काठमाडौँ महानगरमा ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४४.७७ प्रतिशतले वृद्धि

काठमाडौँ । काठमाडौँ महानगरका सामुदायिक विद्यालयबाट २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा सहभागी विद्यार्थीमध्ये ७८९ जना विद्यार्थीले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका छन् ।

यसमा १७ जनाले ४ जीपीए पाएका छन् । यो गएको वर्षभन्दा ४४.७७ प्रतिशत धेरै हो । गएको वर्ष ५४५ जनाले ३.६१ देखि ४ जीपीए प्राप्त गरेका थिए । गएको वर्षको तुलनामा यो वर्ष २४४ जना धेरै विद्यार्थीले उच्च जीपीए प्राप्त गरेका हुन् । 

३.२१ देखि ३.६ जीपीए ल्याउने विद्यार्थीको संख्या १ हजार १४८ जना छ । यस्तै २.८१ देखि ३.२ जीपीए ल्याउने ८९० जना, २.४१ देखि २.८ जीपीए ल्याउने २५७ जना, २.०१ देखि २.४ जीपीए ल्याउने १६ जना छन् । यसमा गएको वर्ष क्रमशः १ हजार ५० जना, १ हजार ८० जना, ३९५ जना र १६ जना विद्यार्थी थिए । यसरी हेर्दा उत्कृष्ठ नतिजा प्राप्त गर्ने विद्यार्थीको संख्या वृद्धि भइरहेको । तल्लो तहको जीपीए प्राप्त गर्ने विद्यार्थीहरुको संख्या घट्दै गएको छ । यो नतिजा सुधारका कोणबाट सकारात्मक सुधार हो । 

परीक्षामा देखिएको यो नतिजालाई शिक्षा विभागले सुक्ष्म विश्लेषण गरेर सुधारलाई प्रोत्साहन र नियमित नकारात्मक नतिजा प्राप्त गर्नेलाई कारवाहीको दायरामा ल्याउने तयारी रहेको अधिकारीहरुले बताएका छन् । 

विद्यालयहरुको शैक्षिक गुणस्तरमा आएको सुधार, विद्यार्थीहरुमा मिहनेत गर्ने बानीको विकास, शिक्षकहरुको अध्यापनप्रति बढ्दो सक्रियता, नतिजा सुधारका लागि महानगरपालिकाले विदाका समयमा सञ्चालन गरेका क्याम्पहरु तथा विशेष निगरानी कक्षाबाट यो परिवर्तन आएको महानगरको दाबि छ ।

महानगरपालिकाले कक्षा १० सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था मिलाएको छ । विद्यार्थीको सिकाइप्रति रुचि जगाउन, सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन र तनावरहित सिकाइलाई अभ्यासमा ल्याउन ‘पुस्तक रहित शुक्रवार’ कार्यक्रम सञ्चालन गरिएको छ । यस कार्यक्रममा विद्यार्थीहरुले पाठ्यक्रम, सहपाठ्यक्रम र अतिरिक्त पाठ्यक्रमलाई एकीकृत गरेर विद्यार्थीको बहुआयामिक सिकाइको अभ्यास गरिएको छ ।

शिक्षामा रूपान्तरण ल्याउन विद्यार्थीको सिकाइ सुधार महानगरपालिकाको प्राथमिकता हो । यसलाई सम्भव बनाउन विद्यार्थीको सिकाइ कमजोरी हुनुको मूल कारण बुझ्न र सोहीअनुसार सुधार कार्यक्रम कार्यान्वयन योजनाका आधारमा कक्षा सञ्चालन गरिएको थियो । शिक्षकको दक्षता अभिवृद्धि गर्न स्कूल टिचर्स कार्यक्रम कार्यान्वयनमा छ । पुस्तकरहित शुक्रवारको पाठ्यक्रम विकास, अनुसन्धानमा आधारित कार्य योजना र त्यसको कार्यान्वयन  इन्पुट, आउटपुट ‘टिचर कलेज कार्यक्रम’ बाट प्राप्त हुन्छ । नतिजा र प्रभावको अन्तर्निहित सम्बन्ध जोड्न यस कार्यक्रमले सहयोग गरेको छ । 

शैक्षिक क्रियाकलाप सँगसँगै खुला, अतिरिक्त र बहुआयमिक विद्यार्थी केन्द्रित क्रियाकलापका साथमा गरिएका अभ्यासले शैक्षिक नतिजामा वृद्धि गरेको छ । प्रधानाध्यापकलाई व्यवस्थापकीय पक्षसहित, शिक्षकहरूलाई विषयगत तालिम तथा समग्र चेतना विकासको आधारभूत तालिम, प्रविधिमा जोड्ने सिप, शैक्षिक क्रियाकलापको सबलीकरणका लागि डिजिटल क्रियाकलाप, शिक्षण सिकाई पेडागोजीमा सुधार, शिक्षण सिकाइका असल अभ्यास आदानप्रदान, विद्यार्थीको नतिजा सुधार तथा सफलताका लागि साथ दिने कार्यक्रम रहेका छन् ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2025-06-30