार गरी उपयोग गरेकोमा विशेष धन्यवाद दिन चाहन्छु। साथै, भारत सरकारलाई अन्तरदेशीय ट्रान्समिशनमार्फत विद्युत् निर्यातमा सहयोग पुर्याएकोमा हार्दिक आभार व्यक्त गर्दछु ।

भारतका ऊर्जामन्त्री मनोहर लाल, जसको दूरदर्शी पहल र नेतृत्वले यो ऐतिहासिक कार्य सम्भव भएको हो । बंगलादेश सरकारकी वातावरण, वन र जलवायु परिवर्तन सल्लाहकार माननीय सैयदा रिजवाना हसनज्यूलाई, यस ऐतिहासिक सहकार्यका लागि तपाईंको सक्रिय र अमूल्य समर्थनको लागि आभार व्यक्त गर्दछु । नेपालको ऊर्जा निर्यातको यो प्रारम्भिक यात्रा हाम्रो अर्थतन्त्रको वृद्धी, ऊर्जा कूटनीति र क्षेत्रीय ऊर्जा सुरक्षाको प्रति हाम्रो प्रतिबद्धता र दूरदर्शिता को स्पष्ट संकेत हो ।

Sudina Shrestha

प्रकाशित: १ असार २०८२, आईतवार १०:५३