
बनेपा । शब्दयात्रा प्रकाशनले यही असोज ११ गते शुक्रबार विशेष समारोहको आयोजना गरी सात विधाका सम्मान समर्पण गर्नुका साथै एउटा आध्यात्मिक गान र एउटा पुस्तक सार्वजनिक गरेको छ । हरेक वर्ष ३ चरणमा २२ विधाका सम्मान समर्पण गर्ने गरेको शब्दयात्रा प्रकाशनले उक्त समारोहमा २०८१ सालको दोस्रो चरणको सम्मान समर्पण गरेको हो ।

समारोहमा बलदेव थापा (भक्तपुर) लाई ‘शब्दयात्रा गोपाल प्रधान स्तम्भकार सम्मान’, अच्युतप्रसाद पौडेल ‘चिन्तन’ (काठमाडौँ) ‘शब्दयात्रा षडानन्द अधिकारी आध्यात्मिक पत्रकारिता सम्मान’, अमर अखण्ड हरिनाम सङ्कीर्तन मण्डल (काभ्रेपलान्चोक) ‘शब्दयात्रा नीलकण्ठेश्वर कृष्णमणि आध्यात्मिक संस्था सम्मान’, ‘गोलसिमल’ साहित्यिक पत्रिका (सर्लाही) ‘शब्दयात्रा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान’, प्रदीपराज वन्त (गोरखा) ‘शब्दयात्रा रत्नदेवी प्रधान फोटो पत्रकारिता सम्मान’, रोमा न्यौपाने (मोरङ) ‘शब्दयात्रा मेलवादेवी गुरुङ महिला प्रतिभा सम्मान’ र नीरकला शर्मा अधिकारी (चितवन) ‘शब्दयात्रा बेलप्रसाद श्रेष्ठ दानशीलता सम्मान’ समर्पण गरिएको छ । यी सम्मानहरू हरिगोपाल प्रधान, सुदर्शन आचार्य, शब्दयात्रा प्रकाशन, योगेन्द्र खत्री, द्रोणप्रसाद श्रेष्ठ र बेलप्रसाद श्रेष्ठबाट व्यवस्था गरिएका हुन् ।

उक्त समारोहमा हरि मञ्जुश्रीको आध्यात्मिक गान ‘माता मे भूमिः’ लाई मच्छेश्वर सापकोटाले र डा. इन्दुल केसीद्वारा सम्पादित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशित पुस्तक ‘स्मृतिपुष्पका पराग’ लाई बेलप्रसाद श्रेष्ठ र डा. इन्दुल केसीले संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।

शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीको सभापतित्वमा शारदाप्रसाद शर्माद्वारा सञ्चालित उक्त समारोहमा लेखक, समाजसेवी तथा पर्यटन व्यवसायी बेलप्रसाद श्रेष्ठ प्रमुख अतिथि थिए भने समारोहको समुघाटन जयनारायण नेपालले गरेका थिए ।

समारोहमा अभिवन्दनापत्र समर्पण चन्द्रबहादुर खड्काले, किरीट समर्पण हरि मञ्जुश्रीले, माला समर्पण पदम दाहालले, उपहार र भेटी समर्पण हरि गोपाल प्रधान, कृष्णमणि कुइकेल र द्रोणप्रसाद श्रेष्ठले गर्नुभएको थियो भने छायाङ्कन तथा स्वराङ्कन इ. रोशन मञ्जुश्री अधिकारी, सागर श्रेष्ठ र पद्मसुन्दर कक्षपतिले गरेका थिए । रुद्राक्षमाला समर्पण वेदप्रसाद गौतमले, चयन समितिका सदस्यहरूलाई उपहार समर्पण टीपी शर्मा तिमिल्सिनाले, प्रमुख अतिथिलाई उपहार समर्पण कृष्णमणि कुइकेलले गरेका थिए । प्रमाणपत्र वाचन पुण्यवती घलेले र सम्मान सामग्रीको व्यवस्थापन सङ्गीता केसीले गर्नुभएको उक्त समारोहमा अमर निवासका तर्फबाट हरिनाम सङ्कीर्तन गाइएको थियो । आबाल ब्रह्मचारी षडानन्द अधिकारी, मनका श्रेष्ठ र सावित्री केसीका तस्बिरमा माल्यार्पण गरिएको थियो । कार्यक्रमको समापन हास्यव्यङ्ग्यकार भोजराज रेग्मी मुखालेले गरेका थिए ।

