मलाई स्पष्टीकरण सोधिएको छैन, वरिष्ठ नेताहरुले हल्ला चलाए- झाँक्री

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण नसोधिएको स्पष्ट गरेकी छन् ।

पार्टी केन्द्रीय कार्यालय आलोनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेतृ झाँक्रीले आफूले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला वरिष्ठ पदाधिकारीले चलाएको भन्दै त्यसमा सत्यता नभएको बताएकी हुन् ।

उनले भनिन्- ‘केही शक्तिशाली पदाधिकारीहरुले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ । मलाई त सोधिएको छैन । टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिए । १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर पार्टीले निर्देशन पनि जारी गरेको थियो । त्यो निर्देशनपछि उहाँहरुलाई प्रोत्साहन गरेको जस्तो बोलिरहनुभएको छ । पार्टीलाई घाटा नहोस् भनेर सचिवालय बैठकमै दिन्छु त्यसका लागि बोलाउनुस् भनेर निवेदन दिन आएकी हुँ ।’

एकीकृत समाजवादीको अहिले सचिवालय बैठक शुरु भएको छ । आजको बैठकमा अध्यक्ष नेपालविरुद्ध दायर भएको मुद्धा र झाँक्रीको टिप्पणीको बारेमा छलफल हुने बताइएको छ ।

झाक्रीले गत शनिबार रुपन्देहीको मणिग्राममा आयोजित युवा संघको प्रशिक्षण कार्यक्रममा अध्यक्ष नेपालमाथि मुद्दा लागेपछि ‘मरेको सिनो काँधमा बोकेर हिँड्न नसकिने’ अभिव्यक्ति दिएकी थिइन् ।

pratikshya

प्रकाशित: १९ असार २०८२, बिहीबार १३:४६