पाटनको नकबहि:बाट ४० वर्षअघि चोरी गरेर थाइल्यान्ड पुर्याइएको मूर्ति सरकारी पहल नहुँदा फिर्ता गर्ने प्रक्रिया अलमलमा परेको छ।
ललितपुर महानगरपालिका-१६ स्थित पाटनको नकबहि:मा रहेको बुद्धको मूर्ति ४० वर्षअघि चोरी भएको थियो। त्यो मूर्ति थाइल्यान्ड पुगेको छ।
नकबहि:मै माटोको मुकुण्डो बनाउँदै आएका स्थानीय ८१ वर्षीय बेखाराम शाक्यले नकबहि: परिसरबाट बुद्धको मूर्ति हराएको ४० वर्षभन्दा बढी भएको बताए। “समय त ठ्याक्कै याद भएन, तर २०४० सालतिरै हराएको हुनुपर्छ,” शाक्यले भने, “त्यतिखेर मूर्तिहरू हराइरहन्थे। यहाँको बुद्ध मूर्ति पनि चोरेर लगे।”
नकबहि:को चोकमा रहेको चैत्यको दुईतर्फ ढुङ्गाले बनेको दुई वटा बुद्धमूर्ति थिए। एउटा ठूलो थियो भने अर्को अलि सानो। ६० सेन्टिमिटर अग्लो मूर्ति चोरी भएपछि ४४ सेन्टिमिटरको सानो मूर्तिलाई विहार परिसरको मन्दिरभित्र राखिएको थियो। पछि त्यो मूर्ति पनि चोरियो।
बुद्धको उभिएको मूर्ति नेपालको प्रसिद्ध र धेरै बनाइएको मूर्तिमा पर्छ। यो मूर्ति दशौं शताब्दीको भएको अनुमान छ।
यो मूर्तिबारे लैनसिंह बाङ्देलको स्टोलन इमेजेज् अफ नेपाल (पृ. ९४-९६) मा उल्लेख छ। त्यस्तै, प्रतापादित्य पालको सन् १९७४ मा प्रकाशित आर्ट अफ नेपाल, भाग १ (पृ. ३४) मा पनि यसबारे लेखिएको छ। मेरी शेफर्ड स्लसरको सन् १९८२ मा प्रकाशित नेपाल मण्डल (पृ.२६२) मा पनि मूर्तिबारे उल्लेख छ। चोरी भएको मूर्ति तस्करी भएर थाइल्यान्ड पुगेको थियो।

यो मूर्तिलाई स्थानीय थाई प्राचीन कला सङ्कलक सुरिन्द लिम्पानोन्दाले किनेको भेटिएको थियो। नेपालबाट चोरी भएर लगिएको समाचार आएपछि युनेस्को घोषणापत्र अनुसार यसको पुनः बिक्री असम्भव जस्तै भएको थियो। युनेस्को घोषणालाई थाई सरकारले सन् १९८६ मा अनुमोदन गरेको थियो।
यो घोषणा अनुसार नकबहि:को त्यो मूर्ति कुनै पनि संग्रहालयले उपहारका रूपमा वा खरीद गरेर राख्न मिल्दैन। लिलामी गर्ने कुनै पनि कम्पनीले बिक्री गर्न समेत पाउँदैन।
त्यसपछि लिम्पानोन्दाले मूर्ति फिर्ता गर्ने मनसाय व्यक्त गरेका थिए। लिम्पानोन्दाको मृत्युपछि बुद्धको मूर्ति उनकी छोरी प्ररेदा लिम्पानोन्दाको स्वामित्वमा छ। बुबाको इच्छा अनुसार उनले मूर्ति फिर्ता गर्ने आशय व्यक्त गरेकी छन्। तर, नेपालबाट मूर्ति फिर्ताको प्रक्रिया शुरू नगर्दा अलमल भइरहेको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-07-23
बेँसीसहर-चामे सडक र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
इटहरीमा चलचित्र निर्देशक सागर केरुङ सम्मानीत
एआईले रोजगारी खोसिरहेको बेला फोर्डले अनुभवी कर्मचारीलाई काममा फर्कायो
कपिलवस्तुमा बस दुर्घटना, २२ जना घाइते
नेपाल क्यान्सर निवारण प्रतिष्ठान र स्व. कृष्ण फाउडेन्सनको संयुक्त आयोजनामा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
जननेता मदन भण्डारीप्रति समर्पित र्याप गीत ‘जनताको आवाज’ सार्वजनिक, दर्शकबाट उत्साहजनक प्रतिक्रिया