‘स्मृतिपुष्पका पराग’ सार्वजनिक
डा. इन्दुल केसीद्वारा सम्पादित तथा शब्दयात्रा प्रकाशनद्वारा प्रकाशत कृति ‘स्मृतिपुष्पका पराग’ लाई सार्वजनिक गरिएको छ । प्रमुख अतिथि अग्रज समाजसेवी बेलप्रसाद श्रेष्ठ र सम्पादक डा. इन्दुल केसीले उक्त पुस्तकलाई थैलीबाट झिकेर संयुक्त रूपमा सार्वजनिक गरेका थिए । शब्दयात्रा प्रकाशनद्वारा आफ्नै सभाकक्षमा आयोजित समारोहमा पुस्तकका बारेमा हरि मञ्जुश्रीले जानकारी गराएका थिए । डा. इन्दुल केसीकी अर्धाङ्गिनी सावित्री केसीको वार्षिक पुण्यतिथिको अवसर परेको हुनाले उहाँको तस्बिरमा पुष्पार्पण गरिएको उक्त कार्यक्रममा अमर निवासका तर्फबाट हरिनाम सङ्गीर्तन पनि गाइएको थियो । ‘स्मृतिपुष्पका पराग’ शब्दयात्रा प्रकाशनद्वारा प्रकाशत २३८ औँ कृति हो ।

उक्त कार्यक्रममा डा. इन्दुल के सीद्वारा संपादित, ३५ जना लेखकहरुको (मेरो समेत) लेखहरु रहेको, डा. इन्दुल के सी श्रीमती स्व सावित्री राणा के सीको बार्षिकी स्मरणमा संग्रहित, शब्दयात्रा प्रकाशक रहेको, स्मृतिपुष्पका पराग (टिप्पणी संग्रह २०८१) को प्रमुख अतिथि र संपादकद्वारा सार्वजनिकीकरणका साथै हरिमञ्जुश्रीको रचना र संगीतबध्द गरिएको र हरिमञ्जुश्री र रोशन अधिकारी द्वारा गाएको “माता मे भूमि पुत्रोकहं पृथिव्या” अध्यात्म गानको समेत सार्वजनिक गरिएको थियो ।

कार्यक्रमको संचालन शारदा प्रसाद शर्मा, शुभारम्भ बेल प्रसाद श्रेष्ठ÷जयनारायण नेपाल, गीत र गायक चर्चा गीति भाष्कर मच्छेन्द्र सापकोटाले, संक्षिप्त मन्तब्य अच्युत प्रसाद पौडेल चिन्तन र कार्यक्रम समापन हास्यब्यंग कवि भोजराज मुखाले गरेका थिए । कार्यक्रममा शब्दयात्रा प्रकाशन परिवार र साहित्य क्षेत्रका बिभिन्न महानुभावहरुको उपस्थिति रहेको थियो ।

शब्दयात्रा प्रकाशनका गौरव सम्झेर: सम्मान समर्पण तथा पुस्तक सार्वजनिकरण समारोह कार्यक्रमका सभापति तथा प्रकाशनका अध्यक्ष हरि मञ्जुश्रीबाट प्रकाशनका संचालक तथा आजिवन सदस्य एवं वरिष्ठ गीतकार हरिगोपाल प्रधानज्यूबाट तीन पटक वर्ल्ड बूक रिकर्डसमा नाम राख्न सफल हुनु भएकाले उहाँलाई संस्थाको गौरवमय न्यानो उच्च सम्मान समर्पण गरिएको थियो ।

