‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा नेपाल

काठमाडौं । नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ। बेलायतस्थित साहसिक पर्यटन कम्पनी ‘मच बेटर एड्भेन्चर्स’ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौं स्थानमा परेको हो ।

मच बेटर एड्भेन्चरको सूचीका लागि नेपाललाई अद्वितीय भू–दृश्य, समृद्ध संस्कृति, बजेटमैत्री सेवा, र विविध साहसिक गतिविधिका लागि उच्च मूल्यांकन गरिएको छ। जसमा एभरेष्ट बेसक्याम्प ट्रेक, अन्नपूर्ण सर्किट, र चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीजस्ता गतिविधिले नेपाललाई आत्मिक शान्ति खोज्ने र साहसिकतामा रमाउने एकल पर्यटकहरूको प्रमुख रोजाइमा रहेको उल्लेख छ।

नेपालको यात्रा लागत औसतमा सस्तो पर्ने भएकाले नेपाललाई बजेटमैत्रीगन्तव्यका रूपमा पनि मूल्यांकन गरिएको छ । जसमा भनिएको छ, “नेपालमा सस्तो आवास, सहुलियतपूर्ण प्याकेज र प्रचुर सांस्कृतिक तथा प्राकृतिक अनुभव पाउन सकिन्छ। “मच बेटर एड्भेन्चर्सका सहसंस्थापक स्याम ब्रुसका अनुसार, यो सूची विशेषज्ञहरूको सुझाव र ग्राहकको यात्रा अनुभवका आधारमा तयार गरिएको हो। जसमा सुरक्षा, दिगोपन, पहुँचयोग्य, र लोकप्रियता जस्ता पक्षहरू समेटिएका छन् ।

मच बेटर एड्भेन्चर्सको प्रमुख १० गन्तव्यमा इटाली पहिलो नम्बरमा छन् भने क्रमशः जापान, नर्वे, स्पेन, अल्बानिया, पोर्चुगल, नेपाल, मोन्टेनेग्रो, जोर्डन र ग्रीस छन्।

Sudina Shrestha

प्रकाशित: १८ असार २०८२, बुधबार ०९:३१