काठमाडौं महानगरको बजेटको सीमा २५ अर्ब ११ करोड निर्धारण

काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको हो । 

बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ । 

बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।  

आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ।

शुक्रवार बस्ने ४० औं नगरकार्यपालिका बैठकले नगर सभाको मिति तय गरी नगर सभा मार्फत  बजेट सार्वजनिक गर्ने छ । 

नगर सभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने छिन् । 

बैठकमा राजश्व परामर्श समितिका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

pratikshya

प्रकाशित: २७ असार २०८२, शुक्रबार १५:१०