‘माता मे भूमिः’ आध्यात्मिक गान सार्वजनिक
माता शब्दसारथि हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध ‘माता मे भूमिः’ नामक आध्यात्मिक गान शब्दयात्रा प्रकाशनद्वारा आयोजित कार्यक्रममा यही असोज ११ गते शुक्रबार सार्वजनिक गरिएको छ । गीतिभास्कर तथा उक्त गानका सुपरिवेक्षक मच्छेश्वर सापकोटाले गानलाई सार्वजनिक गरेका हुन् ।

‘माता मे भूमिः’ हरि मञ्जुश्रीको लेखन, सङ्गीत र स्वर रहेको आठौँ आध्यात्मिक गान हो । यसमा उहाँका छोरा इन्जिनियर रोशन अधिकारीले स्वरमा साथ दिएका छन् । बनेपाको फ्लटर स्टुडियोमा स्वराङ्कन गरिएको यस गानमा बालकृष्ण सेवाचार्यको बाद्यसंयोजन रहेको छ । यो गान अथर्ववेदको पृथ्वीसूक्तमा रहेको ‘माता मे भूमिः पुत्रोऽहं पृथिव्याः’ भन्ने ऋचाको भावभूमिमा तयार पारिएको र श्रोतालाई बुझ्न सजिलो होस् भनेर आधुनिकताको पनि मिश्रण गरिएको कुरा हरि मञ्जुश्रीले बताए ।

शब्दयात्रा प्रकाशनको सङ्क्षिप्त चिनारी
शब्दयात्रा प्रकाशनको स्थापना २०६८ साल जेठमा भएको हो । यस संस्थाले हालसम्म गरेको कुनै पनि कामका लागि सरकारसँग आर्थिक सहयोग लिएको छैन् । जनस्तरबाटै सबै काम सम्पन्न भएका छन् ।

हालसम्म २२७ वता पुस्तक प्रकाशन गरिसकेको शब्दयात्राले २२१ जनालाई सम्मान, २८ जनालाई पुरस्कार, २४ जनालाई कदरपत्र, १९ जनालाई छात्रवृत्ति, ५ जनालाई विद्वत्वृत्ति, १ जनालाई उपाधि समपर्ण र १ जनालाई अभिवन्दना गरेको छ ।

हरेका वर्ष २३ सम्मान, १२ पुरस्कार, १३ छात्रवेत्ति, ४ अनुसन्धान विद्वत्वृत्ति र ३ कदरपत्र समपर्ण गर्ने व्यवस्था मिलाएको छ । भेटी रकम अधिकतम २५ हजार रुपियाँसम्म समपर्ण गर्ने गरेको छ ।

सम्मानमा हरिगोपाल प्रधानको विशेष सहयोग हुने गरेको छ । विपत्तिपीडित लेखक, पत्रकार, कलाकारलाई हालसम्म रु ५०,००० सहयोग भएको छ । यसैगरी दिशका विभन्न जिल्लाका पुस्तकालयलाई ५ हजारभन्दा बढी पुस्तकहरु सहयोग भइसकेको छ ।

यसैगरी नीलकण्ठश्वर धाम संरक्षण समितिसँगको सहकार्यमा १०८ शिवलिङ्गको स्थापना, शब्दसञ्चार रेडियो कार्यक्रम ५ वर्ष र नेपालभूमि साप्तहिक पत्रिका ६ वर्ष सञ्चालन, सावित्री जङ्गम थापा अध्ययन–अनुसन्धान कक्षबाट अनुसन्धान केन्द्र सञ्चालन, वेबसाइट सञ्चालनका साथै वृत्तचित्र निर्माण पनि गरेको छ ।




रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १५ आश्विन २०८१, मंगलवार १०:३८