केन्यामा हिंसात्मक प्रदर्शन, ११ जनाको मृत्यु

काठमाडौँ । केन्याको राजधानी नैरोबीमा भएको हिंसात्मक प्रदर्शनका क्रममा कम्तिमा ११ जनाको गोली हानी मृत्यु भएको छ । प्रहरीले ५६७ जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

यी प्रदर्शनहरू ७ जुलाई १९९० को ऐतिहासिक साबा-साबा (सात-सात) आन्दोलनको ३५औं वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको थियो । प्रदर्शनकारीहरूले सरकारले लोकतन्त्र र आर्थिक सुधारतर्फ ठोस कदम चाल्न माग गरेका थिए ।

स्थिति नियन्त्रण गर्न पुगेको प्रहरीले प्रदर्शनकारीहरूमाथि गोली चलाएको थियो, जसले गर्दा क्षेत्रमा अराजकता फैलिएको थियो ।

केन्यामा ७ जुलाईमा ‘सबा-सबा’ दिवस मनाइन्छ । ३५ वर्षअघि यसै दिन बहुदलीय लोकतन्त्रको माग गर्दै देशमा ठूलो आन्दोलन भएको थियो । अहिले त्यही दिन फेरि मानिसहरू सडकमा उत्रिएका छन् । यस पटक उनीहरूको आक्रोश प्रहरी ज्यादती, भ्रष्टाचार र मुद्रास्फीतिप्रति छ । मानिसहरू राष्ट्रपति विलियम रुटोको राजीनामा मागिरहेका छन् ।

गत महिना पनि प्रहरी कारबाहीप्रति आक्रोश देखिएको थियो । जुन १७ मा एक ब्लगरको हिरासतमा मृत्यु भएपछि देशभर विरोध प्रदर्शन भएको थियो । जुन २५ मा भएको विरोध प्रदर्शनमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो भने ४०० भन्दा बढी घाइते भएका थिए । सरकारले जनताको आवाज दबाउन खोजिरहेको आरोप लगाउदै प्रदर्शन उग्र बन्दै गएको छ ।

pratikshya

प्रकाशित: २४ असार २०८२, मंगलवार १३:५९